धनगढी
अबदेखि प्रदेश न ७ एउटा न. मात्र रहेन यसको नामाकरणा भएको छ।शुक्रबार बसेको प्रदेश संसद्को दुईतिहाइ बहुमतले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी पारित गरेको छ ।प्रदेश सातको नाम अब सुदूरपश्चिम भएको छ । राजधानी कैलालीको गोदावरीमा तोकिएको छ ।
५३ सदस्यीय प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टीका ३८ जनाले नाम र राजधानीका पक्षमा मतदान गरेका छन् । दुईतिहाइ पुग्न ३६ मत आवश्यक थियो । प्रतिपक्षी दलहरूले भने निर्वाचन बहिष्कार गरेका छन् ।सभामुख अर्जुनबहादुर थापाले नाम र राजधानीसम्बन्धी प्रस्ताव संसद्को दुईतिहाइ बहुमतले पारित भएको घोषणा गर्दा नेकपाका सांसदले टेबुल ठटाएर समर्थन जनाएका थिए ।
प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिकाको २ र ४ नम्बर वडामा पर्ने गोदावरीको वन क्षेत्रमा रहनेछ । गोदावरीको तेघरीस्थित नेपाली सेनाको ब्यारेकदेखि उत्तरपश्चिम, गोदावरी–डडेलधुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र अत्तरिया बजारदेखि दक्षिणतिरको चारकिल्ला भएको क्षेत्रलाई राजधानी कायम गरिएको हो ।
राज्य पुनर्संरचनाका क्रममा तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रका ९ जिल्लाको भूगोल समेटेर प्रदेश सात कायम गरिएको थियो । प्रदेश सभाले पनि विगतकै नाम सुदूरपश्चिमलाई निरन्तरता दिँदै प्रदेशको नामाकरण गरेको हो ।
संसद् चलिरहँदा संसद् भवनको गेटबाहिर राजधानी सार्न नहुने मागसहित कांग्रेस कार्यकर्ताले दिनभर प्रदर्शन गरेका थिए । संसद् बैठकमा सहभागी भए प्रमुख प्रतिपक्षी कांग्रेस तथा राष्ट्रिय जनता पार्टीका सांसद निर्वाचनाघि नै बाहिरिएका थिए । बिहान साढे ११ बजे बैठक सुरु भएलगत्तै कांग्रेस र राजपाका सांसदले विरोध जनाएका थिए ।
कांग्रेसले नाम र राजधानीका लागि सुझाब दिन गठित संसदीय समितिको वैधतामाथि नै प्रश्न उठाएको छ । सदनबाट अनुमोदित नभएको र सरकारले पनि गठन नगरेकाले समितिको वैधानिकता नहुने कांग्रेस सांसद कर्णबहादुर मल्लले बताए । बैठक बहिष्काराघि संसद्मा बोल्दै कांग्रेस संसदीय दलका नेता डा। रणबहादुर रावलले पनि समितिको वैधतामाथि प्रश्न उठाएका थिए ।