काठमाडौं- लगातार तीन कारोबार दिन घटेको शेयर बजार चौथो दिन बढेको छ। अाइतबार र सोमबार ओलारो लागेकाे सेयर बजार परिसूचक नेप्से मंगलबार ६।७७ अंकले बढेको हो ।
सेयर बजारमा धेरै हिस्सा रहेको बैंकिङ्ग सहित कारोबारमा आएका ११ मध्ये ९ वटा उप-समूह उकालो लागेपछि बजारले लय समातेको हो ।मंगलबार शेयर बजारमा ६.७७ अंकको सुधार अाउँदा सूचक १२१७.६५ अंकमा उक्लिएको छ। पछिल्लो तीन कारोबार दिनमा सूचक २३ अंकले घटेको थियो।
मंगलबार कारोबारको सुरुवातमा बजार स्थिर देखिएको थियो। कारोबारको पहिलो घण्टापछि बढ्न थालेको बजार दोस्रो घण्टा सम्ममा १४ अंकले बढेर १२२४ अंकसम्म उक्लिएको थियो। त्यसपछि बिस्तारै ओरालो लागेको बजार अन्तिमसम्म नै घटेर बन्द भएको थियो।
मंगलबार कारोबारमा पनि बैंकिङ्गको हिस्सा कूल कारोबारको ५२ प्रतिशत रहेको छ । कूल ३३ करोड ३२ हजार रुपैयाँको सेयर कारोबार भएको बजारमा १७ करोड १६ लाख बैंकिङ्गमा कारोबार भएको छ । लघुवित्तमा पाँच करोड ३० लाख, विकास बैंक तीन करोड २४ लाख, निर्जीवन बीमा दुई करोड १४ लाख तथा जीन बीमामा एक करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भयाे।
कारोबारमा आएको उप-समूहमध्ये निर्जीवन बीमा ६५.२८ अंक तथा वित्त ०.२६ अंकले ऋणात्मक रह्यो । होटलको सूचाङ्क सबैभन्दा धेरै ४९.४८ अंकले बढेको छ । उत्पादन तथा प्रशोधनमा २४.७, जीवन बीमा १८.६३, विकास बैंक १५.६४, लघुवित्त ११.८०, बैंकिङ्ग ७.२३, अन्य ३.७२, जलविद्युत २.८५, र व्यापार समूह ०.८४ अंकले सकारात्मक रहेको छ ।
मंगलबार नेप्से सूचक ६.७७ अंकले सुधारिएर १२१७.६५ बिन्दुमा पुगेको छ । यसदिन १६७ कम्पनीको १० लाख ९७ हजार ९११ कित्ता सेयर चार हजार ९७ पटक कारोबार भए । सोमबारको तुलनामा मंगलबार कारोबार रकम पाँच करोड २५ लाख रुपैयाँले सुधार आएको छ ।
सूर्योदय, उन्नति र मिथिला लघुवित्त कम्पनीको सेयरधनीले पनि पाँच प्रतिशत बढीले नाफा कमाएका छन् । उता १२० प्रतिशत बोनस सेयर वितरण गर्ने भनिएको राष्ट्रिय बीमा कम्पनीले बिना लाभांश साधारण सभा डाक्ने भएपछि कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।
कम्पनीको संस्थापक ७.८८ प्रतिशत अर्थात प्रतिकित्ता ७५० रुपैयाँ घटेर आठ हजार ८०० रुपैयाँ तथा साधारण सेयर ७.२६ प्रतिशत अर्थात ७६८ रुपैयाँले घटेर ९ हजार ८०२ रुपैयाँमा कारोबार बन्द भएको छ । मंगलबारको बजारमा नेपाल हाइड्रो डेभलपर कम्पनीको ५.०३, सेन्ट्रल फाइनान्स ४.८३ तथा आरम्भ र्माक्रोफाइनान्सको सेयरधनीले ४.१५ प्रतिशतले गुमाएका छन् ।
शिर्ष कारोबार हुने १० कम्पनीमा ७ कम्पनीको कारोबार एक करोड बढी भएको छ । जसमध्ये सबैभन्दा धेरै एनाअीसी एशिया बैंकको २ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यसैगरी कुमारी बैंक २ करोड २८ लाख, एनएमबि बैंक एक करोड ५८ लाख, राष्ट्रिय बीमा कम्पनी संस्थापक एक करोड ३० लाख, देव विकास बैंक एक करोड ९ लाख, नेपाल बैंक एक करोड ६ लाख तथा राष्ट्रिय बीमा कम्पनीको साधारण सेयर एक करोड पाँच लाख बराबरको काराेबार भएको छ । नेप्से सूचक बढेसँगै लगानीकर्ताकाे सम्पत्ति मापन गर्ने समग्र बजार पूँजीकरण साढे १४ खर्ब रूपैयाँमा उक्लेकाे छ ।