चितवन — टोपे खोलामा ठूलो पहिरो जाँदा अवरुद्ध नारायणगढ-मुग्लिन सडक अपराह्न पौने पाँच बजेदेखि दुईतर्फी नै खुलेको छ ।
टोपे खोलामा बिहान पाँच बजे र त्यसपछि कालीखोलामा पनि पहिरो जाँदा राजधानी काठमाडौं र पोखरा जाने-अौने गाडी तथा हजारौं यात्रु लगभग १२ घण्टासम्म बाटोमा नै अलपत्र परे ।
दिउँसो केहीबेर एकतर्फी बाटो खुलाएर पहिरोग्रस्त क्षेत्रमा रोकिएका गाडीहरु सुरक्षित ठाउँतर्फ पठाए पनि दुईतर्फी यातायात पौने पाँच बजेमात्रै खुलेको नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।
नारायणगढ-मुग्लिन सडकलाई फराकिलो बनाउन पहाड काटेको ठाउँमा पहिरो गएर घण्टौं गाडी बन्द हुने गरेको छ । यो हप्ता दिनदिनै जसो पहिरो गएर बाटो बन्द हुने गरेको छ ।
पहिरोले असार १२ गते मंगलबारमात्रै लगातार ११ घण्टा बाटो बन्द भएको थियो ।