बेल्जियमलाइ ब्राजिलको रक्षापंक्ति तोड्न कठिन

खेलकुद
शेयर गर्नु होला

 

काजान – बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिनेजले शुक्रबार हुने क्वार्टरफाइनलमा ब्राजिलको सामना गर्दा आफ्नो टोलीसँग  उनीहरूको छैटौं विश्वकपको उपाधि सपना समाप्त पार्न कुनै रहस्यमय योजना नभएको प्रस्ट पारेका छन्। तर उनले बेल्जियमको सुनौलो पुस्ताको रूपमा हेरिएको अहिलेको टोलीलाई विश्व फुटबलमा आफ्नो गतिलो छाप छोड्ने यो नै अन्तिम अवसर भएकोमा टोली सजग रहेको बताए।

‘यो हाम्रा खेलाडीका लागि सपनाको खेल सरह हो,’ मार्टिनेजले भने। ‘ब्राजिलविरुद्धको खेलका लागि हामीसँग कुनै रहस्यमय योजना छैन। हामी उनीहरूको चुनौती सामना गर्न तयार छौं। हामी रक्षापंक्तिका साथै मध्य र अग्रपंक्तिमा पनि अब्बल छौं,’ मार्टिनेजले भने, ‘हाम्रो लक्ष्य अघिल्लो चरण प्रवेश हो र हामी त्यसमै केन्द्रित छौं।’

बेल्जियमका कप्तान इडेन हाजार्ड, मिडफिल्डर केभिन डी ब्रुयना र स्ट्राइकर रोमेलु लुकाकु ब्राजिलको रक्षापंक्तिलाई चुनौती दिन सक्षम छन्। लुकाकुले जारी प्रतियोगितामा ४ गोल गरिसकेका छन् र उनी उच्च गोलकर्ताको सूचीको दोस्रो स्थानमा छन्। ६ गोल गरेका इङ्ल्यान्डका कप्तान ह्यारी केन उच्च गोलकर्ताको सूचीको शीर्ष स्थानमा छन्।

बेल्जियम रूसमा जारी विश्वकपमा हालसम्म सबैभन्दा बढी गोल गर्ने टोली हो। टोलीले हालसम्म १२ गोल गरेको छ भने ४ गोल खाएको छ।

प्रतियोगिताकै सर्वाधिक गोल गर्ने टोली भए पनि हरेक खेलमा सुदृढ प्रदर्शन गरिरहेको ब्राजिललाई पन्छाउन भने बेल्जियमलाई कठिन हुने निश्चित छ। समूहचरणको पहिलो खेलमा स्विट्जरल्यान्डविरुद्ध १–१ को बराबरी खेल्दा स्वाभाविक प्रदर्शन नगरेको भन्दै चर्को आलोचना खेपेको ब्राजिलले त्यसपछि भने उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई बलियो दाबेदारका रूपमा उभ्याएको छ।

मेक्सिकोविरुद्ध २–० को नतिजा निकाल्दा एक गोल गरेर रोबर्टो फिर्मिनोलाई अवसर सिर्जना गरिदिँदै नेइमारले लयमा फर्किएको संकेत दिएका छन्। बेल्जियमविरुद्धको खेलमा नेइमारले थप सुधारिएको प्रदर्शन गर्ने अनुमान गरिएको छ।

जारी प्रतियोगितामा ब्राजिलले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा एक गोल मात्र खाएको छ। थियागो सिल्भाको नेतृत्वमा रहेको ब्राजिली रक्षापंक्ति तोड्न बेल्जियमलाई कठिन हुनेछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *