काठमान्डौ- मनोहरा खोलाबाट बालुवा निकालेर बेच्ने, ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने ९ प्रहरी एकैपटक पक्राउ परेका छन् । दुई असैइ सहित ९ प्रहरी शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अप्रेसन’मा परेका हुन् ।
पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग काँडाघारी, कोटेश्वर र सानोठिमी वृत्तका प्रहरी छन् । असइ गोपाल श्रेष्ठलाई आयोगले ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । त्यस्तै, असइ सुवास ढुंगाना र हवल्दार दीपक भारती ४५ हजार रुपैयाँ घुससहित समातिएका छन् ।
प्रहरी हवल्दार उमेश यादव, अंअन चौधरी, प्रहरी जवान दीपेन्द्र कुँवर र मुकेश पटेल ५–५ हजार घुससहित पक्राउ परेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
जवानद्वय रत्न रिजाल र मानसिंह रोका पनि ५ हजार घुस लिएको अवस्थामा समातिएका छन् । ‘ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने गरेको सूचनाका आधारमा हामीले उनीहरूलाई पक्राउ गरेका हौँ,’ आयोगका प्रवक्ता दंगालले भने । स्रोतका अनुसार बालुवा ठेकेदारहरूसँग उनीहरूले महिनावारी पैसा बुझ्ने गरेका थिए ।
जो रंगेहात समातिए – असइ सुवास ढुंगाना– ४५ हजार -हवल्दार दीपक भारती– ४५ हजार -असइ गोपाल श्रेष्ठ– ३० हजार -हवल्दार उमेश यादव– ५ हजार -हवल्दार अंअन चौधरी– ५ हजार -जवान दीपेन्द्र कुँवर– ५ हजार -जवान मुकेश पटेल– ५ हजार -जवान रत्न रिजाल– ५ हजार -जवान मानसिंह रोका– ५ हजार छन। नयापत्रिका