आज का (सोमबार) पत्र-पत्रीका हरु का मुख्य समाचार हरु जस्ता को त्यस्तै (As Published in Todays News Papers)

फोटो फिचर विचार/ब्लग समाचार
शेयर गर्नु होला

 

एसईईको फाराम अनलाइनबाटै

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्ेरसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्नेछन् ।

‘आफू पढेको विद्यालयबाट विद्यार्थीले फाराम भर्न सक्नेछन्,’ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक रामशरण सापकोटाले भने, ‘फाराम विद्यार्थीले नभई विद्यालयले नै भराउनुपर्छ ।’

यसका लागि परीक्षा बोर्डको वेबसाइटमा फाराम राखिएको छ । विद्यालयले कक्षा ९ र १० का विद्यार्थीको फाराम सोही वेबसाइटबाट भराउन सक्ने कार्यालयले जनाएको छ । यसअघि विद्यालयले भरेका फाराम जिल्लास्थित शिक्षा, विकास तथा समन्वय इकाइको कार्यालयमा बुझाउनुपर्ने प्रावधान थियो । अनलाइनमार्फत फाराम भराउन नसक्ने विद्यालयले पहिलेजस्तै विद्यार्थीबाट कागजी फाराम भराएर इकाइ कार्यालयमार्फत बुझाउनुपर्ने सापकोटाले बताए ।

बोर्डले अनलाइनबाट फाराम भराउने कामलाई व्यवस्थित गर्न ७ वटै प्रदेशमा अभिमुखीकरण तालिम सञ्चालन थालेको छ । जिल्लास्थित इकाइका परीक्षा शाखाका कर्मचारीलाई तालिम पनि दिइने बोर्डले जनाएको छ । ‘अनलाइनबाट फाराम भराउन नसक्ने विद्यालयलाई फाराम वितरण गर्छौं,’ सापकोटाले भने, ‘देशभर फाराम छपाएर पठाएका छौं ।’

गत भदौ २९ गते परीक्षा नियन्त्रण कार्यालय खारेज भएपछि पहिलोपटक राष्ट्रिय परीक्षा बोर्डले एसईईका लागि रजिस्ट्ेरसन र परीक्षा आवेदन फाराम भराउन लागेको हो । कक्षा ९ मा पढदै गरेका विद्यार्थीले रजिस्ट्रेसन भरेपछि २०७६ सालको एसईईमा सहभागी हुनेछन् भने कक्षा १० का विद्यार्थीले २०७५ चैतमा हुने परीक्षामा सहभागी हुन आवेदन फाराम भर्नुपर्ने हुन्छ । करिब १० लाख विद्यार्थी यी दुई फाराम भर्ने तयारीमा छन् ।

शिक्षा मन्त्रालय र बोर्डको विवादका कारण असारभित्रै भरिसक्नुपर्ने फाराम विद्यार्थीले अहिलेसम्म भर्न पाएका थिएनन् । सहमतिपछि बोर्डले फाराम भर्न/भराउन आइतबार सार्वजनिक सूचना प्रकाशित गरेको छ । मंसिर ७ गतेभित्र दुवै फाराम भरिसक्नुपर्ने छ । विद्यार्थीबाट लिने परीक्षा शुल्क बोर्डको राजस्व खातामा जम्मा गर्ने कि सरकारको खातामा जम्मा गर्ने विवाद थियो ।

चैतमा हुने एसईई परीक्षाका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरिसकेकाले सरकारकै खातामा राजस्व जम्मा हुने सहमति भएको हो । आगामी वर्षदेखि बोर्डकै राजस्व खातामा जम्मा गरिने प्रावधान लागू गरिनेसमेत सहमति भएको छ । एसईई परीक्षा सञ्चालनका लागि सरकारले ५३ करोड बजेट छुट्याएको छ ।।……………( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

जनताको अभिभारालाई विश्वासघात गर्न सक्दिनँ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले देशमा सुशासन र विकासका लागि जनताले दिएको अभिभारा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । पत्रकार शुभशंकर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’ विमोचन समारोहलाई आइतबार सम्बोधन गर्दै उनले भने, ‘जनताले देश बनाउन बहुमतसहित स्थायी सरकार दिएका छन् । त्यस अभिभारालाई म विश्वासघात गर्न सक्दिनँ ।’

नेकपाका अध्यक्षसमेत रहेका ओलीले आफू नेतृत्वको सरकारले पाएको बहुमत कुनै भवितव्यमा नआएको बताए। उनले पहिल्यैदेखिको तयारी र योजनाका कारण यो सरकारले बहुमत पाएको प्रस्ट्याए। ‘म बहुमतको सरकारको नेतृत्व गरिराखेको छु। यो अवसर त्यत्तिकै भवितव्यले आएको होइन, साथीहरु र जनताको विश्वासले हो।’ उनले चुनाव अगाडिदेखि नै तयारी गरेकोले एमाले–माओवादीलाई बहुमत पाएको उल्लेख गरे। यी दुई पार्टीबीच गत जेठमा एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको हो।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने प्रतिबद्धता समेत दोहोर्‍याएका छन्। उनले आफूबाट इमान्दारिताका साथ काम सुरु भएपछि अन्यत्र बेइमानी नहुने विश्वास व्यक्त गरे। ‘कहींकहीं लुकेर भ्रष्टाचार, बेइमानी चल्ला तर थाहा भएपछि ठीक हुँदैन’, उनले भने, ‘समय लाग्ला तर विकृति रोक्न सकिन्छ, रोकिन्छ।’

देश प्रतिगमनतिर जान लागेको कुरा निरर्थक रहेको प्रधानमन्त्री ओलीले बताए। उनले दसकौंसम्मको संघर्ष र जनआन्दोलनबाट स्थापित लोकतन्त्र कसैले खोस्न नसक्ने बताए। सरकार लोकतान्त्रिक प्रणालीभित्र रहेको र त्यही प्रक्रियाबाट अगाडि बढ्ने उनको भनाइ थियो।

सरकार गठन भएको करिब ७ महिनामा संविधान कार्यान्वयनका लागि प्रदेश संरचना निर्माण, विभिन्न कानुनहरुबनाउने र संशोधनका काम गरिएको उनले बताए।

नेपालमा सशस्त्र संघर्ष, रुपान्तरण र एमाले–माओवादी एकताका विषय समेटिएको पुस्तक विमोचन कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता शेखर कोइराला लगायतको उपस्थिति रहेको थियो।………( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

 

सिके राउत रौतहटबाट पक्राउ

 

कक्षाकोठामै बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

बनेपा : काभ्रेको बेथानचोक गाउँपालिकाको कालिका माविमा अध्यनरत दुई बालिकालाई सोही विद्यालयका शिक्षकले बलात्कार गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ।

कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुई बालिकालाई ललाई फकाई र धम्काएर निरन्तर एक वर्षदेखि कक्षा कोठामै बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रेले  सोही विद्यालयका शिक्षक शंकर पहरीलाई पक्राउ गरेको हो।

बालिकालाई लोभ, डर, धम्कीमा कक्षा कोठामै बलात्कार गर्ने, यौन अंग खेलाउने, सुमसुमाउने गरेको पीडित बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

जाहेरीमा कक्षाकोठामा अन्य साथीलाई गृहकार्य गर्न लगाउने र उक्त बालिकालाई अन्तिम बेन्चमा राखेर यौन अंगमा औलाले चलाउने घुसारर्ने गरेको बालिकाले बताएकी छन्।

गत असोज १० गते  दिउँसो खाजा खाने समयमा कक्षामा कोही नभएको मौका छोपी सरले काखमा राखी पिसाब फेर्ने ठाउँमा सरको पिसाब फेर्ने  छिराएको र दुखेर घरमा गएर आमालाई भनेपछी घटना बारे थाहा पाएको पीडित बालिकाकी आमाले बताइन्।

‘छोरीको सँगैसँगै अर्की बालिकालाई पनि त्यस्तै गरी  बलात्कार गर्ने गरेको रहेछ, छोरीले भनेपछि थाहा पाएर पीडित बालिकाको आमालाई भन्दै प्रहरीमा जाहेरी दियौँ’, उनले थपिन्, ‘असोज १६ गते घरमा राति खाना खाने क्रममा मलाई र मेरो साथीलाई शंकर सरले पिसाब फेर्ने ठाउँमा गरेको भनेपछि हेर्दा रातो र सुनिएको देखेपछि मैले प्रहरीमा जाहेरी दिएँ।’

आरोपित शिक्षकले बालिकालाई कसैलाई भनेमा सबैको अगाडि पिट्ने धम्की दिएर कक्षा चारदेखि नै यौन अंग चलाउने गरेको बालिकालाई उद्धृत गर्दै आमाले बताएकी छन्।

आरोपित शिक्षक पनौती नगरपालिका १० खोपासीमा बस्दै आएका छन्। आरोपित शिक्षक सामाजिक तथा नैतिक विषय बढाउने गर्थे। पीडितको जाहेरीका आधारमा शिक्षकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

आरोपितमाथि अनुसन्धान सुरू भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका एसपी रविराज खड्काले जानकारी दिए।  उनका अनुसार अदालतबाट अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप भएको छ। …….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post )

 

पत्रकारको न्यूनतम परिश्रमिक २५ प्रतिशत वृद्धि, गोरखापत्रको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारी नियुक्त

काठमाडौँ, असोज २१ गते । सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार÷कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गरेको हो ।

आगामी काक्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । श्रमजीवी पत्रकारले हाल न्यूनतम १९ हजार ५०० पारिश्रमिक पाउदैँ आएका थिए । मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायलाई तीन दिने स्पष्टिकरण सोधिएको र संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिनुभएको राजिनामा बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले बताउनुभयो ।

सात सदस्यीय कार्यदल गठन

आजको मन्त्रिपरिषद् बैठकले उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखी सात सदस्यीय कार्यदल गठन गरेको छ ।

राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा, उखु उत्पादक संघ, चिनी उत्पादक सङ्घ, उपभोक्ता हित संरक्षणसम्बन्धि संस्था तथा उद्योग, अर्थ र कृषि मन्त्रालयका सह–सचिव रहेको कार्यदल गठन गरिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट ऊर्जा क्षेत्रमा लगानी बढाउने कार्यका लागि ऋण स्वरुप रु ११ अर्ब ६३ करोड स्वीकृत गर्नको लागि अर्थसचिवलाई अख्तियारी प्रदान गरेको छ ।

जापान सरकारले सिन्धुली सडक सुधारका लागि प्रदान गर्ने रु एक अर्ब चार करोड स्वीकृत गर्दै बैठकले नागरिक लगानी कोषको सञ्चालकमा डा रामचन्द्र भट्टराईलाई मनोनयन गरी सञ्चालक समितिको अध्यक्ष तोक्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संयुक्त राष्ट्रसंघको ७३औँ महासभा, उक्त महासभामामा सहभागी विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखसँग गर्नुभएको दुइपक्षीय भेटवाता र आपसी सम्बन्ध विस्तारबारे भएको पहल तथा कोस्टारिका भ्रमणबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले जानकारी गराउनुभएको थियो । आजैको मन्त्रिपरिषद् बैठकले नेपाल प्रज्ञा प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती र सदस्यसचिवमा प्रा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरेको थियो । (रासस)……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra)

 

गल्ती गर्ने प्रहरीलाई कारवाही हुन्छ – महानिरीक्षक खनाल

काठमाडौँ, असोज २१ गते । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताउनुभएको छ ।

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आज यहाँ आयोजित समापन कार्यक्रममा उहाँले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । “ सङ्गठनभित्र गल्ती गर्नेलाई कारवाही नगरेसम्म प्रहरी सङ्गठन राम्रो हुँदैन”, उहाँले भन्नुभयो ।

महानिरीक्षक खनालले नेपाल प्रहरीको मान, सम्मान, इज्जत प्रतिष्ठालाई अगाडि बढाउनका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्छ भन्नुभयो । “लोभ, लालच नगरी हरेक नागरिकको दिलमा बस्ने गरी काम गर्नुपर्छ,”उहाँले भन्नुभयो ।

महानिरीक्षक खनालले प्रहरीभित्रको सञ्चालन हुने खेलकूद गतिविधिलाई सबै प्रदेशमा लैजान आफूले प्रहरी प्रधान कार्यालयबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको स्पष्ट पार्नुभयो । नेपाल प्रहरीमा लागेर खेल खेल्ने खेलाडीको भविष्य उज्वल रहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातले नेपाल प्रहरीले खेललाई प्राथमिकता दिएको बताउनुभयो । प्रहरीभित्र खेलाइने खेलले राष्ट्रिय खेलको विकासमा समेत मद्दत पुग्ने उहाँको भनाइ थियो । असोज १७ देखि सञ्चालन भएको खेल आज सकिएको हो ।

कूल १० टोली रहेको उक्त खेलमा ५ नं प्रदेश प्रहरी कार्यालय दाङले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३–२ को सेटले हराएको थियो । प्रतियोगिताको प्रथम टिमलाई रु ५० हजार, प्रमाणपत्र र मेडल, दोस्रो टिमलाई रु ३५ हजार, प्रमाणपत्र र मेडल तथा सर्वोत्कृष्ट खेलाडीलाई रु दश हजार नगद प्रदान गरिएको थियो । (रासस)……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra )

 

निर्मला बलात्कार-हत्या प्रकरणबारे प्रहरी अनुसन्धान विश्वसनीय भएन : मानवअधिकार

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याबारे प्रहरीले गरेको अनुसन्धान विश्वसनिय नभएको राष्ट्रिय मानवअधिकार आयोगले ठहर गरेको छ । घटनाबारे वैज्ञानिक तरिकाले अनुसन्धान गरी दोषी पक्राउ गर्न मानअधिकार आयोगले निर्देशन दिएको छ ।

आयोगले संविधानको धारा १६ मा व्यवस्था भएको सम्मानपूर्वका बाँच्न पाउने हक तथा धारा २१ को उपधारा २ बमोजिम क्षतिपूर्तिको व्यवस्था गरी पीडित परिवारकाे न्याय पाउने हक शीघ्र सुनिश्चित गर्न सरकारलाई दिर्नेशन दिएको छ ।

आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘बलात्कार एवं हत्याको घटना घटिसकेपछि अनुसन्धानलाई उच्च प्राथमिकता दिइ कायै गर्नुपर्ने, नेपाल प्रहरीले गरेको अनुसन्धानमा सुक्ष्मतम वैज्ञानिक परीक्षण र विश्वसनीयता नहुँदा आम मानिस तथा पीडित परिवारमा बढेको निराशा र विश्वसनीयता माथि प्रश्न चिन्ह खडा भएको छ । यस्तै आयोगले सरकारलाई ८ बुँदे निर्देशन पनि दिएको छ ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ। / published in Todays Naya Patrika)

 

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा उप्रेती नियुक्त

सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा. गंगाप्रसाद उप्रेतीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री एवम् प्रतिष्ठानका प्रमुख संरक्षक केपी ओलीले उप्रेतीलाई पुनः नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त गरेका हुन् ।

उप्रेतीले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री ओलीले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा एक कार्यक्रमका बीच उप्रेतीलाई पद तथा गोपनियताको सपथ खुवाए ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानको सदस्यमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरेका छन् । उपाध्यायलाई प्रतिष्ठानका कुलपति उप्रेतीले पद तथा गोपनियताको सपथ गराए । सपथग्रहण समारोहमा ओलीले प्रतिष्ठानको गरिमालाई उच्च बनाउँदै देश र जनताको हित हुने गरी नेपाली भाषा, कला, साहित्य र संस्कृतिको उत्थानमा लाग्न निर्देशन दिए । सबै विधालाई समेटेर प्रतिष्ठानका अन्य पदाधिकारी छिटै नियुक्त गरिने उनले बताए ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *