प्रा‍. डा. गोविन्द केसीले जिल्ला प्रहरी कार्यालय जुम्लामै अनशन सुरु गरे

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — प्रा‍. डा. गोविन्द केसीले जिल्ला प्रहरी कार्यालय जुम्लामै अनशन सुरु गरेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै पक्राउ परेका केसीले शनिबार दिउँसो ३ बजेदेखि अनशन सुरु गरेका हुन् ।

डाक्टर केसीले कान्तिपुरसँग कुराकानी गर्दै सरकारले आफूले पूर्वघोषणा अनुसार अनशन बस्ने स्थललाई निषेधित क्षेत्र घोषणा गरेर जनताप्रतिको अभियानलाई दुखाउने प्रयास गरेको बताए।‘मलाई प्रहरीले समातेर कार्यालयमा राखेको छ। मैले ३ बजेदेखि अनशन सुरु गरिसकेँ’केसीले भने, ‘तर प्रहरीले मलाई आफैं यहाँ आएको भनिरहेको छ। ’
उनले भने, ‘मलाई कता फ्याँक्छ थाहा छैन। तर, माग पूरा नभएसम्म मेरो आमरण अनशन जारी नै रहन्छ। यो अनशन ३ करोड नेपाली स्वस्थ रहने अधिकारका लागि हो।’ उनले निम्न र विपन्न वर्गका जेहेन्दार विद्यार्थीले गुणस्तरीय र सुलभ शिक्षा प्राप्तिको लागि आफ्ननो संघर्ष भएको प्रट्याएका छन्।
यस्तै उनले मुलुकमा सुशासन कायम नभएसम्म अस्थिरता रही रहने भएकाले आफ्नो आन्दोलनको मुख्य माग सुशासन समेत रहेको बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ८ वर्षअघि सुरु गरिए पनि अहिलेसम्म एमबीबीएसलगायतका कोर्सहरुको अध्यापन सुरु नभएकोमा उनले आपत्ति जनाए।भने– ‘यसो हुनुको कारण नेतृत्व पक्ष लुटतन्त्रमा लागेको छ। उनीहरुलाई यस्ता कुराहरुसँग कुनै मतलब नै छैन। ’
उनले चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक औँल्याउँदै भने– ‘अहिले दुई तिहाईको दम्भमा सत्तापक्षले जे पनि गर्न सक्ने मानसिकताले अगाडि बढिरहेको छ। यसभित्र भएको जनता र विद्यार्थीमुखी बुँदाहरुमध्ये एउटालाई पनि हटाए हामीलाई मान्य हुने छैन।’ आफ्नो ६ सूत्रीय माग पूरा नभएसम्म आमरण अनशन जारी रहने उनले बताए।

शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *