काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि सरकारले ‘चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक’ अगाडि बढाउन सकेन ।
अब २० असारपछि नियमित विधेयक अौने सम्भावना छ । ढिलो गरी प्रतिस्थापन विधेयक ल्याएको सरकारले नियम निलम्बन गरेर विधेयक अघि बढाएको थियो । तर, अध्यादेशका मूल विषयबस्तु नै हेरफेर गरेको भन्दै कांग्रेसले विरोध गरेको छ ।
विधेयकमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एुटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउने, मेडिकल कलेजको ३ वर्षदेखि आफ्नै अस्पताल सञ्चालनमा भएको हुनु पर्ने र सार्वजनिक कलेजमा ७५ प्रतिशत छात्रवृत्ति हुनुपर्ने प्रावधान हटाइेको छ ।
अाईतबार संसद बैठक अघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित नेकपा र कांग्रेस नेताहरुबीच वार्ता भएको थियो । शिक्षामन्त्रीले विधेयक अघि बढाउन सहयोग मागेका थिए । तर, कांग्रेसले अध्यादेश जस्ताको तस्तै आए मात्र नियम निलम्बन गर्न सहयोग गर्ने बताएको छ ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद गगन थापाले भने, ‘अध्यादेशको फण्डामेन्टल विषयहरु नै हेरफेर गरेपछि स्वीकार्य भएन ।’ आफूहरुको असहमतिका बीच नियम निलम्बन गर्न खोजे संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी छ । नेकपा र कांग्रेसबीच सहमति हुन नसकेपछि संसद बैठक भने सूचना टाँसेर स्थगित भएको छ ।