नेपाल पक्ष : नेतृत्व नसच्चिए जागरण अभियान

समाचार
शेयर गर्नु होला

 

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालनिकट केन्द्रीय सदस्यहरूले नेतृत्व नसच्चिए देशव्यापी जागरण अभियान चलाउने निष्कर्ष निकालेका छन् ।

‘पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले विधि र प्रक्रियाअनुसार पार्टी सञ्चालन गर्नेभन्दा पनि एकलौटी तरिकाले अघि बढ्न खोजेको देखियो,’ भेलाको संयोजनकर्तामध्येका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘नेतृत्व सच्चिएन भने देशभर सर्वसत्तावादी चरित्रविरुद्ध कार्यकर्ताहरूलाई सचेत र संगठित गर्नेे, सचिवालय र स्थायी समितिमा रहनुभएका नेताहरूलाई अडानका साथ बैठकमा प्रस्तुत हुन दबाब दिने, देशभर भ्रष्टाचार, कुशासनविरुद्ध आमजागरण पैदा गर्ने निष्कर्षमा पुगेका छौँ ।’ नेता नेपालले स्थायी समिति सदस्यहरूका लागि चियापान गरेलगत्तै शुक्रबार उपलब्ध केन्द्रीय सदस्यहरूको भेला भएको थियो ।

भेलामा नेपालसहित उनीनिकट स्थायी समिति सदस्य भने सहभागी थिएनन् । भेलामा उपलब्ध ५० केन्द्रीय सदस्य सहभागी थिए । उनीहरूले नेपालको पहलमा शुक्रबार सम्पन्न चियापानको सन्देश, त्यसले पार्टी पंक्तिमा पारेको प्रभावका साथै पार्टी एकताका सन्दर्भमा केन्द्रीय सचिवालयबाट भएको पछिल्लो निर्णयमा केन्द्रित रहेर छलफल गरेका थिए ।

भेलामा खतिवडासहित राजेन्द्रप्रसाद पाण्डे, डा।विजय पौडेल, विरोध खतिवडा, गंगालाल तुलाधर, ठाकुर गैरे, मेटमणि चौधरी, जयन्ती राई, ममता गिरी, सीता गिरी, गरिमा शाह, निरज आचार्यलगायत सहभागी रहेको स्रोतले जनाएको छ ।

भेलामा सहभागी अर्का केन्द्रीय सदस्य विरोध खतिवडाले पार्टीमा गतिहीनता देखिएकाले विधि, प्रक्रिया र मापदण्डानुसार छिटो एकता प्रक्रिया टुंग्याउन र पार्टीलाई विधिसम्मत सञ्चालनका लागि नेतृत्वलाई दबाब दिनुपर्ने परिस्थिति विकसित भएकाले छलफल आयोजना गरिएको प्रस्ट्याए ।

‘विधि, प्रक्रिया र मापदण्डानुसार पार्टी एकता छिटो सम्पन्न नहुँदा पार्टीमा गतिहीनता देखियो, सरकारको कामलाई पनि थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएकाले हामीले नेतृत्वलाई कसरी झकझक्याउने भनेर छलफल गरेका हौँ’ विरोधले भने,‘मुख्य कुरा पार्टी विधानसम्मत ढंगले सामूहिक नेतृत्व प्रणालीका आधारमा सञ्चालित हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’नयापत्रिका


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *