आज का (शनिबार) पत्र-पत्रीका हरु का मुख्य समाचार हरु जस्ता को त्यस्तै (As Published in Todays News Papers)

फोटो फिचर विचार/ब्लग समाचार
शेयर गर्नु होला

 

यी हुन् नेकपाभित्र शीर्ष नेता विवादको खास कारण

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रीमतीको उपचारका लागि सिंगापुर उडे । दुवै अध्यक्ष मुलुकमा नभएको मौकामा वरिष्ठ नेता माधव नेपालले संसदमा सरकारको आलोचना गरे । लगत्तै राजधानीमा स्थायी समिति सदस्यहरूको भेला राखे ।

चार महिनाअघि केन्द्रमा भएको एमाले र माओवादीबीचको एकता प्रक्रियाले पूर्णता नपाउँदै एकता प्रक्रियालाई लिएर वरिष्ठ नेताहरूबीचको विवाद छताछुल्ल भयो । बिहीबार स्वदेश फर्केका प्रधाममन्त्री ओलीले आफ्नो अनुपस्थितिमा नेपालका गतिविधिप्रति संकेत गर्दै ‘मुद्दाविहीन राजनीति’ नगर्न सल्लाह थिए । ओलीले ‘कवि मन’ले केही भनिहाले पनि त्यसको पछि नकुद्ने बताउँदै एकता प्रक्रिया केही दिनमै टुंगो लाग्ने दाबी गरे ।

नेकपाभित्र शीर्ष नेताबीचको विवादको खास कारण के हो त ? नेताहरूका अनुसार पार्टीमा कसको वर्चस्व रहने भन्ने ‘छद्म लडाइँ’ हो यो । त्यसकै रिहर्सलका रूपमा प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूको एकतासम्बन्धी विवाद सतहमा आएको हो । चार महिनाअघिको एकताले उत्साह सिर्जना गरे पनि त्यसपछि अन्य काम अल्झिएका छन् । यसले कार्यकर्ताको उत्साह बिस्तारै मर्दै गइरहेको पार्टीका नेता बताउँछन् ।

एकता प्रक्रियामा सक्रिय भएका नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार नेताहरूले पार्टी एकता र कार्यकर्ताको भावना नै नबुझी आफ्नो ढंगले चल्न थालेका छन् । कमिटी प्रणाली बिर्सेर गलत निर्णय हुन थालेको उनको बुझाइ छ ।

‘एकतालाई एउटा ढाँचा र पद्धतिबाट टुंग्याउनुपर्ने हो,’ केन्द्रीय सदस्य सूर्य थापाले भने, ‘तर पार्टी सत्ता र राज्यसत्तामा को हावी हुने भन्ने स्वार्थको लडाइँ धेरै भइरहेको छ ।’ सहमतिअनुसार आउँदो दुई वर्षभित्र पार्टीको महाधिवेशन गर्ने भनिएको छ । त्यसका लागि आकांक्षीको सूची लामै छ । एकता गर्दा नै भावी अध्यक्ष आफ्नो भन्ने पुष्पकमल दाहालको दाबी छँदै छ । एमाले ठूलो पार्टी भएकाले त्यो धारकै नेतृत्व हुनुपर्छ भन्नेमा माधव नेपाल छन् ।

ईश्वर पोखरेल एमालेमा दुई पटक महासचिव भएको व्यक्ति अब नेतृत्व गर्ने भन्ने आकांक्षामा छन् । यी सबै नेताका आकांक्षाबीच ओली आफैंले पनि भावी नेतृत्व आफ्नो होइन भनेर कतै भनेका छैनन् । वामदेव गौतमले पनि ७० वर्षको उमेर हद लागू नहुने भन्दै छन् । पूर्वअध्यक्षसमेत रहेका झलनाथ खनाल ‘पहिले बिरामी थिएँ र विश्राम लिएँ, अब तन्दुरुस्त भएको छु, आफ्नो गुट बनाउँछु’ भन्दै हिँडेका छन् ।

त्यसैले भावी महाधिवेशनमा कसको नेतृत्व स्थापित हुने भन्ने कुरा अहिले प्रदेश र जिल्ला कमिटीको एकतासम्बन्धी निर्णयको धेरै प्रभाव रहन्छ । अहिले आफू अनुकूलको जिल्ला र प्रदेश नेतृत्वमा बढीभन्दा बढी व्यक्ति ल्याउनसके महाधिवेशनमा प्रभाव पर्न सक्छ जसलाई आधार बनाएर महाधिवेशनको नेतृत्व हत्याउन पाइन्छ भन्ने नेताहरूको सूक्ष्म गृहकार्य छ । अहिले केपी ओली र पुष्पकमल दाहालले गरिरहेको निर्णय र माधव नेपालका विरोधभित्र त्यस्तै स्वार्थ पनि हावी छन् । ‘आफ्नो मान्छेलाई मात्र अघि सार्ने, नेताको वरिपरि हुनेले पनि घेराबन्दी गरेर अवसर लिइहाल्ने जस्तो देखिएको छ,’ केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले भनिन्, ‘भोलि पार्टीले कस्तो शक्ति आर्जन गर्ने भन्नेतर्फ कम ध्यान दिएको देखिन्छ ।’

केन्द्रको एकता हुँदा एमाले र माओवादी भन्ने मनोविज्ञान थियो । एमाले र माओवादी पक्ष भन्दै भागबन्डा भयो तर तल्लो तहमा एकीकरण प्रक्रिया जब सुरु भयो, त्यसमा नेताहरूको भावी नेतृत्वको आकांक्षा टकराउन थाल्यो । त्यसले विवाद एमाले र माओवादी भन्ने मात्र सीमित रहेन, विभिन्न नेताको पक्षधरतामा विस्तार भयो । एमालेभित्र ओली र नेपाल पक्षको गुट हावी भयो ।

धेरै स्थानमा ओली पक्षले नेपाललाई निमिट्यान्न पार्न खोजेको गुनासो आयो । त्यही गुनासोको विस्तारित रूप हो नेता नेपालले पार्टीभित्र राखेका लिखित असहमति । ‘नेताहरूका आफ्ना कुरा केही होलान् तर एकताको मर्मलाई नेताहरूले बोकेर हिँड्नुपर्छ,’ स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘एकताले सबैलाई जोड्ने खालको वातावरण बनाउँदै लैजानुपर्छ ।’

तर शीर्ष नेताहरूको स्वार्थ टकराउँदा जिल्ला तहमा समेत विभाजनको रेखा कोरिइरहेको छ । यसले स्वाभाविक रूपमा नेतृत्वमा आउने व्यक्ति पाखा पार्ने अवस्था आएको छ । त्यस्तैमध्येका एक प्रतिनिधि हुन् अर्घाखाँचीका पूर्वएमाले सचिव रामबहादुर चौहान जो अहिले राजधानी आएर शीर्ष नेताहरूसमक्ष आफूलाई न्याय दिलाउन पुकार गरिरहेका छन् ।

पार्टीभित्र दोहोरो पद नदिने भन्ने मापदण्ड बन्यो । त्यसअनुसार जिल्लाका अध्यक्ष प्रदेश सांसद, उपाध्यक्ष प्रदेश संगठनमा बढुवा भएपछि तत्कालीन एमालेको सचिवका रूपमा चौहान वरिष्ठ थिए तर हाल पार्टीको कार्यदलले उनीभन्दा कनिष्ठ व्यक्तिलाई जिल्ला अध्यक्षको सिफारिस गर्‍यो ।

‘नेताहरूको गुट तल्लो तहसम्म विस्तार भएको छ र कसलाई ल्याउँदा आफूलाई फाइदा हुन्छ, त्यो हेरिएको छ,’ चौहानले भने, ‘स्वाभाविक रूपमा पार्टीको वरिष्ठतालाई उल्लंघन गरिँदै गइएको छ, कामका आधारमा होइन, नेतासँगको निकटताका आधारमा जिम्मेवारी पाउने अवस्था छ ।’ यो प्रवृत्ति अहिले तल्लो तहमा एकीकरण हुने अधिकांश जिल्लामा देखिएको उनको दाबी छ । तल्लो तहको नेतृत्वमा समेत माथिबाट नेताहरूको स्वार्थले काम गर्दा पार्टी कामले गति नै लिन सकेको छैन ।

विवाद र आक्रोशको पारो बढै जाँदा प्रधानमन्त्री केपी ओली १४ दिन लामो विदेश यात्राबाट फर्केलगत्तै शुक्रबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटारमा बोलाएर छलफल गरेका छन् । आफूहरूको अनुपस्थितिमा वरिष्ठ नेता माधव नेपालले व्यक्त गरेका असन्तुष्टिका विषयमा दुवै नेताले छलफल गरे । उनीहरूले पार्टी एकता प्रक्रियामा भइरहेका विवाद र असन्तुष्टिलगायत विषयमा छलफल गर्न आइतबारका लागि सचिवालयको बैठक बोलाएका छन् ।

……………( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

निर्मला हत्या प्रकरण : न्यायका लागि जो मृत्युको मुखमा पुगे

कञ्चनपुर — निर्मला पन्तको बलात्कार र हत्याका वास्तविक दोषी पत्ता लगाउनुपर्ने माग गर्दै चर्केको आन्दोलनमा भदौ ८ गते प्रहरीको गोली लागेर १ जनाको मृत्यु भयो । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा मृत्यु हुनेको नाम चेतन भट्ट भनेर आयो । धेरैले आफ्नो फेसबुकवालमा उनको तस्बिर राखेर श्रद्धाञ्जली दिँदै ‘अलबिदा चेतन’ पनि भन्न भ्याए ।

भदौ ८ गते प्रहरीको गोली लागेर घाइते भएका चेतन भट्ट । पाखुरामा गोली लागेपछिको घाउ देखाउँदै । तस्बिरः भवानी भट्ट

महेन्द्रनगरकै भृकुटी उच्चमाविका कक्षा ८ का विद्यार्थी चेतन निर्मलालाई राम्ररी चिन्थे । त्यसैले उनी सुरुदेखि आन्दोलनमा संलग्न थिए । भदौ ८ गते उनी महेन्द्रनगर बसपार्कको पूर्वपट्टी प्रदर्शनमा थिए । उनीसँगै पढ्ने २०/२५ जना विद्यार्थी पनि थिए । त्यहीबेला जिल्ला प्रशासन कार्यालयमा खटिएका प्रहरीले चलाएको गोली लागेर सनी खुना लगायतका व्यक्तिहरु घाइते भएका थिए । गोली चलेपछि भीड तितरवितर भयो ।

‘जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै हामी ५ जना साथी थियौं,’ चेतनले भने, ‘अचानक भेरो बायाँ पाखुरामा जोरले ढुंगा हानेजसरी दुख्न थाल्यो ।’ उनलाई गोली लागेको थाहै भएन । गोलीको छर्रा लागेका साथीभाईलाई सुरक्षित ठाउँतिर पुर्‍याउन लागे । जब रिंगटा लागेर आफैं ढले त्यसपछि मात्रै उनले गोली लागेको थाहा पाए ।

‘राजमार्गबाट तरकारी बजारसम्म आफैं हिडेर गएँ,’ चेतनले भने, ‘त्यसपछि एकजना आफन्त भेटिए, उनले नै अस्पताल पुर्‍याए ।’ अस्पतालमा चेतनका आमा बुबा र आफन्तहरु पुगिसकेका थिए । महाकाली अञ्चल अस्पतालमा प्रारम्भिक उपचार गरी उनलाई धनगढी रेफर गरियो । धनगढी जाने क्रममा चेतनलाई सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनहरुमा आएको उनको मृत्युको खबरबारे थाहा भयो ।

‘मलाई मेरो कान्छो बुबाले फेसबुक देखाउनुभयो- तेरो मृत्युको खबर यसरी आइरहेको छ भनेर,’ उनले भने । भोलिपल्ट केही पत्रपत्रिकामा समेत चेतनकै नाम छापिएको थियो । फोटो भने सनी खुनाको थियो । अर्को दिन उक्त खबर सच्याएर आएको चेतन सम्झिन्छन् । चेतनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय भित्रबाट चलाएको गोली लागेको हो । त्यस दिन मृत्यु भएका सनी खुनालगायतलाई भने जिल्ला प्रशासन कार्यालय नजिकैबाट चलाएको गोली लागेको उनले बताए ।

चेतनका बुबा पदमराज भट्ट निर्माण व्यवसायी हुन् । आमा पुनम गृहिणी । उनी प्राय बिरामी भइरहन्छिन् । ‘त्यतिबेला धेरैले फोन गरेर मलाई नै भने, तेरो त यस्तो खबर आयो,’ उनले भने, ‘कतिपय आफन्त त रुँदै फोन गर्थे, म नै बोलेपछि शान्त हुन्थे ।’

धनगढीस्थित सेती अञ्चल अस्पतालमा ५ दिन उपचारपछि चेतनलाई काठमाडौं लगियो । काठमाडौं शिक्षण अस्पतालमा पनि उनले ४ दिन उपचार गराए । अहिले उनको बायाँ पाखुरामा गोलीका छर्रा छन् । शिक्षण अस्पतालमा सुरुमा राम्रो उपचार भए पनि अहिले फलोअपमा जाँदा लापरबाही हुने गरेको उनले बताए । पाखुरामा रहेका छर्रा निकाल्न डाक्टरले अप्रेशन गर्नुपर्ने बताएका छन् । सरकारले घाइतेको सम्पूर्ण उपचार खर्च व्योहोर्ने भने पनि स्थानीय प्रशासनले फलोअपमा जाँदा लाग्ने टिकट तथा उपचार खर्च दिन नमानेको उनले बताए ।

‘अब आफैं टिकट काटेर आफ्नै खर्चमा उपचार गर्नुपर्छ भनेको छ,’ चेतनले भने, ‘टिचिङमा पनि सुरुकोजस्तो उपचार नहुने भएकाले अप्रेसन अर्को अस्पतालमा गर्ने सोच बनाएको छु ।’ उनको बायाँ हात पुरै झिनिनी गरेर दुखिरहन्छ । भित्र छर्रा भएकाले अप्रेसन नगरेसम्म यो समस्या निको नहुने भएकाले जतिसक्दो चाँडो अप्रेसन गर्नुपर्ने डाक्टरले सुझाव दिएको उनले बताए । गोली लागेको डेढ महिना भइसक्यो । अझै बलत्कारी………( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

बबई पुलमा बदमाशी : पप्पुका मालिकसहित १२ विरुद्ध ९० करोडको मुद्दा, कोविरुद्ध कति बिगो ?

 

नादिया मुरादको कथा : १९ वर्षमा यौनदासी, २५ वर्षमा नोबेल पुरस्कार

‘यस वर्षको नाेबेल शान्ति पुरस्कार कसले पाउला ?’ भन्दै संसारभर भएका अनुमानलाई गलत सावित गर्दै इराकको युद्धग्रस्त गाउँमा हुर्किएकी २५ वर्षीया युवतीले बाजी मारेकी छन् ।

अहिले गुगलमा सम्भवतः सबैभन्दा धेरैले खोजी गरिएको व्यक्ति यदी कोही भए उनै नादिया मुराद हुन् । उत्तरी इराकको कोजो गाउँदेखि अमेरिकाको संयुक्त राष्ट्रसंघ भेलासम्म उनको यात्रा संघर्ष र पीडाले मात्रै भरिएको छ ।

पछिल्लो समय त नादियाले आफूलाई मानव अधिकार अभियन्ताको रुपमा उभ्याइसकेकी छन् । तर छोटो समयमै उनले भोगेको पीडा र लामो यात्रा प्रेरणादायी पनि छ ।

सन् २०१४ को अगस्टमा नादिया १९ वर्ष मात्रै पुगेकी एक स्कुले छात्रा थिइन् । त्यसबेला उनले आफ्नै गाउँ कोजोमा इस्लामिक स्टेटको भयानक हमला देखिन् । त्यसबेला इस्लामिक स्टेटको हमलामा परी उनले आफ्नै परिवारका ६ जना दाजुभाइ र आमालाई गुमाउनु पर्यो ।

यही बेला पनि नादिया इस्लामिक स्टेटको अपहरणमा परिन् । इस्लामिक स्टेटको अपहरणमा परेका ६ हजार ७ सय भन्दा बढी अपहरित याजिदी महिलामध्ये नादिया एक थिइन् ।

नादियालाई मोसुल सहरमा यौन दासी बनाएर राखियो । नादियाले मिडियालाई दिएको अन्तरवार्ताअनुसार त्यसबेला उनलाई आततायी रुपमा पिटियो । चुरोटको ठुटोले ठोसियो । जब उनी भाग्न खोज्थिन् उनलाई बलात्कार गरिन्थ्यो । एक दिन उनको मालिकले ढोका खुल्लै राखेको समय पारेर नादिया त्यहाँबाट भागिन् ।

तीन वर्षपछि सन् २०१७ को जुन १ मा उनी आफ्नो गाउँ कोजो फर्किन् । त्यसपछि उनी उत्तरी इराक इराकको दुहोक शरणार्थी क्याम्पमा पुगिन् । फेब्रुअरी २०१५ मा नादिया बार्ङ्गा शरणार्थी क्याम्पमा बसिरहेको बेला केही पत्रकारलाई पहिलो पटक आफ्नो पीडादायी यथार्थ सुनाइन् । यस क्रममा सन् २०१५ मा जर्मन सरकारले प्रायोजन गरेको एक कार्यक्रमअन्तरगत यहाँका एक हजार पीडित तथा शरणार्थी महिलाका लागि नयाँ घर बनाइदिने भयो । यसको फाइदा नादियालाई पनि मिल्यो ।

सन् २०१५ डिसेम्बर १६ को दिन नादियाले यूएनको राष्ट्रिय सुरक्षा परिषदमा मानव बेचबिखन र द्धन्द्ध विषयमाथि आफ्नो धारणा राख्न पाइन् । र मानव बेचबिखनमाथि यूएनमा यही पहिलो बहस थियो ।

अब मुरादले एम्बेसडरको रुपमा विश्वभर र स्थानीय स्तरमा  शरणार्थी तथा मानवबेचबिखन विषयमा सम्बोधन गर्नेछिन् । संसारकै प्रतिष्ठित मानिने नोबेल शान्ति पुरस्कार पाउने दोस्रो कान्छी युवती हुन् नादिया ।

यौन हिंसा अन्त्यका लागि प्रयास गरेवापत सन् २०१८ मा नोबेल शान्ति पुरस्कार पाएकी हुन् । यस वर्षको नोबेल शान्ति पुरस्कार नादिया र कंगोका डेनिस मुकेगेले संयुक्त रुपमा पाएका हुन्।…….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post )

 

नाफा खोज्ने निजी एयरलाइन्सलाई उडानमा रोक

हुम्ला, असोज १९ गते । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् ।

एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँ, तिहारमा जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भएको छ । निजी एयरलाइन्सले उडानमा कमी ल्याएको भन्दै सिमकोट गाउँपालिकाको बिहीबार बसेको गाउँ सभाले दशैँ, तिहारजस्ता पर्वमा हुम्लाका लागि उडान नभरेमा निजी एयरलान्सलाई सधैँका लागि उडानमा रोक लगाउने निर्णय गरेको छ ।

हुम्लीहरू अहिले नेपालगञ्ज–सुर्खेतमा हवाईजहाजले कम उडान गर्दा यात्रु टिकटका लागि भौतारिरहेका छन् । कहिले महँगो भाडा, कहिले जहाज टिकट नपाउने यो हुम्लीको समस्या नयाँ होइन । बैठकले सिमकोट गाउँपालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी सञ्चाकर्मीलगायतको सोे निर्णय गरेको हो । रासस……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra)

 

ताइवानी पर्यटकको मृत्यु

सोलुखुम्बु, असोज १९ गते । लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कटेलले जानकारी दिनुभयो । सगरमाथा आधार शिविर घुम्न आएका च्याङकोबिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका– ४ स्थीत लबुचे मदर अर्थ भन्ने होटलमा आराम गरी बसैकै अवस्थामा मृत्यु भएको बताइएको छ । करीब ४५ वर्षीया च्याङ गत १३ गते नेपाल हाइटिङ टिम कम्पनी काठमाडौँमार्फत घुम्न आएका थिए । अहिले इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरीको टोली हेलिकप्टरमार्फत घटनास्थलमा पुगिसकेको बताइएको छ । आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौँ पठाइने छ ।  (रासस) ……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra )

 

शान्ति प्रक्रिया बुझ्न अफगानिस्तान र म्यानमारको टोली काठमाडौंमा

अफगानिस्तानको शान्ति परिषद टोली नेपाल आएर फर्केको तीन साताभित्र म्यानमारको शान्तिवार्ताको टोली नेपालको शान्ति प्रक्रियाको बारेमा बुझ्न काठमाडौं आइपुगेको छ । टोलीले शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुन र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शान्ति प्रक्रिया बारे बेग्ला बेग्लै छलफल गरेको छ । यसअघि, असोज अन्तिम साता अफगानिस्तानको टोली काठमाडौं आएको थियो ।

नेपालको शान्ति प्रक्रियाको अध्ययन गर्न म्यानमारको ‘ज्वाइन्ट मनिटरिङ कमिटि यूनियन लेभल अन सिजफाइर’को टोलीसँग उपराष्ट्रपतिले भने, ‘म्यानमारको शान्ति प्रक्रियामा प्रगति भइरहेको सुन्दा खुसी लाग्यो । त्यहाँको शान्ति प्रक्रियामा सघाउन परे हामी तयार छौँ ।’ म्यानमारमा युद्ध विरामपछि त्यसको अनुगमन गर्न गर्न बनेको टोलीमा सेना, विद्रोही सेना र नागरिक समाजका प्रतिनिधि सहभागी छन् । यही टोली अहिले आएको हो ।

उपराष्ट्रपति पुनले म्यानमारको शान्ति प्रक्रिया सफलताको शुभकामना दिएका छन् । पुनका प्रेस संयोजक मनोज घर्ती मगरका अनुसार पुनले म्यानमारमा जारी युद्ध विराम स्थायी शान्तिमा परिणत हुने अपेक्षा गर्दै आवश्यक परे शान्ति प्रक्रियामा नेपालले सहयोग गर्ने आश्वासन दिएका छन् ।

‘सरकार र सेना जिम्मेबार बनोस’

शान्ति प्रक्रिया सफल राज्यपक्ष बढी जिम्मेवार हुनु पर्ने उपराष्ट्रपति पुनले बताए । उनले भने, ‘म्यानमारको शान्ति प्रक्रियाका लागि स्वभावैले त्यहाँको सरकार र सेना बढी जिम्मेवार हुनु पर्दछ भन्ने मलाई लाग्छ ।’

उपराष्ट्रपतिले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना भएको तथा नेपालको द्वन्द्व राजनीतिक एजेण्डामा भएकाले शान्ति प्रक्रियालाई सफल पार्न सहज भएको बताए । ‘हामी दाबाका साथ भन्न सक्छौँ कि नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना हो ।

नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकताको रह्यो’, उपराष्ट्रपति पुनले भने, ‘नेपालको शान्ति प्रक्रियाबाट म्यानमारले सिक्न सक्छ । तर, मेरो सुझाव छ, म्यानमारले आफ्नो मौलिकतामा शान्ति प्रक्रिया पूरा गरोस ।’ उपराष्ट्रपतिसँगको भेटमा म्यानमारको ‘ज्वाइन्ट मनिटरिङ कमिटि यूनियन लेभल अन सिजफाइर’का प्रमुख लेफ्टिनेन्ट जनरल यर प्याईले म्यानमारमा युद्ध विराम रहेको र स्थायी शान्तितर्फ अग्रसर रहेको बताए ।

म्यानमारमा रहेका विभिन्न २१ वटा सशस्त्र समूहमध्ये १० वटा वार्तामा आएको ११ वटा वार्तामा नआए पनि युद्ध विराममा रहेको बताएका थिए । सरकार, वार्तामा रहेको सशस्त्र समूह र नरहेको समूहबीच वार्ता भइरहेको उनको भनाई थियो । ‘हामी अक्टुबर १५ मा युद्ध विरामको तेस्रो वर्षगाँठ बनाउँदैछौँ ।

सरकार र द्वन्द्वरत समूहबीच ५७ बुँदामा सहमति भईसकेको छ । केही बुँदामा सहमतिको प्रयास जारी छ,’ लेफ्टिनेन्ट जनरल प्याईले भने ‘झण्डै ७० वर्षदेखिको द्वन्द्व समाधान तर्फ छौँ ।’ उनले नेपालको नमुना योग्य शान्ति प्रक्रियाबाट म्यानमारले धेरै सिक्न चाहेको बताए । ‘नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमूना योग्य हो, त्यही भएर यहाँको शान्ति प्रक्रिया बारे अध्ययन गर्न आएका हौँ,’ उनले भने ।

अफगानिस्तानी टोलीले के गर्‍यो ?

भदौ अन्तिम साता अफगानिस्तानको हाइ पिस काउन्सिलकाको उच्चस्तरीय प्रतिनिधि मण्डल काठमाडौं आएर राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको थियो ।

काउन्सिलका उपप्रमुख डा. हबिबा साराबी नेतृत्वको उच्च शान्ति परिषदको प्रतिनिधि मण्डलले शान्ति प्रक्रिया र त्यसपछिको परिस्थितिबारे छलफल गरेको थियो । अफगानिस्तानमा ४० वर्षदेखि शान्ति प्रक्रिया आरम्भ भएको तर, टुंगोमा नपुगेको अनुभव उनीले सुनाए ।

काउन्सिलका उपप्रमुख साराबीले नेपालको शान्ति प्रक्रियाबाट सिक्नका लागि आफूहरु नेपाल भ्रमणमा आएको बताएकी थिइन् । उनको भनाई थियो, ‘नेपालको शान्तिप्रक्रिया साँच्चीकै विश्वका लागि उदाहरणीय रहेछ ।’ हमिद कारजाई राष्ट्रपति हुँदा गठन भएको काउन्सिल अहिले शान्ति प्रयासमा सक्रिय छ ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ। / published in Todays Naya Patrika)

 

सवारी चालक अनुमति पत्र नदिएको भन्दै बहिरा नागरिक आन्दोलित

सवारी चालक अनुमति पत्र सरकारले नदिएको भन्दै बहिरा नागरिकहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई तत्काल सवारी चालक अनुमति पत्रको व्यवस्था गर्न माग गर्दै बहिरा नागरिकहरुले शुक्रबार बिहान काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका हुन् । २०६१ सालदेखि सवारी चालक अनुमति पत्र दिन सरकारको विभिन्न निकायमा गरिएको आग्रह सुनुवाई नभएपछि आफूहरु सडक आन्दोलनमा गर्न बाध्य हुनु परेको राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारीले जानकारी दिए । महासंघले सवारी चालक अनुमति पत्र पाउनुपर्ने आफूहरुको माग तत्काल सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

महासंघले २०६१ साल पुस ९ गतेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागसँग पटक–पटक सवारी चालक अनुमति पत्र दिन माग गर्दै आएपनि त्यसलाई सरकारले बेवास्ता गरेपछि सडक आन्दोलन सुरु गरेको हो ।

‘म बहिरा, सवारी साधन चलाउन नपाउने ?’ लेखिएको प्लेकार्डसहित शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका उनीहरुले चालक अनुमति पत्र अब पनि नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । उनीहरुले ५ सय भन्दाबढी बहिरा नागरिकहरु सवारी चलाउन सक्ने भएपनि सरकारले चालक अनुमति पत्र नदिएर अप्ठयारोमा पारेको गुनासो पनि गरेका छन् । अध्यक्ष अधिकारीले सवारी चालक अनुमति पत्र तत्काल उपलब्ध गराउन र त्यसका लागि आवश्यक परे छलफलका लागि बोलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika)


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *