अत्यधिक चापले गर्दा नयाँ एयरलाइन्सलाई काठमाडौंमा उडान गर्नै रोक
काठमाडौँ — अत्यधिक हवाई ट्राफिक चाप व्यहोर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन आधार (अपरेसन बेस) हुने गरी अब कुनै पनि नयाँ एयरलाइन्सले अनुमति पाउने छैनन् ।
काठमाडौं विमानस्थलमा आगमन र प्रस्थान विन्दु बनाउँदै नयाँ वायुसेवा कम्पनीहरूलाई अनुमति प्रदान रोक्न नागरिक उड्डयन प्राधिकरणले नयाँ नीति ल्याएको हो।
प्राधिकरणले आइतबार सार्वजनिक गरेको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण वायुसेवा सञ्चालनसम्बन्धी नीतिगत व्यवस्थाहरू’ मा यो वियष उल्लेख छ। यसअघि प्राधिकरणले काठमाडौं विमानस्थललाई हब बनाउँदै प्रस्ताव गर्न चाहने वायुसेवा कम्पनीलाई अनुमति दिन्थ्यो।
अब निजी क्षेत्रले अब नयाँ वायुसेवा कम्पनी स्थापना गर्नुपरे काठमाडौं बाहिरका विमानस्थलहरूलाई हब बनाउँदै उतै जानुपर्नेछ। प्राधिकरणले हब विमानस्थलहरू विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी र सुर्खेत विमानस्थललाई सूचीमा राखेको छ। यी विमानस्थललाई बेस बनाउन चाहनेले प्रस्ताव गरे अनुमति पाउनेछन्। त्यहाँबाट तोकिएका विमानस्थलमा उडान सञ्चालन गर्ने गरी वायुसेवा सञ्चालन अनुमति पत्र पाउनेछन्। तर, उडान सेक्टरसमेत स्पष्ट उल्लेख गरी मात्रै अनुमति प्रदान गरिनेछ। देशका अन्य भूभागमा हवाई सेवा विस्तार गर्न यो नीति ल्याइएको हो।
बिमस्टेक राष्ट्रको संयुक्त अभ्यासमा नेपाली सेना पर्यवेक्षक
नयाँदिल्ली — भारतको पुनामा सोमबारदेखि सुरु बिमस्टेक राष्ट्रको प्रतिआतंकवादसम्बन्धी संयुक्त सैन्य अभ्यासमा नेपाल पर्यवेक्षकका रूपमा सहभागी हुने भएको छ । ‘माइलेक्स २०१८’ नाम दिइएको उक्त सैन्य अभ्यासमा नेपाली सेनाका तीन जना अधिकृतले पर्यवेक्षकका रूपमा भाग लिनेछन् ।
यसअघि काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनको उद्घाटन कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुनामा बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास हुने निर्णय भएको सार्वजनिक गरेका थिए । तर, मोदीको उक्त भनाइ बिमस्टेकको भावनाविपरीत भएको र यसअघि त्यस विषयमा कुनै छलफल र चर्चा नभएको भन्दै आलोचित बन्न पुगेको थियो ।
भदौ २५ देखि ३१ सम्म हुने उक्त संयुक्त सैन्य अभ्यासमा ३० सदस्यीय टोली पठाउने तयारी नेपाली सेनाले गरेको थियो । सेनाप्रमुख पूर्णचन्द्र थापा सैन्य अभ्यासको अवलोकन गर्न जाने कार्यक्रमसमेत तय भइसकेको थियो । प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारूढ नेकपाभित्रैबाट चर्को विरोध भएपछि प्रधानमन्त्री केपी ओलीले अन्तिम समयमा आएर त्यसमा सहभागी नहुन नेपाली सेनालाई निर्देशन दिएका थिए । ...( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)
रोल्पाको सुलीचौरमा गोली चल्यो, एकजना युवाको मृत्यु
(लिबाङ) रोल्पा : रोल्पाको सुलीचौरमा गोली लागेर एक युवकको आइतबार बेलुका मृत्यु भएको छ । रोल्पा नगरपालिका–२ सिमलबाङका २९ वर्षीय रोहित पुनको गोली लागेर मृत्यु भएको हो । उनको देब्रे छातीमा गोली लागेको छ ।
पुर्वी रोल्पाको सुलीचौर इलाका प्रहरी कार्यालय नजिकैको रेष्टुरेन्टमा गोली चलेको हो । भर्खरै खुलेको रेष्टप्वाइन्ट रेष्टुरेन्टमा गोली चलेको हो । पुनको देबे्र छातीबाट गोली छिरेको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरकी इन्चार्ज डा. प्रकृति भट्टराईले बताइन् ।
‘घटनालगत्तै स्वास्थ्य केन्द्रमा ल्याएका थिए । ब्लड पे्रसर र पल्स नाप्दा नै अवस्था नाजुक थियो’, डा. भट्टराईले भनिन्, ‘स्वास्थ्य चौकीमा ल्याइ पुर्याउँदा मृत्यु भइसकेको थियो ।’ बेलुका पौने पाँच बजे घटना भएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए । गोली पुनको छातीमा भित्र नै रहेको छ ।
गोली लागेको छातीमा घाउ रहे पनि पछाडिको भाग नछेडेकाले शरीर भित्रै रहेको आशंका गरिएको छ । रेष्टुरेन्टभित्रै गोली चलेपछि त्यस क्षेत्रमा त्रास पैmलिएको छ । मारिएका युवकको शव जिल्ला अस्पताल रेउघामा पोष्टमार्टम गरिने छ ।
गोली चलाएको आरोपमा रोल्पा नगरपालिका–१० धबाङका देववहादुर घर्तीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।
प्रनाउ खड्काका अनुसार उनको साथबाट एकथान कटुवा पेस्टोल बरामद भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी प्रमुख खड्का सूचना पाएलगत्तै लिबाङबाट सुलीचौर पुगेका छन् । …….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post)
अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना : सहसचिव नेतृत्वमा छानबिन समिति
काठमाडौं : सरकारले अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनाको छानबिनका लागि सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
सरकारले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
छानबिन समितिको सदस्यमा सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिद्धार्थ जंग गुरुङ र समिट एयरका वरिष्ठ इन्जिनियर मेगेन्द्रकुमार श्रेष्ठ रहेका छन्।
मन्त्रालयले आइतबार छानबिन समिति गठन भएको जानकारी विज्ञप्तिमार्फत् गराएको हो। समितिलाई प्रतिवेदन बुझाउनका लागि एक साताको समय दिइएको छ।
गोरखाको सानोगाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर शनिबार बिहान नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सुङचेत जंगलमा दुर्घटना भएको थियो।
हेलिकोप्टरमा सवार पाँच यात्रु र एक पाइलटको मृत्यु भएको थियो। एकजनाको भने जीवितै उद्धार गरिएको छ। जीवितै उद्धार गरिएकी आनी डोल्माको मेडिसिटी अस्पतालमा उपचार भइराखेको छ। मृतकको शव आइतबार राजधानी ल्याइएको छ। …….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post )
‘भारत भ्रमण सफल र फलदायी’
काठमाडौँ, भदौ २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच विगतका भएको सहमति तथा सम्झौता कार्यान्वयन गराउन र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफ्नो भ्रमण सफल भएको बताउनुभएको छ ।
चारदिने भारत भ्रमणबाट आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो, “विगतमा प्रधानमन्त्रीस्तरमा भएको भ्रमणका क्रममा भएका सहमति तथा सम्झौतालाई व्यावहारिक रूपमा कार्यान्वयन गराउन यस पटकको भ्रमण सफल र फलदायी भएको छ ।” सरकारले गरेको समझदारी कार्यान्वयन गराउन मात्रै आफ्नो भ्रमण केन्द्रित रहेको उल्लेख गर्दै उहाँले विकासनिर्माणका कामलाई प्रभावकारी बनाउन आफू लागिपरेको बताउनुभयो ।
सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने, नेपालको भौतिक पूर्वाधारमा लगानी बढाउने, ऊर्जा तथा जलस्रोतको क्षेत्रमा लगानी बढाउने लगायत विषयमा भ्रमणमा क्रमममा महत्वपूर्ण छलफल भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । यस्तै भ्रमणका क्रममा संविधान कार्यान्वयन तथा सरकारले आत्मसात् गरेको आर्थिक समृद्धिको लक्ष्यलाई साकार बनाउनका लागि भारतको उच्च राजनीतिक नेतृत्वसँग छलफल भएको उहाँको भनाइ थियो ।
विकासनिर्माणका क्रममा आपसी सहयोगलाई वृद्धि गर्दै जाने विषयमा भारतीय नेतृत्वसँग विस्तारमा छलफल भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको समृद्धि र विकासका मुद्दालाई केन्द्रमा राखेर राजनीतिक नेतृत्व र बुद्धिजीवीसँग छलफल भयो । यसले मलाई उत्साहित बनाएको छ ।” दुई तिहाइ प्राप्त सरकारको पक्षमा वातावरण बनाउन आफू भारत भ्रमणमा गएको स्पष्ट पार्दै अध्यक्ष दाहालले भन्नुभयो, “नेपाली जनताको चाहनाजस्तै भारत सरकार र भारतीय जनताको चाहना पनि नेपाल स्थिर र आर्थिक रूपमा सबल बनोस् भन्ने रहेको मैले पाएँ ।”
