पोखरा — प्रदेश नम्बर ४ को नाम गण्डकी हुने निश्चित भएको छ । प्रदेशको नाममा साझा धारणा बनाउन सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधवार बसेको संसदीय दलको बैठकले प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव गरेपछि अव नामको विषय लगभग टुंगिएको हो ।
यसाघि सोमबारको प्रदेशसभा बैठकले पोखरालाई स्थायी राजधानी बनाउने निर्णय गरेको थियो। बैठकले गण्डकी नाममा सर्वसम्मत् निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बिकास लम्सालले बताए। साविकको एमालेले प्रदेशसभाले गठन गरेको प्रदेश राजधानी तथा नामाकरण विषयक समितिलाई प्रदेशको नाम गण्डकी राख्न लिखित रुपमै दिएको थियो।
नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले पनि सोही नाम सिफारिश गरेका थिए। तर साविककै माओवादी केन्द्रका तर्फबाट भने त्यस्तो कुनै नाम दीएको थिएन।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपा संसदीय दलमा प्रदेशको नामका विषयमा फरकफरक धारणा आएको सार्वजनिक भएको थियो। अधिकांशले गण्डकी राख्नु पर्ने भनेका थिएभने केहीले जातीय पहिचानका आधारमा नामाकरण हुनुपर्ने र केहीले हिमालयको नाममा राख्नु पर्ने भनेका थिए।