इनरुवा, । सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन्।
सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले आधा दर्जन बस्ती डुबानमा परेका हुन् ।
डुबानका कारण निर्माण सामग्री, बाली र अन्य सामग्रीमा गरी करोडौँको क्षति भएको स्थानीयले बताएका छन् । बाढीका कारण इनरुवा–१०, जल्पापुरमा हाटसेट निर्माणका लागि राखिएका विभिन्न सामानसहित निर्माणका सामग्री बगाएको छ भने मरिया खोलाको बाढीले डुबानमा पारेको छ ।
स्थानीयवासी तथा ठेकेदारसमेत रहेका ऐयुव मियाँले डुबानका कारणले जनजीवनसमेत धेरै प्रभावित भएको जानकारी दिए । बाढीको कारणले जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–७, नरसिंह टाप्पुको दलित बस्ती डुबानमा परेको छ । नरसिंहको दास टोल र सुकुम्बासी टोलका गरी १०० परिवार डुबानको चपेटामा परेका छन् ।
बुधबारदेखिको वर्षाका कारणले आफ्नो गाउँमा बाढी आएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएको हो । उता हरिनगर गाउँपालिका–७ घुस्की का साथै वडा नं २ र ४ मा समेत मरिया खोलाको बाढीले सयौँ घर डुबानमा परेको स्थानीय अब्दुल कैयुम खाँले जानकारी दिए । मरिया र सुनसरी खोलाको बाढीले १२० घर डुबानमा परेको खाँले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीले भने समेत बाढी आएको तर हालसम्म कुनै धनजनको क्षतिको विवरण नाअेको बताएको छ । नदी र खोला आसपासमा भने सतर्कताका साथ बस्न आग्रह गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
यसैबीच अबिरल वर्षाका कारण सुुनसरी खोलामा आएको बाढीले हरिनगरा—बसन्तपुर जोड्ने बाटो पूर्णरुपमा अवरुद्घ भएको छ । सुनसरी खोलाको पानी मोरिया खोलामा मिसिएपछि बाटो पूर्णरुपमा अवरुद्घ भएको हो । बाटो अवरोध भएपछि हरिनगरा मावि र वासुदेव एकेडेमीमा अध्ययनरत बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।