यस्तै भूकम्पपछिको पुनःनिर्माण, हुलाकी राजमार्गको निर्माण, पछिल्ला दिनमा भएका महत्वपूर्ण सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा केन्द्रित रहेर सहयोग उपलब्ध गराउन आफूले भारतीय नेतृत्वसँग आग्रह गरेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ कार्यान्वयनको वातावरण निर्माण गर्न आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको र त्यसमा आफू सफल भएको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “भ्रमणको कुनै राजनीतिक एजेण्डा थिएन, विकासको एजेण्डा तथा नेपाल र भारतबीच द्विपक्षीय सहमति, समझदारी र विगतमा भारत सरकारले गरेका थुप्रै प्रतिबद्धताको स्मरण गराएँ । उहाँहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।” अध्यक्ष दाहालले पछिल्लो चरणमा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमति कार्यान्वयनका लागि सकारात्मक वातावरण बनाउन भ्रमणले योगदान गर्ने बताउनुभयो । ‘समृद्ध नेपाल र सुखी नेपाल’ को राष्ट्रिय नारालाई सार्थक बनाउन भारत सरकार एवं भारतीय बुद्धिजीवीसँग महत्वपूर्ण छलफल गरेर दुई देशको सम्बन्धलाई अझ सुदृढ गर्न भ्रमण केन्द्रित रहेको बताउनुभयो ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायत राजनीतिक नेतृत्वसँग आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । त्यस्तै उहाँले भारतका बुद्धिजीवी, उद्योगी, व्यवसायी तथा पत्रकारसँग पनि छलफल गरिएको स्पष्ट पार्नुभयो ।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले सरकारमा सहभागी मन्त्रीको फेरबदलका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको पछिल्लो प्रतिक्रियामा आफ्नो सहमति रहेको बताउनुभयो । “मन्त्रीको फेरबदलका सम्बन्धमा प्रधानमन्त्रीको भनाइमा मेरो पनि सहमति छ । तर गल्ती गर्दाचाहिँ मन्त्रीमाथि कारवाही हुन्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।(रासस) ……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra)
सरकारविरुद्ध उत्रने बेला भएको छैन – डा.खड्काथापा
गाईघाट, उदयपुर, भदौ २४ गते । पूर्व मन्त्री तथा सांसद डा नारायण खड्काले अहिले नै प्रतिपक्षका तर्फबाट वर्तमान सरकारविरुद्ध उत्रनुपर्ने बेला भइनसकेको बताउनुभएको छ ।
पार्टीको कामका लागि उदयपुर आइपुग्नुभएका उहाँले प्रेस युनियन उदयपुर शाखाद्वारा आज बिहान गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।डा खड्काले भन्नुभयो, “अहिल्यै सरकारको आलोचना गर्ने बेला भएको छैन । केपी ओली नेतृत्वको सरकार सञ्चालन भएको एक वर्षपछि भने सबै कुराको मूल्याङ्कन गरेर अहिलेको जस्तै ढङ्गले अघि बढेमा भने नेपाली काँग्रेस सरकारविरुद्ध उत्रने छ ।”
वर्तमान ओली नेतृत्वको सरकार बहुमतको सरकार भएका कारण प्रमुख प्रतिपक्षले पनि पूरै अवधिसम्म सरकार चलोस् भन्ने चाहेको तर सरकारले जनता सामु बोलेका कुरा पूरा गर्न भने नसकेको आरोप डा खड्काले लगाउनुभयो ।
सरकारले अहिले यातायात व्यवसायीको एकाधिकार तोड्ने, चोर तथा गुण्डा नाइके पक्राउ गरेर कारबाही गर्ने र सुन तस्करलाई नियन्त्रणमा लिन तदारुकता देखाएकामा भने नेता खडकाले प्रशंसा गर्नुभयो । नेपालको दुई ठूला छिमेकी देश भारत र चीनसँग वर्तमान सरकारले लिएको सन्तुलनको नीति ठीक रहेको र बिम्स्टेक सम्मेलन पनि सफल बनाउन सरकार सफल भएको उहाँको धारणा थियो ।
अब सरकारले प्रतिपक्षप्रति कस्तो रवैया र नीति लिन्छ नेपाली काङ्ग्रेसले पनि सोहीअनुसारको सहयोग वा विरोध गर्ने कुरा निर्धारण हुने कुरा डा खड्काले बताउनुभयो ।(रासस) ……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra )
काठमाडौंबाट दिल्ली फर्किए भारतीय कांग्रेसका अध्यक्ष राहुल, जसरी आए त्यसरी नै फर्किए
तीर्थाटनका लागि भदौ १५ मा काठमाडौं हुँदै ल्हासा पुगेका भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक सातापछि आइतबार सुटुक्क काठमाडौं भएर दिल्ली फर्केका छन् । उनी आइतबार दिउँसो करिब साढे दुई बजेको इन्डिगो एयरलाइन्सको उडानबाट दिल्ली फर्केका हुन् । उनी आठ रात तिब्बतमा बसेर नेपाल फर्केका हुन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार अध्यक्ष राहुल आइतबार बिहान ल्हासाबाट काठमाडौं आएका थिए । उनले पशुपतिनाथ मन्दिर दर्शन गरे कि गरेनन् भन्ने पुष्टि हुन सकेको छैन । तर पशुपतिनाथ मन्दिर दर्शन गर्ने उनको पूर्ववत योजना रहेको थियो ।
दुई जना बेलायती पासपोर्टधारी भारतीय मूलका साथीसहित गान्धी दिल्ली फर्केका हुन् । उनी फर्केको थाहा पाएपछि एयर इन्डिगोका भारतीय यात्रीले तस्बिर खिचाएका थिए ।
गान्धी इन्डिगोको ६ इ ३२ उडानबाट अपरान्ह ३ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल दिल्ली अवतरण गरेका थिए । सर्वसाधारण नागरिक सरह उनले यात्रा गरेका थिए ।
यसअघि भदौ १५ गते काठमाडौं आएका राहुल २२ घण्टापछि १६ गते दिउँसो तिब्बतको ल्हासा गएका थिए । उनी एयर चाइनाको नियमीत उडानबाट ल्हासा उडेका हुन् । ल्हासा हुँदै कैलाश मानसरोवर पुगेर उनले भगवान शिवको दर्शन गरेका थिए । कैलाश दर्शनका तस्बिर उनको आधिकारिक ट्विटर एकाउन्टबाट सार्वजनिक भइसकेको छ ।
उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको साधारण प्रवेशबाट अध्यागमन जाँच गराएर गएका थिए । नितान्त धार्मिक भ्रमणमा आएका उनी आएर तिब्बत गएको धेरैले थाहा पाएनन् । सोहीअनुसार उनी साधारण नागरिकको हैसियतमा सुटुक्क दिल्ली फर्केका छन् ।
अध्यागमन कार्यालय विमानस्थल स्रोतका अनुसार राहुल डी ११२६६५० नम्बरको कूटनीतिक राहदानीमा आएका थिए । उनको राहदानी अगस्ट २९ मा राहदानी जारी भएको छ । २०१९ मे ३१ सम्म राहदानीको म्याद छ । राहदानीमा उनको जन्म मिति सन् १९७० जुन १९ तथा जन्मस्थान नयाँ दिल्ली उल्लेख छ ।
राहुल १५ भदौमा इन्डिगो एयरको उडानबाट अपरान्ह पौने २ बजे काठमाडौं विमानस्थलमा ओर्लेका थिए । उनी होटल ¥याडिसनमा बसेका थिए । काठमाडौं आएको साँझ उनले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा नेवारी खाजा खाएका थिए । काठमाडौंका एक रैथाने मित्रसँग उनले खाजा खाएका थिए ।
शुक्रबार राति उनी काठमाडौंका एक स्थानीय मारवाडी व्यवसायीसँग बौद्धनाथ स्तुपा घुमघाम गरेका थिए । उनी राति पाटन र स्वयम्भु पनि पुगेका थिए । बौद्ध स्तुपामा गान्धीले आफ्ना साथी र परिवारसँग तस्बिर खिचाएका थिए । राहुलले शाकाहारी भोजन खाएको कि मांसाहारी भन्ने बहस भारतीय टिभीमा भइरहेको छ ।.…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ। / published in Todays Naya Patrika)
सिनामंगलको सकुम्बासी बस्तीमा आगलागी
सिनामंगलको सकुम्बासी बस्तीमा लागेको आगो नियन्त्रणमा आएको छ । आइतबार दिउँसो १ बजे बस्तीमा रहेको एक माताको पूजा कोठाबाट आगो सल्किएको महानगरीय प्रहरी वृत्त गौशलाले जनाएको छ । पूजा कोठामा बालेको धूप बत्तीबाट आगो फैलिएको हो ।
स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भएको छैन । अन्य क्षतिको बारेमा विस्तृत विवरण आउन बाँकी ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika )