बंगलादेश (ढाका) — पहिलो खेल गुमाएर दबाबमा परेको नेपालले साफ च्याम्पियनसिप २०१८ को समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा आज भुटानको सामना गर्दै छ ।
सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले स्थानीय समयानुसार ४ बजे भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो। पहिलो खेलमै पाकिस्तानसँग २-१ गोलान्तरले पराजित भएको नेपाललाई जित्नैपर्ने दबाव छ ।
नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार व्यहोरेको थियो । यही हारले नेपाल दबाबमा छ । भुटानले पनि आफ्नो पहिलो खेल आयोजक राष्ट्र बंगलादेशसँग २-० ले गुमाएको थियो । यस्तोमा दुवैका लागि भोलिको खेल महत्वपूर्ण रहने छ ।
यस खेलमा नेपालले आफू अनुकुल नतिजा निकाल्न सकेन भने लिग चरणबाटै बाहिरने सम्भावना रहन्छ। त्यसैले यो खेल नेपालको लागि गर या मरको स्थिति हो। भुटानको सामना गर्नुअघि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले यो खेललाई लिएर आफू सकारात्मक रहेको बताएका छन्। उनले भनेका छन्, ‘फुटबलमा सबै प्रकारका सम्भावना रहन्छन्। हामी यो खेल जितेर दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाउन चाहन्छौं।’
यस्तै भुटानी प्रशिक्षक ट्रेभर मोर्गनले नेपाल विरुद्धको खेल सबै प्रकारले खुल्ला रहने बताएका छन्। उनका अनुसार दुवै टिमलाई जित आवश्यक रहेकोले यो खेलमा तीब्र प्रतिस्पर्धा हुने निश्चित छ।
नेपाली फुटबल इतिहासमा भुटान नै एक मात्र यस्तो प्रतिद्वन्द्वी हो जसका विरुद्ध अहिलेसम्म हार व्यहोर्न परेको छैन। साफ च्याम्पियनसिपमा नेपाल र भुटानबीच अहिलेसम्म दुई पटक भेट भएको छ ।
सन् २००३ मा बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई २-० गोलान्तरले पराजित गरेको थियो । त्यस्तै, सन् २००५ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भुटानलाई नेपालले ३-१ गोलान्तरले पराजित गरेको थियो ।
यो पटक पनि बंगलादेशको ढाकामा साफ च्याम्पियनसिपको पहिलो खेलको सम्झनामा नेपाली टिम हुनेछ र त्यही अनुसारको नतिजा निकाल्ने रणनीतिमा रहेको छ ।