बाग्लुङ – बाग्लुङको बडिगाड खोला पहिरोले थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको छ । शुक्रबार राति साढे ११ बजेदेखि थुनिएको खोला शनिबार बिहान साढे पाँच बजेबाट ओभर फ्लो भएर बग्न सुरु गरे पनि जोखिम टरिसकेको छैन ।
बडीगाड गाउँपालिका र ढाेरपाटन नगरपालिकाकाे सिमानामा पर्ने बडीगाड खाेला रातिदेखि थुनिएको हो । राति करिब १२ बजेतिर ठूलाे पहिराे खसेर खाेला थुनिएकाे हाे ।
पहिरोले बाग्लुङ बुर्तिवाङ खरबाङखण्डको दुई किलोमिटर सडकको केही भाग पनि भत्काएको छ । ६ घण्टादेखि बढिघाट खोला थुनिँदा हजारौं घर जोखिममा परेका छन् । बागलुङकाे भिमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका हजारौ बस्ती जोखिममा परेका हुन् । ढोरपाटन नगरपालिका र बढिघाट गाउँपालिकाको सिमानामा पर्ने तुरतरे देउरालीमा पहिरो खसेको छ।
खोला थुनिएपछि बागलुङका खार र खर्बाङ्ग बजार तथा गुल्मीको मुसिकोट नगरपालिकाका वामी, भुवाचिदी, आँपचौर, बडागाउँको ग्वादीकाचौर, चन्द्रकोट गाउँपालिकाको मजुवा बजार, सत्यवति गाउँपालिकाको जोहाङ्ग खैरेनी, चोरकाटे बजार र रुद्रवेणी बजारका घरहरु उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
खोला थुनिएर ताल बनेपछि केही घरहरू पुरिएका छन् भने बाग्लुङ र गुल्मीका स्थानीयहरु रातभर जाग्राम बसेका छन् ।
खोला थुनिएको जानकारी पाएलगत्तै बाग्लुङ जिल्लाका नेपाली सेना, नेपाल प्रहरी सहितको टोली खोलाको बहाव खोल्ने प्रयासका लागि रातिदेखि नै सो क्षेत्रमा परिचालन गरिएको थियो । तर, उनीहरुले नखोल्दै शनिबार बिहानपखबाट पानी आफै ‘ओभर फ्लो’ भएर बग्न सुरु गरेको छ ।
शुक्रबार राति साढे ११ बजेबाट थुनिएको खोलाको बहाव शनिबार बिहान साढे पाँच बजेबाट आफै बग्न थालेको बाग्लुङका एसपी दीपक रेग्मीले जानकारी दिए । तर जोखिम भने नटरेको उनले बताए । रेग्मीले भने, ‘पानी बग्न थालेको त छ तर नदी किनारका बासिन्दालाई अलर्टमा रहन भनेका छौं ।’
गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने पानी बग्न सुरु गरेकाले केही हदसम्म जोखिम कम हुँदै जान थालेको बताए । तर पनि सामान्य अवस्था नहुन्जेल खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको उनले जानकारी दिए । ‘खोला किनारमा रहेका सबै मानिसहरुलाई सुरक्षित स्थानमा बस्न भनिएको छ,’ प्रजि पौडेलले भने ।