शेयर बजारका लगानीकर्ताको आत्मबल कमजोर बन्दा यो साता पाँचै दिन नेप्से परिसूचक राताम्मे भएको छ । साताभर नेप्से ३१.८२ अंकले घटेर ११७८.५० अंकमा झरेको छ । कम्पनीहरुले लगानीकर्ताको अपेक्षा अनुसारको लाभांश घोषणा नगरेपछि लगानीकर्ता निरुत्साहित देखिएका छन् ।
साताको पहिलो दिन आइतबार नेप्से १४.०३, सोमबार ८.२२, मंगलबार ४.१८ र बुधबार १.४७ अंकले घटेको थियो । विहीबार नेप्से परिसूचक ३.९२ अंकले घटेर ११७८.५० अंकमा झरेको छ । सूचक घटेपनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ ।
विहीबार १० लाख २० हजार कित्ता शेयर २७ करोड ७३ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । कारोबारको खुलेदेखि नै घट्न थालेको बजारमा कारोबार रकमले केही साथ दिँदा मुस्किलले कारोबार रकम बढेको हाे।
एनएमबी बैंक र एनएलजी इन्स्योरेन्सको सेयर कारोबार बढी हुँदा कारोबार रकम बढ्न पुगेको हो । लामो समयपछि बजारमा एउटै कम्पनीको सेयर करिब ५ करोड रुपैयाँको कारोबार भएको छ ।
बजारमा एनएमबी बैंकको ४ करोड ९५ लाख रुपैयाँको सेयर खरिदबिक्री हुँदा एनएलजी इन्स्योरेन्सको ३ करोड १० लाख र जनता बैंकको १ करोड रुपैयाँको सेयर कारोबार भको छ । तर, अन्य कुनै पनि कम्पनीको कारोबार रकम एक करोड नाघ्न सकेन ।
बजारमा विकास बैंक र अन्य समुह बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी उत्पादनमुलक समुहको परिसुचक ५४ अंकले घट्दा जीवन बीमा समुहको परिसुचक ३८ अंकले ओरालो लागेको छ । यसैगरी निर्जीवन बीमा समुहको परिसुचक २७ अंकले घट्दा बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि ३ दशमलव ५३ अंकको गिरावट आएको छ ।
यसदिन एनआईबिल समृद्धि फण्डको इकाई मूल्य सबैभन्दा भेरै ६ प्रतिशत बढीले उकालो लागेको छ । फण्डले आजै मात्र गतबर्षको कमाईबाट १२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । लक्ष्मी भ्यालु फण्डको इकाई मूल्य पनि चार प्रतिशत बढीले बढेको छ । नगारिक लगानीकोष र नेपाल सेवा लघुवित्तको शेयरमूल्य पनि तीन प्रतिशत बढीले उकालो लागेको छ ।
यसदिन युनिलिभरका लगानीकर्ताले सबैभन्दा धेरै तीन प्रतिशत बढीले गुमाए । सप्तकोशी डेभलपमेन्ट, कन्काई विकास र कृषि विकास बैंक लगायतको शेयर मूल्य धेरै घटेको छ । एनएमबिको कारोबार बढेपनि शेयरमूल्य घटेको छ ।