काठमाडौँ — गृह मन्त्रालयले कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा संलग्न थप पाँच जना प्रहरी अधिकृतलाई निलम्बन गरेकाे छ । सिअाइबीका डिएसपी अंगुर जिसीसहित थप प्रहरीलाई मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको हो ।
शनिबार बिज्ञप्ति प्रकाशित गर्दै भदौ ७ गते गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्च स्तरीय छानबिन समितिले शनिबार गृहमन्त्री रामबहादुर थापा समक्ष पेश गरेको प्रतिवेदनका आधारमा जिम्मेवारीपूर्वक काम गर्न नसकेका दुई डिएसपीसहित ५ जनालाई थप अनुसन्धानका लागि निलम्बन गरेको जनाएको छ।
सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा जिसीसहित डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का र जगदिश भट्ट तथा असैइ रामसिंह धामीलाई निलम्बन गर्ने निर्णय गरेकाे हो । पन्तको हत्यामा नक्कली अभियुक्त खडा गरेको पुष्टि भएपछि उनीहरुलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाइेको हो । एसपी डिल्लीराज बिष्ट तीन साताअघि नै निलम्बनमा परिसकेका छन् ।
प्रतिवेदनमा अन्य केही संदिग्ध ब्यक्तिलाई पनि छानबिनको दायरामा ल्याएर अनुसन्धान गर्न निर्देशन दिएको छ। बिज्ञप्तीमा यो घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेकाले अपराधी पत्ता लगाई कारवाही गर्ने विषयमा सबैले सहयोग गर्न अनुरोध समेत गरिएको छ।