आज का (अाईतबार) पत्र-पत्रीका हरु का मुख्य समाचार हरु जस्ता को त्यस्तै (As Published in Todays News Papers)

फोटो फिचर विचार/ब्लग समाचार
शेयर गर्नु होला

नेता नेपाललाई लक्षित गर्दै ओलीले भने- ‘म नहुँदा त्यत्रो छटपटी ?’

काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा भएको छ ।

हलचलले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई समेत छोएको छ। ‘कतिपय नेताले बोलेको सुनियो, लौ न देश डुब्नै लाग्यो, कोही त आऊ बचाऊ भनेर,’ पत्रकार सूर्य थापासँगको टीभी अन्तर्वार्तामा ओलीले नेपालको अभिव्यक्तिप्रति लक्षित गर्दै भनेका छन्, ‘म नहुनेबित्तिकै कसैलाई अलिकति शून्यता भयो, छटपटी भयो। म फर्केर गइहाल्छु, सबै ठीक भइहाल्छ।’

नेपालले सात महिना बित्दा पनि सरकारको प्रभावकारिता नदेखिएको र पार्टी एकलौटी चलाएको विषयलाई लिएर ‘देश डुब्न लागिसक्यो माझी बचाइदेऊ न…’ भन्ने गीत बिहीबार संसद्मा गाएका थिए। सतहमा उनको अभिव्यक्ति सरकार र पार्टी सञ्चालनमा ओलीको कार्यशैलीप्रति लक्षित छ। नेकपाकै कतिपय नेताले भने उनको अभिव्यक्तिलाई सरकार असफल बनाउने योजनाका रूपमा लिएका छन्।

गृहमन्त्री रामबहादुर थापाले शनिबार तम्घासमा यस्तै संकेत गर्दै भने, ‘सरकारलाई घेराबन्दी गर्ने र गिराउनेसम्मको षड्यन्त्र भइरहेको छ।’ संसद्मा नेपालले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारा पत्ता नलागेको र रौतहटलगायत ठाउँमा किशोरीमाथि एसिड प्रहार भएको घटना उप्काउँदै गृहमन्त्री खोइ भन्ने प्रश्न गरेका थिए।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने नेपालको असन्तुष्टिलाई सरकार ढाल्ने ‘षड्यन्त्र’ मान्न नहुने बताए। ‘आलोचना सरकारलाई सफल बनाउनकै लागि गर्ने हो,’ उनले भने, ‘विकल्प खोज्ने कुरा अहिले कल्पना गर्न सकिन्न। सरकारको आलोचनालाई लिएर अरू कुरा सोच्न पनि मिल्दैन।’

वर्षे अधिवेशनको अन्तिम बैठकमा नेपालले दिएको अभिव्यक्तिले नेकपाका धेरै नेता–कार्यकर्तालाई २०७३ साउन ८ गतेको घटना सम्झाइदिएको छ। त्यतिबेला संसद्मा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल चल्दै थियो। नेपाल प्रस्तावको प्रतिवाद गर्न रोस्ट्रममा उभिएका थिए। तर उनले अविश्वास प्रस्तावको प्रतिवाद गरेनन्। बरु, त्यसैलाई पुष्टि हुने गरी प्रधानमन्त्री ओलीको आलोचना गरे।

त्यतिबेला उनले ‘देश डुब्न लागिसक्यो माझी बचाइदेऊ न….’ भन्ने गीतबाटै भाषण सुरु गरेका थिए। जसको स्मरण उनी आफैंले बिहीबार संसद्मा बोल्दा गराए। सरकार एमालेले भन्दा पनि गुटले चलाएको मुख्य आरोप पनि त्यतिबेला उनले लगाएका थिए। नेपालको त्यही आलोचनापछि ओलीले अविश्वास प्रस्ताव सामना नगरी राजीनामाको बाटो रोजेका थिए।

पहिलो पटक नौ महिनामै सत्ताबाट बहिर्गमन भएका ओलीमाथि अहिले सात महिना पुग्दै गर्दा आफ्नै पार्टीबाट आलोचना सुरु भएको छ। यसका पछाडि सरकारभन्दा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले आफूलाई नसोधी एकलौटी रूपमा अघि बढाइरहेको पार्टी एकता प्रक्रियासँग नेपालको असन्तुष्टि मुख्य कारण रहेको नेकपाका एक नेताले बताए। प्रदेश, जिल्ला र त्यसभन्दा तल्ला कमिटीमा आफ्नो पक्षलाई उपेक्षा गर्ने त्रास बढेपछि नेपाल आलोचनामा उत्रिएका हुन्।

बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा शुक्रबार स्थायी समितिको भेला डाकेर नेपालले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाल एकलौटी रूपमा अघि बढ्न खोजेको भन्दै त्यसविरुद्ध संगठित रूपमा आवाज उठाउने उद्घोष गरे। उनले नेपालले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने सचिवालयको निर्णयमा लिखित असहमति जनाएका छन्।

‘सचिवालय बैठकमा उहाँको (नेपाल) रिजर्भेसन थियो, अध्यक्षहरू (ओली र दाहाल) फर्केर आएपछि समाधान गर्न सकिन्छ,’ नेता राजन भट्टराईले भने, ‘उहाँजस्तो सिनियर नेताले पार्टीभित्रको असन्तुष्टिलाई लिएर सरकार असफल बनाउन खोज्नुभएको होला भन्ने लाग्दैन। संसदमा उहाँको अभिव्यक्ति यसप्रति जोडिएको पनि होइन।’ यति भन्दाभन्दै पनि भट्टराईले पार्टीबाहिरको शक्तिबाट भने सरकार असफल बनाउने प्रयत्न भइरहेको बताए। त्यस्तो शक्ति को होला त? भन्ने प्रश्नमा भट्टराईले शक्ति र सत्ताबाट बाहिर रहेकाहरू भन्दै पूर्वराजा र राजावादीतर्फ संकेत गरे।

‘यस्ता शक्तिको पहिलो प्रयास सरकारलाई असफल बनाउने छ। त्यसपछि संघीयता, गणतन्त्र र समावेशितालाई अफापसिद्ध बनाई अहिलेको व्यवस्थालाई उल्टाउन प्रयत्न भइरहेको छ। पार्टीबाहिरबाट भएका यस्ता प्रयत्नलाई विपक्षी, नगारिक समाज कसैले पनि मलजल गर्नु हुन्न। व्यवस्था रहेन भने हामी कोही रहन्नौं।’

न्युयोर्कमै रहेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं नेकपाका नेता विष्णु रिमालले पनि घुमाउरो शैलीमा नेपालको चर्को आलोचना गरेका छन्। ‘मानिसको पतन त्यस समय सुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरु गरिन्छ,’ नेपालले संसद्मा दिएको अभिव्यक्तिपछि रिमालले टिवट गर्दै भनेका छन्।……………( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

दिल्ली दूतावासको आग्रह- ‘कमिसनका लागि बिरामी पठाउनेलाई कारबाही गर’

नयाँदिल्ली — नेपाली बिरामीहरूलाई ‘कमिसन’ का लागि अनावश्यक रूपमा भारतीय अस्पतालमा रिफर गर्ने नेपालका चिकित्सक, अस्पताल र एजेन्टलाई कारबाही गर्न नयाँदिल्लीस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

कमिसनकै लागि भारतीय अस्पतालमा बिरामी पठाउने व्यक्ति तथा संस्थाको पहिचानका लागि गृह मन्त्रालय, स्थानीय प्रशासन, नेपाल मेडिकल काउन्सिल, उपभोक्ता संरक्षण विभागको समन्वयमा तत्काल अनुसन्धान गर्न दूतावासले सुझाव दिएको छ । कमिसनकै लागि बिरामीहरूलाई अनावश्यक रूपमा भारतका क्लिनिक, नर्सिङ होम र अस्पतालमा ‘रिफर’ गर्ने गरिएको ठहर पनि दूतावासको छ ।

भारतस्थित स्वास्थ्य संस्था वा डाक्टरका एजेन्ट र तिनका कार्यालय भए तत्काल खारेज गर्न पनि दूतावासले सरकारलाई आग्रह गरेको छ । उपचारका लागि भारत आउने नेपाली बिरामीमाथि यहाँका डाक्टर तथा स्वास्थ्य संस्थाहरूले चर्को आर्थिक शोषण गर्ने गरेको गुनासो बढदै गएपछि दूतावासले यस्तो कदम चालेको कार्यवाहक राजदूत भरतकुमार रेग्मीले बताए ।

दिल्लीस्थित एक प्रतिष्ठित स्वास्थ्य संस्थाका उच्च अधिकारीले केही साताअघि कान्तिपुरसँग गरेको कुराकानीमा नेपाली बिरामी पठाएबापत प्रतिबिरामी १५ प्रतिशत कमिसन दिइने गरेको स्वीकार गरेका थिए । त्यसरी रिफर गरिएका बिरामीसँग ती स्वास्थ्य संस्थाले १० देखि ३५ प्रतिशतसम्म थप रकम लिने गरेका छन् । यस्तो कमिसन विभिन्न अनधिकृत च्यानलमार्फत नेपाल पठाइने गरिएको छ ।

दूतावासका अधिकारीहरूले यहाँका विभिन्न अस्पतालका नेतृत्वलाई भेटेर कमिसनको चलखेल र नेपाली बिरामीमाथि हुने अनावश्यक आर्थिक शोषण तत्काल बन्द गर्न सचेत गराएको बताएका छन् । दूतावासले नेपाली बिरामीसँग भारतीय बराबर नै शुल्क लिनुपर्ने आग्रह गरेको पनि कार्यवाहक राजदूत रेग्मीले बताए ।

दूतावासले उपचारका लागि भारत आउने नेपाली नागरिकले पहिले उपचार गर्न जाने अस्पताल, उपचार पद्धति, डाक्टर, उपचारमा लाग्ने समय, खर्चलगायतबारे आधिकारिक स्रोतबाट बुझेरमात्र आउन पनि आग्रह गरेको छ । मृगौला, कलेजो र बोनम्यारोजस्ता अंग प्रत्यारोपणका लागि आउने बिरामीले परराष्ट्र मन्त्रालयबाट आवश्यक कागजात र सिफारिस लिएरमात्र आउन पनि दूतावासले सचेत गराएको छ ।………( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

पाँच महिना बित्यो तर समातिएनन् बलात्कार आरोपी वडाध्यक्ष

 

दसैंमा घर पोत्ने माटो खन्दा ढिस्कोमा पुरिएर एकै घरका तीनको मृत्यु

तुलसीपुर : दाङमा माटोको ढिस्कोले पुर्दा एकै परिवारका तीन जनाको ज्यान गएको छ। दसैंका लागि भनेर घर पोत्ने माटो लिन गएका राप्ती गाउँपालिका ४ मौरीघाटका तीन जनाको माटो खनिरहेको अवस्थामा माथिबाट खसेको ढिस्कोले पुर्दा ज्यान गएको दाङ प्रहरीले जनाएको छ।

राप्ती गाउँपालिका ४ मौरीघाटका शिउचरण चौधरीका तीन जना परिवारको शनिवार मृत्यु भएको हो। शिउचरणकी ३० वर्षकी छोरी श्यामा चौधरी, २५ वर्षकी भाइ-बुहारी निनाकुमारी चौधरी र १२ वर्षिय नातिनी रोजिना चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी एवं प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।

परिवारका तीन सदस्यको मृत्युले चौधरी परिवार विक्षिप्त भएको छ भने गाउँ शोकमा डुबेको छ। शनिबार बिहान घर नजिकै रहेको दोलइ खोलामा घर पोत्नका लागि एकै घरमा आमाजु–बुहारी र भतिजी माटो लिन गएका थिए। दिउँसो अबेरसम्ममा पनि तीनै जना घर नफर्केपछि चौधरी परिवारले खोजी गर्दा दोलैखोलाको मटिखन्नीमा पुरिएको अवस्थामा फेला परेको र मृत अवस्थामा उनीहरूलाई निकालिएको स्थानीय हरिनारायण चौधरीले बताए।

चौधरीका अनुसार दसैंका लागि घर लिप्न प्रयोग गर्ने कमेरो माटोको खानी त्यहाँ भएको र स्थानीय ४०/४५ घरले त्यहाँको माटो प्रयोग गर्दै आएका थिए।

उनीहरू पनि माटो लिन गएको बेला ढिस्कोले पुरिएको हरिनारयणले बताए। गाउँलेहरूले झण्डै ४ मिटर गहिरो खाल्डोबाट माटो निकाल्दै आइरहेका थिए। शनिबार त्यहीँबाट माटो निकाल्दै गर्दा माथिबाट ढिस्को खसेर उनीहरूलाई पुरेको उनने बताए।

पहिले पनि त्यही स्थानमा माटोकै ढिस्कोले एक जनालाई पुरेको थियो। त्यो घटना भइसकेपछि स्थानीयतहले माटो निकाल्न बन्द गराएको भए पनि लुकीछिपी स्थानीयहरूले माटो निकाल्दै आएको राप्ती गाउँपालिका वडा ४ का वडा अध्यक्ष विष्णुबहादुर जिसीले बताए। ‘घटना दुखद् भएको छ’, उनले भने, ‘विगतमा पनि यस्तै घटना भएकाले माटो खन्न कडाई गरेका थियौँ, स्थानीयले नमानेरै खनिरहेको बेला फेरि दुखद् घटना दोहरिएको छ।’

