बागलुङ — बुधबार दिउँसो देखि परेको अविरल वर्षाका कारण ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा पहिरो गएको छ । बजारदेखि माथिल्लो भागबाट खसेका पहिरो र बाढीले बजारका धेरै छाप्रा पुरिएका छन् । दर्जन पक्की घरमा समेत क्षति पुगेको छ
बुर्तिवाङ अस्पतालको पहिलो तल्ला ढुंगामाटोले पुरिएको छ । यस्तै पहिरोले मध्यपहाडी लोकमार्गको केही खण्ड पनि पुरेपछि बुधबार रात्री सेवा र बिहीबार बिहान छुट्ने सवारी अलपत्र परेको प्रहरीले बताएको छ ।
पहिरो खस्न थालेपछि धेरैले भागेर ज्यान बचाएको ईलाका प्रहरी कार्यालयका निरिक्षक अोम प्रकाश यादवले बताए ।
प्रहरीका अनुसार ११ घरमा पूर्ण क्षति, १२ घरमा अंशिक क्षति पुगेको हो । त्यस्तै २ वटा ग्रील उद्योग, १ फर्निचर र १ कुटानी पिसानी मिल पुरिएको छ ।
पहिरो पीडितहरुको खाद्यान्न, लत्ताकपडा र पशुचौपाया समेत पुरिएका छन् । धेरैजसोले पालेका कुखुराहरु सबै पुरिएको सुवेदीले बताए । प्रहरीले उद्दारको काममा खटिने बाहेकलाई सुरक्षित स्थानमा बस्न भनेको छ ।
बजारदेखि भवरेटा जाने ग्रामीण सडक खनेको ट्रयाकबाट पानी सोहोरिएपछि बजारमा पहिरो चलेको प्रहरीले बतायो । पानीले ढुंगा, माटो एकैसाथ ल्याएकोले ठूलो पहिरोको रुप लिएको हो ।