मलेसिया — मलेसियाले गैरकानुनी आप्रवासी कामदारमाथि अाईतबार देखि थालेको धरपकड अभियानको पहिलो दिनै सयौं आप्रवासीहरु पक्राउ परेका छन् ।
अध्यागमन अधिकारीहरुको नेतृत्वमा अाईतबार दिउँंसो राजधानी क्वालालम्पुरका जलान तुन रजाक, सेन्ट्रल मार्केट, पासार सेनि, लेबु पुडु, मेडान पासार, पेतालिङ स्ट्रिट, जलान सिलाङ लगायत क्षेत्रबाट उनीहरु पक्राउ परेका मलेसियाली संचारमाध्यमहरुले उल्लेख गरेका छन् । ती अधिकारीहरुले ती ठाउँहरुमा दिउँसो २ बजेदेखि बेलुका अवेरसम्म खानतलासी गरेका थिए ।
गैरकानुनी आप्रवासी कामदारलाई वैधानिक प्रक्रियामा ल्याउन यसाघि संचालन गरिएको ‘पुन: भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडमा अाईतबार राजधानी क्वालालम्पुर र आसपासका क्षेत्रबाट मात्रै २२९ जना आप्रवासीहरु पक्राउ परेका हुन् । देशका अन्य क्षेत्रमा समेत विदेशी कामदारहरु पक्राउ परेका खबरहरु सार्वजनिक भएका छन् ।
उक्त अवधिमा करिब १ हजार ६ सय ७२ जना आप्रवासीहरुमाथि खानतलासी गरिएको र तीमध्ये गैरकानुनी अवस्थामा भएको पाइेका २२९ जनालाई पक्राउ गरिएको समाचारहरुमा उल्लेख छ । तीमध्ये कति नेपाली छन्, भन्ने पूर्ण जानकारी सार्वजनिक गरिएको छैन ।
यद्यपी पक्राउ परेकाहरुमा बढीजसो इण्डोनेसियाली र बंगालदेशी नागरिकहरु रहेका छन् तर नेपालीहरु भने न्युन रहेको हुनसक्ने अनुमान छ । यसाघि पुन: रोजगारी अर्थात ‘रिहाइरिङ’ कार्यक्रममार्फत अस्थायी श्रम स्विकृतिका लागि दर्ता हुन दीएको करिब अढाई वर्षे (सन् २०१६ फेब्रुवरी १५ देखि यता) अवधिमा समेत उक्त प्रक्रियामा सहभागी नभैइ लुकीछिपी काम गरिरहेका गैरकानुनी आप्रवासीहरु सरकारको निशानामा छन् ।
अधिकारीहरुले दोषी आप्रवासी कामदार र उनीहरुलाई रोजगारी दिने रोजगारदाता दुवैलाई कडा कारबाही हुने चेतावनी दिएका छन् ।