काठमान्डौ – दुई साता लामो अमेरिका भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार पाँच वर्ष चल्ने कुरामा ढुक्क हुन सबैलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताएका छन् । नेता नेपालसँग २९ सालदेखि मित्रता-घनिष्ठता रहेको भन्दै उनले ढुक्क हुन आग्रह गरे ।
अमेरिका भ्रमणबाट फर्किएका ओलीलाई त्रिभुवन अन्तर्ाष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले यही प्रश्न गरे । जवाफमा ओलीले नेता नेपालले संसदमा केके भन्नुभयो आफूलाई पूर्ण जानकारी नभएको बताए । उनले भने, ‘कवि मनले लयात्मक ढंगले केही भनिहाल्यो भने त्यसैलाई समातेर कुद्नु पर्ने छैन । पुराना गीत सम्झना हुनसक्छ ।’ प्रधानमन्त्री ओलीले एुटा हावा चल्यो पात हल्लियो भन्दैमा त्यसको पछाडि लाग्नु दृष्टिकोण नभएको राजनीति हुने बताए । ‘त्यस्ता राजनीतिको पछाडि कतिपय पक्ष कुदे भने मुद्दाहीनताको कुरामात्र देखिन्छ ‘ उनले भने ।
‘तपाईंहरुले सरकारको गति र लक्षण देख्नु भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार पाँच वर्ष चल्छ। पाँच वर्षमा चुनाव गराएर यो भन्दा बलियो भएर अाउन्छ। अलि बलियो भएर अाउन्छ। अब धेरै कुरा नगरौँ।’
प्रधानमन्त्री ओलीले सरकारले छोटो समयमा विकास निर्माणका कामलाई अगाडि बढाएको दाबी गरे। बजेट निकास भएको दुई महिनामै विकास भएन भन्नु गलत भएको उनको भनाइ छ। ‘विकास निर्माणका काम अगाडि बढेका छन्।
अहिलेको बजेटले साउन र भदौमात्र काम गरेको छ। बजेट निकासा भएको दुई महिनामै नेपाल गरिब भएको होइन’, प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘के नेपाल गरिब यो सात महिनामा भएको हो ? नेपालका बाटा सात महिनामा पिच नभएका हुन् ?’