काठमान्डौ – ‘निर्मलाका लागि न्याय अभियान’ का समर्थकहरुले बिहीबार छापामार शैलीमा सिंहदरबारको दक्षिण गेट अगाडि जम्मा भएर केही बेर धर्ना दिएका छन् । निषेधित क्षेत्रमा पर्ने उक्त स्थानमा प्रदर्शकारीहरु योजनावद्ध रुपमा जम्मा भै एक्कासी गेट अगाडि पुगेर ब्यानर र प्लेकार्ड प्रदर्शन गर्न थालेका थिए ।
‘निर्मलाका निम्ति न्याय’ अभियानका अभियन्ताहरुले बिहीबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका छन् । स्वेच्छिक गिरफ्तारी गर्न आग्रह गर्दै निर्मलाका निम्ति न्यायको लागि उनीहरु सिंहदरबारको ढोका ढकढक्याउन पुगेका हुन् । ‘निर्मलाका निम्ति न्याय’का अभियन्ताले बिहीबार बिहान ११ बजे निषेधित क्षेत्र घोषणा गरिएको सो ठाउँमा प्रदर्शन गरेर धर्ना दिएका हुन्।
उनीहरूले गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्बेन्द्र खनालको राजीनामा माग्दै नारा लगाएका थिए । उनीहरुले आज दिउँसो २ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दैछन् ।
गेटमा सुरक्षाका लागि तैनाथ नेपाली प्रहरीलाई प्रदर्शकारी नियन्त्रणमा राख्न हम्मे–हम्मे परेको थियो । तर, केही समयपछि थप प्रहरी बल गेटमा पुगेपछि समर्थकहरु आफैं त्यहाँबाट हटेका थिए ।
निर्मलाका निम्ति न्याय माग्दै यस अघि पनि विभिन्न किसिमका विरोधका कार्यक्रमहरु भैसकेका छन् । साउन ११ गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन । दोषीलाई छिट्टै पहिचान गरी कारवाही गर्नुपर्ने माग राख्दै सरकारलाई दवाव दिन विभिन्न कार्यक्रम भैरहेका छन् ।