जापान – अभिनेता अनमोल केसी जापानमा सम्पन्न ‘सूर्य इन्टरनेशनल अवार्ड’मा ‘पपुलर अभिनेता’ घोषित भएका छन्।
जापानको टोकियोस्थित नाकानो जिरो हलमा भएको अवार्ड समारोहमा साम्राज्ञी राज्यलक्ष्मी शाह ‘पपुलर अभिनेत्री’ बनिन्। १२ विधा र मास पपुलरका चार विधामा दर्शकले दिएको भोटको आधारमा दीएको अवार्डमा फिल्म ‘म यस्तो गीत गाउँछु’ले ‘उत्कृष्ट फिल्म’सहित चार विधामा उपाधि उचाल्यो। फिल्मका लागि निर्देशक सुदर्शन थापा ‘उत्कृष्ट निर्देशक’, पल शाह ‘उत्कृष्ट नायक’ र पुजा शर्मा ‘उत्कृष्ट नायिका’ भैइन्। अभिनेता प्रशान्त ताम्राकारले पुरुषतर्फ ‘उत्कृष्ट सपोर्टिङ कलाकार’को अवार्ड उचाल्दा महिलातर्फ वर्षा राउत अब्बल ठहरीइन् ।
भोटिङको आधारमा बाहेक आयोजकले ‘पपुलरिटी’का आधारमा पनि चार अवार्ड प्रदान गरेको छ। गतवर्ष प्रदर्शनमा आएका फिल्महरू मध्येबाट ‘उत्कृष्ट फिल्म’, ‘निर्देशक’, ‘नायक’ र ‘नायिका’लाई अवार्ड दीएको छ। जसमा ‘पपुलर’ विधातर्फ ‘निर्देशक’मा प्रदिप भट्टराई र ‘फिल्म’मा ‘छक्कापञ्जा २’ रहेको छ। कार्यक्रममा नेपालकी पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड २०१८’ प्रदान गरिएको थियो। तीन दशकदेखि नेपाली फिल्ममा सक्रिय सदाबहार नायक भुवन केसीलाई ‘सुर्य कलाकारिता सम्मान’ प्रदान गरिएको थियो।
अवार्डमा गीतको ६ विधामा लोकतर्फ गायक रामजी खाँण र गायिका सम्झना लामिछाने मगर,पपतर्फ गायक कमल खत्री र गायिका इन्दिरा जोशी, आधुनिक संगीततर्फ गायक राजेशपायल राई र गायिका मेलिना राई उत्कृष्ट भए। कार्यक्रममा नेपालबाट गएका झण्डै चार दर्जन कलाकारसहित जापानलाई कर्मथलो बनाईरहेका नेपाली फिल्म तथा गीत संगीतका प्रशंसकको उपस्थिति थियो।
कार्यक्रमलाई सांगीतिक बनाउन गायक राजेशपायल राई, कमल खत्री, कमल क्षेत्री र एन्जिला रेग्मीले गीत प्रस्तुत गरेका थिए भने कविता गेलाल, नम्रता सापकोटा, आँचल शर्मा र सुशान्त कार्कीले देखाएका थिए।