काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव शुक्रबारकै बैठकको कार्यसूचीमा राख्न गरेको माग सभामुख कृष्णबहादुर महराले राख्न नसक्ने बताएपछि संसद दोस्रोपटक अवरुद्ध भएको छ।
शुक्रबार दोस्रो पटक लगातार बैठक अवरुद्ध भएको हो । कांग्रेस सांसदहरुले आफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध पारिराखेपछि संसद बैठक असार २५ गते दिउँसाे १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
कांग्रेसले संसदमा पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव शुक्रबारकै बैठकको कार्यसूचीमा राख्नुपर्ने माग गरेकाथिए। तर सभामुख कृष्णबहादुर महराले उक्त प्रस्तावको विषयमा सरकारको ध्यानाकर्षण गराइसकिएको र अर्को बैठकमा कार्यसूचीमा राख्ने बताएपछि कांग्रेस सांसदहरुले उठेर विरो गरेका थिए।
सदनमा शुक्रबार दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथि तत्काल छलफल हुनुपर्ने माग गरेपछि संसद बैठक आधा घण्टाका लागि पहिलोपटक स्थगित भएको थियो।
कांग्रेसका सांसदहरु दिलेन्द्र बडु, अजहर कमल मुसलमान र पार्वता बिसी चौधरीले शुक्रबार नै आमरण अनशनरत डा। गोविन्द केसीको जीवन रक्षा तथा चिकित्सा शिक्षा विधेयक माथि तत्काल कार्यसूचीमा राखेर छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए।
संसदको बैठक सुरु भए लगत्तै समय माग गरेर बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसको प्रस्तावमा छलफल नभएसम्म सदनको बैठक चल्न नदिने बताएपछि सभामुखले बैठक स्थगित गरेकाथिए।