जिसीले ४ वर्ष अघि पनि त्यही स्थानमा एकजना माटो खन्दै गर्दा पुरिएको बताए। यो क्षेत्रमा पटकपटक यस्तो दोहरिरहने गरेको स्थानीयहरूले बताएका छन्।

माटोको ढिस्को खसेको स्थान। यहाँ पुरिएर एकै घरका तीन जनाले शनिबार ज्यान गुमाएका छन्। …….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post )

 

सहकारीको रकम लुटपाटमा संलग्न सात पक्राउ

लहान, असोज १३ गते हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला ग्रामपञ्चायत छतौना–२ निवासी २७ वर्षीय किशोरकुमार शर्मा, धनुषा विदेह नगरपालिका–१ निवासी २० वर्षीय नरेशकुमार ठाकुर, १९ वर्षीय रवीन्द्र ठाकुर, ठाडी झिझाका श्यामसुन्दर ठाकुर, कमला नगरपालिका–६ हतमुण्डाका १९ वर्षीय रमेशकुमार महतो, कमला नगरपालिका–८ हरिणे निवासी २७ वर्षीय शत्रुधन ठाकुर र धनुषाकै तारापट्टी गाउँपालिका–१ पुर्वारी टोल निवासी २२ वर्षीय चन्द्रशेखर यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गत भदौ २८ गते सिरहाको अर्नामा गाउँपालिकाबाट किस्ता रकम सङ्कलन गरी सदरमुकाम सिरहातर्फ आउँदै गरेका बेला सिरहा नगरपालिका–२२ सागरपुर नजिकै मैनावती नदी नजिकै सिर्जना सामुदायिक सहकारी संस्थाका दुई कर्मचारीलाई हतियार देखाएर यी अभियुक्तहरुले उनीहरूसँग भएको रु तीन लाख ९३ हजारसहित मोटरसाइकल लुटेर लगेका थिए ।

उनीहरूको साथबाट ‘मेड इन युसए एन ७१०’ लेखिएको पेस्तोल एक थान, त्यसको म्यागजिन एक थान, ‘मेड इन इटाली’ लेखिएको स्वचालित पेस्तोल एक थान, म्यागजिन एक थान, पेस्तोलमा लाग्ने गोली १३ राउण्ड, सामसुङ मोबाइल एक थान, नेपाली रु छ हजार १५० , विभिन्न कम्पनीको सिमकार्ड पाँच थान, चन्द्रशेखर यादवको भारतीय सवारी चालक अनुमतिपत्र, लुटिएको नेपाली नम्बरप्लेटसहिको बीआर३२ए ९३७३ नं को मोटरसाइकल बरामद भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । (रासस)……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra)

 

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ४८ को मृत्यु

जाकार्ता, असोज १३ गते । मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ व्यक्तिको मृत्यु भएको छ ।

त्यसैगरी अन्य ३६५ जना घाइते भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घाइतेहरुलाई विभिन्न अस्पताल भर्ना गरिएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताउनुभयो ।

“यस प्राकृतिक प्रकोपका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको समेत क्षति भएको छ,” पत्रकार सम्मेलनमा प्रवक्ता नुग्राहोले भन्नुभयो ।

मध्य इन्डोनेसियाको तटीय क्षेत्रमा ६.०, ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्पपछि ०.५ देखि ३ मिटरसम्मको सुनामी आएको छ ।

यस प्रकोपमा मारिएका र घाइते भएका प्रायः ७.४ म्याग्नीच्युडको भूकम्पबाट पिडित व्यक्तिहरु रहेका छन् । उनीहरुलाई इट्टा र ब्लकले लागेको पनि प्रवक्ता नुग्राहोले बताउनुभयो ।

तटिय क्षेत्रका बस्तीहरुमा सुनामीले बढी प्रभावित पारेको समाचारमा जनाइएको छ । त्यसैले पनि धेरै मानवीय तथा भौतिक क्ष्ाित भएको अधिकारीहरुको भनाई छ ।

खतराबाट जोगाउनका लागि उद्धार तथा सतर्कता सम्वन्धी कामहरु भइरहेका छन् । तर के कति क्षति भएको छ भन्ने पूर्ण विवरणहरु पनि आउन बाँकी नै रहेको छ ।

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरु पनि गरिरहेको प्रवक्ता नुग्राहोले बताउनुभयो ।

यस भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ ।

विश्वका अन्य देशहरुको तुलनामा इन्डोनेसिया बढी भूकम्प जाने गरेको छ । सन् २०१४ मा पश्चिमी इन्डोनेसियामा गएको ९.३ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो । (रासस/एएफपी)……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra )

 

महिलाद्वारा सञ्चालित उद्योगलाई सरकारले सुलभ ऋण दिने

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले महिलाले सञ्चालन गरेका उद्योगलाई सरकारले सुलभ ऋण उपलब्ध गराउने बताएकी छन् ।

ललितपुरमा शनिबार आयोजित महिला उद्यमीहरुको एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले महिलाले सञ्चालन गरेका उद्योगलाई प्रोत्साहन गर्ने र सुलभ व्याजमा ऋण उपलब्ध गराउने नीति सरकारले लिएको बताएकी हुन् । महिला उद्यमीको विकास र प्रवद्र्धनका लागि प्राविधिक तालिम, सुलभ व्याजको ऋण लगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने नीति लिएकाले महिला उद्यमशिलताको विकास गर्न सकिनेमा सरकार दृढ रहेको बताइन् ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अझै पनि अत्यन्तै न्युन संख्यामा मात्रै महिला उद्यमी रहेको भन्दै सिप विकासमा सरकारले लगानी गर्नुपर्ने बताए ।

उद्योग वाणिज्य महासंघको महिला विभागले महिला उद्यमीहरुको एक दिने कार्यशाला गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा सहभागी महिला उद्यमीले महिलाले सञ्चालन गरेका उद्योगको विकास र प्रवद्र्धनका लागि विस्तृत कार्ययोजना ल्याउन सरकारलाई सुझाव दिएका थिए ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ। / published in Todays Naya Patrika)

 

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्रीको सम्बोधन : शान्तिप्रक्रियाको अनुभव बाँड्छौँ

प्रधानमन्त्री केपी ओलीले ‘बुद्ध र सगरमाथा’को देश नेपालले घरेलु पहलकदमीबाट शान्तिप्रक्रिया सफल बनाएको उदाहरण विश्वले सिक्न सक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७३औँ महासभाको बैठकलाई नेपाली समयअनुसार बिहीबार राति सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्तिप्रक्रियाको सफलताको अनुभव बाँड्न नेपाल तयार रहेको पनि स्पष्ट पारे ।

‘हामी विश्वास गर्छौँ कि नेपालले द्वन्द्वको रूपान्तरण गरेको उदाहरण संसारका विभिन्न भागमा शान्तिका लागि सफल उदाहरण बन्न सक्छ,’ ओलीले भने, ‘यससम्बन्धी हाम्रो अनुभव बाँड्न हामी भविष्यमा तत्पर रहनेछौँ । शान्तिप्रक्रियामार्फत सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधान भएको र विविधतामा एकता कायम गर्दै राज्यको पुनर्संरचना गरिएको तथा नेपाली जनता वास्तविक रूपमा राज्यसत्ताको मालिक बनेको उल्लेख गरेका छन् ।

शान्तिप्रक्रिया सम्पन्न भएसँगै नयाँ संविधान कार्यान्वयनपछि महासभामा सम्बोधन गर्ने ओली पहिलो नेपाली उच्चस्तरीय नेता हुन् । मानवअधिकार परिषद्को सदस्यका रूपमा नेपालले म्यान्डेटअनुसार भूमिका निर्वाह गर्ने ओलीको भनाइ थियो । नेपालमा जारी संक्रमणकालीन न्याय प्रक्रियाले विस्तृत शान्तिसम्झौता तथा दिगो शान्ति अनि न्यायको धरातलीय यथार्थलाई सम्मान गरेको पनि उनले बताए । ‘मानवअधिकार तथा मानवीय कानुन उल्लंघनमा हामी दण्डहीनता संरक्षण गर्नेछैनौँ ।’

नेपालको संविधानले संघीय गणतान्त्रिक व्यवस्थाअन्तर्गत लोकतान्त्रिक परिपाटीलाई मजबुत बनाएको तथा जनताको स्वतन्त्रता र अधिकारको पनि प्रत्याभूति गरेको ओलीको भनाइ थियो । उनले समावेशी तथा समावेशी प्रतिनिधित्वसहितको संविधानले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, न्यायालयको स्वतन्त्रता सुनिश्चित गरेको पनि बताए । ओलीले निर्वाचनबाट ४१ प्रतिशत महिला निर्वाचित भएको र बाँकी ९ प्रतिशत सुनिश्चित हुने पनि ओलीको दाबी थियो । सम्बोधनअघि प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेसेससँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika)


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *