प्रदेश ७ मा सरकार र प्रमुख प्रतिपक्षीबीच जुट्यो सहमति : ‘वातावरणीय अध्ययनपछि मात्रै राजधानी’
धनगढी — वातावरणीय अध्ययनपछि मात्रै गोदावरीमा राजधानीका लागि पूर्वाधार निर्माणका योजना अघि बढाउन सरकार र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच समझदारी भएको छ । कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सरकारले ऐनकानुनकै परिधिभित्र रहेर सबै कार्य हुने प्रतिबद्धता जनाएको बताएका छन् ।
गोदावरीमा राजधानी राख्ने निर्णयको विरोधमा कांग्रेसले लगातार प्रदेशसभा बैठक बहिष्कार गर्दै आएको थियो।
सरकारी प्रतिबद्धतापछि बैठक बहिष्कार नगर्ने निष्कर्षमा पुगेको रावलले बताए। ‘आगामी दिनमा हुने सबै निर्णय प्रमुख प्रतिपक्षसँग सहकार्य गरेरै अघि बढ्ने प्रतिबद्धता सरकारले जनाएको छ,’ उनले भने।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले आगामी दिनमा प्रमुख प्रतिपक्षी दलसँगै सहकार्य गरेर अघि बढ्ने समझदारी भएको बताए। ‘प्रमुख प्रतिपक्षीसँगको सहकार्यमै सबै काम गर्छौं,’ उनले भने, ‘ऐनकानुन र संविधानको मर्मविपरीत जाने कुरै हुँदैन।’
कांग्रेसले धनगढीमै स्थायी राजधानी कायम गर्नुपर्ने अडान राख्दै आएको थियो तर गत शुक्रबार सत्तारूढ दलका सांसदहरूको दुई तिहाई बहुमतबाट गोदावरीमा राजधानी र सुदूरपश्चिम नामकरणको प्रस्ताव पारित भएको थियो। आफूहरूको अनुपस्थितिमै गोदावरीमा राजधानी राख्ने निर्णय भएको भन्दै प्रमुख प्रतिपक्षी दल आक्रोशित भएको थियो।
प्रदेशसभा बैठकअघि भएको छलफलमा दुवै पक्षले हतारमा निर्णय भएको स्वीकार गरेका थिए। सत्तारूढ दलका नेताले राजधानीको निर्णय हुनुअघि धनगढी उपमहानगरका प्रमुखको अभिव्यक्तिले उत्तेजित बनाएको गुनासो पोखेका थिए। यता प्रमुख प्रतिपक्षी दलका नेताहरूले भने प्रतिपक्षीलाई पूरै बाइपास गरेर राजधानीको निर्णय गरिएको भन्दै गुनासो गरेका थिए।
बिहीबार मध्याहन २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक पनि कांग्रेस सांसदहरूले बहिष्कार गरेपछि दुई घण्टाका लागि स्थगित गरिएको थियो। दुवै पक्षबीच समझदारी भएपछि ४ बजेको बैठकमा भने सहभागी हुने निर्णय कांग्रेसले गरेको थियो। राजधानीको निर्णय भएयता कांग्रेसले लगातार तीनवटा बैठक बहिष्कार गरेको थियो।
बैठकको सुरुमा बोल्दै प्रमुख प्रतिपक्षी कांग्रेसका नेता रावलले राजधानीका लागि हाल तोकिएको गोदावरी अनुपयुक्त भएको दोहोर्याएका थिए साथै उनले दुई तिहाइका आडमा सरकारले प्रतिपक्षीको अनुपस्थितिमा समेत निर्णय लिनु संसदीय परम्पराविपरीत भएको बताएका थिए। सरकारले आगामी दिनमा सहकार्य गरेरै जाने प्रतिबद्धता जनाएकाले बैठकमा सहभागी हुने निर्णय गरेको उनले बताए।
रावलपछि सत्तारूढ नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले धारणा राखेका थिए। उनले कांग्रेसले पठाएका सदस्यसमेतको सहमतिबाट राजधानी गोदावरी राख्ने निर्णय भएकाले अहिले विरोध गर्नु अनुचित भएको बताएका थिए। ‘विगतकै जस्तो प्रतिपक्षीसँग सहकार्य गरेरै अगाडि जाने हाम्रो मनसाय हो,’ उनले भने। बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेस सहभागी नभए पनि राजपाका एकजना सांसद सहभागी भएकाले बैठक सञ्चालन भएको थियो।
खाडीका घरेलु कामदारको श्रमस्वीकृति फुकाउन संसद्लाई दबाब
काठमाडौँ — श्रम मन्त्रालयले खाडीमा कार्यरत घरेलु कामदारलाई पुन: श्रमस्वीकृति नदिँदा उनीहरु स्वदेश फर्कन नपाएको भन्दै संसदीय समितिको ध्यानाकर्षण गराएको छ । मन्त्रालयले संसदो उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सदस्यलाई बिहीबार जानकारी गराएको हो । खाडीमा कम्तीमा ५० हजार महिला घरेलु काममा छन् ।
‘अघिल्लो संसद्ले घरेलु कामदारलाई श्रम स्वीकृति नदिन निर्देशन दिएपछि रोकिएको छ । बिदामा आएका कामदारसमेत फर्कन पाएनन्,’ श्रममन्त्री गोकर्ण विष्टले भने, ‘यसमाथि समितिले गम्भीर समीक्षा गर्नुपर्छ ।’
संसदीय समितिले खाडीमा कार्यरत घरेलु कामदारको सुरक्षा नभएको भन्दै दुई देशबीच श्रम सम्झौता नभएसम्म घरेलु कामदारलाई श्रमस्वीकृति नदिन २०७३ चैत २० गते श्रम मन्त्रालयलाई निर्देशन दिएको थियो । पुन: काममा फर्कन नपाउने भएपछि कम्तीमा ५० हजार महिला स्वदेश आएका छैनन् । लामो समय श्रमस्वीकृति नखुलाइएपछि घरेलु कामदारले दूतावासमा गुनासो गर्दै आएका छन् । यसबारे दूतावासले मन्त्रालयको ध्यानाकर्षण गराएको छ । ‘श्रीमान्को मृत्यु हुँदासमेत महिला स्वेदश फर्कन नपाएको गुनासो आइरहेको छ,’ श्रम सचिव महेश दाहालले भने, ‘खाडीमा गएजति सबै महिलाले दु:ख पाएका छैनन् । पुन: काममा फर्कने–नफर्कने उनीहरुकै इच्छा हो । हामीले निर्णय गर्न सक्ने अवस्था छैन । संसदीय समितिमा यो बिषयले प्रवेश पाओस् ।’
समिति सदस्यहरुले घरेलु कामदारको विषय निकै जटिल भएको बताए । ‘यो जटिल विषय हो, छलफल गर्नुपर्छ । हचुवामा पुन: श्रमस्वीकृति दिने निर्णय गरे सरकारले जस पाउने छैन,’ सांसद एलपि साँवा लिम्बूले भने, ‘पहिला जाने बाटो सही थिएन । ब्यवस्थित बनाएर पठाउनुपर्छ ।’
महिला सांसदले वैदेशिक रोजगारीमा जानु महिलाको बाध्यता भएको भन्दै कानुनी रुपमा जान दिनुपर्नेमा जोड दिए । ‘गैरकानुनी रुपमा जानुभन्दा कानुनी रुपमा पठाउनु उत्तम हो,’ सांसद सरिता गिरी यादवले भनिन् । सांसद सुजाता परियारले अवैध रुपमा जाँदा महिलाले समस्या भोग्नुपरेको बताइन् । ‘महिलाहरू बाध्य भएर रोजगारीमा जाने हो । ब्यबस्थीत रुपमा पठाउनुपर्छ,’ उनले भनिन् । सांसद गोपाल बलले घरेलु कामदारलाई श्रम स्वीकृति दिनेबारे विस्तृत छलफल गर्नुपर्ने बताए ।
सरकारले खाडी तथा मलेसियासँग गरिने श्रम सम्झौताको खाका बनाएको छ ।
पार्टी र जनप्रतिनिधिबीच सम्बन्ध चिसियो : मुख्यमन्त्री गुरुङ
स्याङ्जा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनप्रतिनिधि र राजनीतिक दलबीच समन्वय नभएको गुनासो गरेका छन् ।
विकास निर्माणका काममा जनप्रतिनिधि र पार्टीबीच हातेमालो हुनुपर्नेमा अन्य राजनीतिक दललाई पाखा लगाउँदा जनप्रतिनिधिको उपलब्धी नदेखिएको बताए । वालिङ नगरपालिका–४ स्थित एलादी स्वास्थ्य चौकीको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङ्ले यसो भनेका हुन् । उनले भने, ‘पार्टी र जनप्रतिनिधि बीच सम्बन्ध चिसिँदै गएको छ । स्थानीय तहमा सचिवालयय बनाएर सम्बन्ध बिस्तार गर्नुपर्छ ।’
नेकपाको प्रदेश इन्चार्जको जिम्मेवारी पाएपछि पहिलोपटक स्याङ्जा आएका गुरुङ्ले स्थानीय तहका कार्यकर्तामा पार्टी नभए झैँ भान भएको टिप्पणी गरे ।
यसबाहेक गुरुङले दुई पार्टीबीचको एकता भएको एक वर्ष पुग्दा पनि पूर्णता नपाउनु दुखद् रहेको भनेका थिए । यहाँ स्वास्थ्य चौकी भवन १ करोड ४७ लाख ५० हजारको लागतमा निर्माण भएको हो । १६ कोठा भएको तीनतले उक्त स्वास्थ्य चौकीबाट यहाँका करिब १५ हजार स्थानीय नागरिकले सेवा लिनसक्ने अनुमान गरिएको छ।…….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post)
ढुक्क हुनुहोस् यो सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री ओली
दुई साता लामो अमेरिका भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार पाँच वर्ष चल्ने कुरामा ढुक्क हुन सबैलाई आग्रह गरेका छन्।
सत्ताको नेतृत्वकर्ता दलकै शीर्ष नेताले सरकारका कामको आलोचना गरेको र सरकार नै संकटमा परेको भन्दै आलोचना भएकोप्रति पत्रकारले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘तपाईंहरुले सरकारको गति र लक्षण देख्नु भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार पाँच वर्ष चल्छ। पाँच वर्षमा चुनाव गराएर यो भन्दा बलियो भएर आउँछ। अलि बलियो भएर आउँछ। अब धेरै कुरा नगरौँ।’
प्रधानमन्त्री ओलीले पात हल्लियो भनेर त्यसका पछाडि नदौडिनसमेत आग्रह गरे। ‘पात हल्लियो भने त्यसका पछि दौडिनु भएन’, ओलीले भने, ‘आजकाल मुद्दा भन्ने चलन छ। तर, मुद्दाहिनताको कुरा मात्र देखिन्छ। त्यो राजनीति होइन।’
प्रधानमन्त्री ओलीले सरकारले छोटो समयमा विकास निर्माणका कामलाई अगाडि बढाएको दाबी गरे। बजेट निकास भएको दुई महिनामै विकास भएन भन्नु गलत भएको उनको भनाइ छ।
‘विकास निर्माणका काम अगाडि बढेका छन्। अहिलेको बजेटले साउन र भदौमात्र काम गरेको छ। बजेट निकासा भएको दुई महिनामै नेपाल गरिब भएको होइन’, प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘के नेपाल गरिब यो सात महिनामा भएको हो ? नेपालका बाटा सात महिनामा पिच नभएका हुन् ?’…….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post )
वृद्धि गरिएको शुल्क नलिन आदेश
मङ्गलवारे, असोज १८ गते । इलामका निजी तथा आवासीय विद्यालयले चालू शैक्षिक सत्रमा वृद्धि गरेको शुल्क लिन नपाउने भएका छन् । न्यायाधीशद्वय वीरेन्द्रकुमार कर्ण र यमुना भट्टराईको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।
विराटनगर उच्च अदालत इजलास इलामले चालू शैक्षिक सत्रमा जिल्लामा बढाएको शुल्क नलिन बुधबार फैसला गरेको अदालतका उपरजिष्ट्रार विश्वजन सिंजापतिले जानकारी दिनुभयो । अदालतको फैसलाअनुसार निजी विद्यालयले बढेको शुल्क फिर्ता गर्नुपर्छ ।
निजी विद्यालयले शुल्क वृद्धि गरेको विरोधमा गत वैशाख ३१ गते अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), सङ्घीय विद्यार्थी फोरमले वृद्धि भएको शुल्क फिर्ता गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।
अदालतले गत जेठ ५ गते कुनै पनि निजी विद्यालयले बढेको शुल्क नलिनका लागि अन्तरिम आदेश जारी गरेको थियो । (रासस)……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra)
पुरानै स्वरुपमा फर्कदै मल्लकालीन एक मन्दिर
ललितपुर, असोज १८ गते । राणाकालमा स्वरुप परिवर्तन भएको मल्लकालीन एक मन्दिर फेरि पुरानै स्वरुपमा निर्माण हुने भएको छ ।
गाबहालस्थित भाइ देग (मन्दिर) झण्डै आठ दशकपछि पुरानै स्वरुपमा फर्काउन लागिएको हो । यो मन्दिर विसं १९९० को भूकम्पमा क्षतिग्रस्त बनेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । प्यागोडाशैलीको यो मन्दिर पहिले तीन तला थियो । मन्दिर क्षतिग्रस्त बनेपछि पुनःनिर्माणका क्रममा एक तला बनाइयो । अहिले फेरि पहिलेकै शैली र आकारमा फर्काउन लागिएको हो । उहाँले भन्नुभयो, “अहिले लामो समयपछि फेरि त्यही स्वरुपमा फर्कदैछ ।”
मन्दिर पहिलेको स्वरुपमा फर्काउनका लागि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अग्रसरतामा स्थानीय जुर्मुराएका हुन् । नेपालस्थित नर्वेली दूतावासले रु एक करोड सहयोग गर्ने सम्झौता भएको छ । ललितपुर महानगरपालिकाले रु ५० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कतिपय स्थानीयले समेत मन्दिर पुनःनिर्माणमा योगदान गर्दैछन् । काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटि) ले मन्दिर निर्माणमा प्राविधिक सहयोग गरिरहेको छ ।
सात दशक पहिलेको भगवान् महादेवको यो मन्दिर क्षतिग्रस्त बन्यो । यो मन्दिरलाई त्यतिबेला टालटुले काम मात्रै भयो । त्यतिबेलाका मानिसलाई मन्दिरको वास्तविक स्वरुप थाहा भए पनि युवापुस्ता धेरैलाई थाहा नभएको प्याकुरेलले बताउनुभयो । अहिले विस्तारै मन्दिरको वास्तविक शैलीका बारेमा विभिन्न आधार भेटिन थालेका छन् । कतिपय मन्दिरका भाग त्यति बेलाबाट अहिलेसम्म सुरक्षित छन् । मन्दिरका पुरानो तस्वीरले पनि अहिले रहेको स्वरुप पछि आएर परिवर्तन भएको प्रमाणित गरेको छ । उहाँले भन्नुभयो, “भेटिएका प्रमाणका आधारमा समेत पहिलेजस्तै बनाउन सहयोग पुगेको छ ।”
त्यतिबेला सजिलोको लागि स्वरुप बिगारेर पुनःनिर्माण भएको प्रमुख प्याकुरेलले बताउनुभयो । अहिलेजस्तो प्रविधि नहुनाले पहिले उपलब्ध स्रोतसाधन र जनशक्तिबाट नै काम भएको पाइन्छ । उहाँले भन्नुभयो, “त्यतिबेला भन्नासाथ बनाउनलाई आवश्यक कुरा जुटाउन सजिलो थिएन ।”
२०७२ को भूकम्पले गर्दा यो मन्दिरको पुनःनिर्माण पछाडि धकेलिएको हो । भूकम्पपछि सबैको ध्यान यहाँभन्दा पनि पाटन दरबार क्षेत्रका स्मारक र अरु स्मारकमा तानिएको प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयसम्म पनि यो मन्दिरको पुनःनिर्माण अन्योलमा थियो ।” अन्यत्रको पुनःनिर्माण अघि बढेसँगै अहिले यहाँको पुनःनिर्माणका लागि स्थानीय आफैँ तातेका छन् । स्थानीय तहले अघिल्ला वर्षमा थोरै बजेट छुट्टाउँदा काम धेरै काम हुन सकेको थिएन । यस वर्ष नगर प्रमुख चिरीबाबु महर्जनले मन्दिर पुनःनिर्माणका लागि रु ५० लाख दिने घोषणा गर्नुभएको छ । आर्थिक र प्राविधिक दुवै सहयोगले गर्दा पुनःनिर्माणले तीव्रता पाएको प्याकुरेलले बताउनुभयो ।
पछिल्लो समयमा मन्दिर पुनःनिर्माण धमाधम अघि बढेको केभिपिटिका देशीय निर्देशक रोहित रञ्जितकारले बताउनुभयो । पहिले काम शुरु भएर पनि बीचमा लामो समयसम्म अवरुद्ध भएको थियो ।
यो मन्दिर कहिले र कसले बनायो भन्ने यकिन छैन । पाटन दरबार क्षेत्रभन्दा केही दूरीमा रहेको यो मन्दिर दरबार क्षेत्रका धेरै मन्दिरजस्तै मल्लकालमा बनेको स्थानीय बताउँछन् । मल्लकालमा बनेका उत्कृष्ट संरचनामध्ये यो मन्दिरले छुट्टै विशेषता बोकेको छ । पाटन दरबार क्षेत्र र आसपासमा रहेका मन्दिरलगायतका पुनःनिर्माण भइरहेको छ । कतिपय स्मारकको जिम्मेवारी केभिपिटि, केहि नेपाल सरकार र केहि स्थानीयवासी आफैँले पनि लिएका छन् । (रासस)……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra )
दवामुलक संघर्ष समितिद्वारा प्रेसरकुकर जुलुस
बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको न्यायका निम्ति दवावमूलक संघर्ष समितिले प्रेसरकुकर जुलुस निकालेको छ । निर्मलाको शव फेला परेको दिनदेखि न्यायमा होमिएका हेलन श्रेष्ठ नेतृत्वको दवावमूलक संघर्ष समितिले बिहीबार प्रेसरकुकर जुलुस निकालेको हो ।
संर्घष समितिको संयोजक श्रेष्ठले सरकारलाई दवाव दिन र वास्तविक हत्यारा सार्वजनिक गर्न माग अघि सारेर प्रेसरकुकर जुलुस निकालेको बताए । उनका अनुसार जुलुसमा सहभागी महिलाले टाउकोमा प्रेसरकुकर राखेर महेन्द्रनगरमा प्रर्दशन गरेको थियो ।
गल्ली नम्बर १ देखि सुरु भएको जुलुस मदनचोक हुँदै बजार परिक्रममा गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मुल गेटमा पुगेर समापन भएको थियो । समितिका अगुवा महिलाले प्रहरीलाई अझै पनि निष्पक्ष छानबिन गरेर वास्तविक दोषीलाई सार्वजनिक गर्न खबरदारी गरेका थिए ।
जुलुसमा लुकेको हत्यारा बलात्कारीलाई खोजेर बाहिर ल्याउ भन्दै नाराबाजी गरेका थिए । बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेरै ज्ञापन पत्र बुझाएको संघर्ष समितिले निरन्तर आन्दोलन जारी राख्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला बलात्कारपछि हत्याकाण्डको न्यारोडाउन विधिबाट अनुसन्धान भइरहेको जनाएको छ ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ। / published in Todays Naya Patrika)
मोदी मंसिरमा जनकपुर आउँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मंसिरमा नेपाल भ्रमण गर्ने भएका छन् । जयनगर–कुर्था–बर्दिबास रेल्वेअन्तर्गत पहिलो खण्ड नेपाललाई हस्तान्तरण गर्न उनी १२ मंसिरमा नेपाल आउने योजना छ । यो भ्रमणमा उनी काठमाडौं भने आउने छैनन् ।
भ्रमणको तयारीका लागि भारतीय राजदूत मञ्जिबसिंह पुरीसहित दिल्लीबाट आएको एड्भान्स टोली बिहीवार जनकपुर जाँदैछ । कूटनीतिक स्रोतका अनुसार मोदी १२ मंसिरमा जनकपुर आएर १३ मा पटना फर्किने कार्यक्रम छ । प्रधानमन्त्री मोदी एकरात जनकपुरमै बस्ने सम्भावना भए पनि तय भइसकेको छैन ।
पाँच वर्षमा चार भ्रमण
मोदीले पाँच वर्षमा चारपटक नेपालको भ्रमण गरेका छन् । प्रधानमन्त्री बनेपछि उनी दोस्रो विदेश यात्राका रूपमा १९ र २० साउन ०७१ मा पहिलोपटक नेपाल भ्रमणमा आएका थिए ।
त्यसको चार महिना नपुग्दै १० मंसिर ०७१ मा सार्कको १८औँ शिखर सम्मेलनमा सहभागी हुन दुई दिने कार्यतालिकासहित नेपाल आए ।
उनी २८ वैशाख ०७५ मा नेपालको दुई दिने राजकीय भ्रमणमा आए । त्यतिबेला उनले काठमाडौं, जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए । बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि १४ भदौमा दुई दिने भ्रमणमा फेरि नेपाल आए ।
जयनगर–कुर्था रेल्वे खण्ड हस्तान्तरण गरिने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा नेपाली समकक्षी केपी ओलीलाई जयनगगर–जनकपुर–बर्दिबास रेल्वेको पहिलो खण्ड हस्तान्तरण गर्ने कार्यक्रम छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल्वे लाइन कात्तिकसम्म तयार हुँदै छ । दुई देशका प्रधानमन्त्रीले रेलमार्गको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रदेश २ सरकारका वरिष्ठ मन्त्री जितेन्द्र सोनलले भारतका प्रधानमन्त्री मोदीको भ्रमणबारे सुने पनि आधिकारिक च्यानलमार्फत जानकारी आइनसकेको बताए । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणका वेला सन् २०१० मा दुई सरकारबीच भारतले जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika)