बैंक ब्याजदर बढ्दै गएपछि उद्योगी व्यवसायी प्रभावित ,७ प्रतिशतमा लिएको ऋण १४ प्रतिशत पुग्यो

अर्थ
शेयर गर्नु होला

 

चितवन। बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि उद्योगी व्यवसायी प्रभावित बनेका छन्।

शुरुमा बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि उद्योगी व्यवसायी मर्कामा परेका हुन्। ब्याज वृद्धिको प्रभाव मुख्य रुपमा उत्पादन क्षेत्रमा परेको उद्योगीहरु बताउँछन्।

उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी आफूले होटल सञ्चालनका लागि आठ प्रतिशत ब्याजदरमा ऋण लिएको तर अहिले वृद्धि भएर १३ प्रतिशत पुगेको बताउँछन्। चालीस करोड ऋणको पाँच प्रतिशत बिन्दुले ब्याज वृद्धि हुँदा वार्षिक दुई करोड नोक्सान व्यहोर्नु परेको भन्दै उनले भित्रभित्रै उद्योगी व्यवसायी सकिँदै गएको बताए।

‘नेपालमा उद्योग खोल्नु भनेको सुकुम्वासी हुनु हो, ब्याजदर नघटेमा धेरै उद्योग टाट पल्टने स्थिति छ,’ उनले भने।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतम सरकारले अन्य क्षेत्रको सिण्डिकेट तोड्ने प्रयास गरे पनि पूँजी बजारमा नहेर्दा उद्योगी व्यवसायी मर्कामा परेको बताउनुहुन्छ । उत्पादन क्षेत्रमा सात प्रतिशत सम्ममा प्रवाह भएको ऋण १४ प्रतिशतसम्म पुगेको भन्दै उहाँले दोब्बरसम्म ब्याज वृद्धि हुँदा उद्योगी व्यवसायीले धान्ने अवस्था नरहेको बताउनुभयो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान सम्झौताको बेलाको ब्याजदर अन्तिमसम्म कायम हुनुपर्ने बताए। अहिले दोब्बरसम्म ब्याज बढेको भन्दै उनले यसले उद्योग व्यवसाय चल्न नसक्ने अवस्थामा पुगेको बताए। बैंकहरुले गरेको सिण्डिकेटका कारण यसको प्रत्यक्ष प्रभाव सेवाग्राहीमा परेको र उद्योग व्यवसाय गर्न चाहनेलाई अहिलेको ब्याजले निरुत्साहित बनाएको बताउँछन्।

पोल्ट्री व्यवसायी कँडेल ब्याजदरको वृद्धिले आफू जस्ता धेरै किसान प्रभावित भएको बताउँछन्। बैंकको पूँजी बिना व्यावसायिक पोल्ट्री गर्न नसकिने बताउँदै उनले बैंकले पनि एकाएक ब्याजदर बढाउन थालेपछि किसान विस्थापित हुने अवस्थामा पुगेको बताए। रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *