अनुगमन तीव्र पार्दै प्रदेश सरकार

समाचार
शेयर गर्नु होला

काठमान्डौ

उपभोक्ता ठगिएको गुनासा बढेपछि सरकारले बजार अनुगमन तीव्र बनाउने भएको छ । सहरी क्षेत्र तथा राजमार्ग आसपासका बजारमा खाद्यान्नलगायत उपभोग्य वस्तुमा मनपरी मूल्य तथा गुणस्तरहीन वस्तुहरूको बिक्री गरिरहेकोे गुनासा बढेसँगै बजार अनुगमन गर्ने भएको हो । स्थानीय तहहरूले बजार अनुगमनमा चासो नदिएपछि प्रदेश सरकारले चाडपर्वलक्षित बजार अनुगमन गर्न लागेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तीन सदस्यीय कार्यदल पनि अाइतबारबाट बजार अनुगमनमा जाने भएको छ । मन्त्रालयका सचिव धनञ्जय पौडेलका अनुसार कार्यदलका सदस्यहरू बजारमा जाने र मूल्यदेखि गुणस्तरसम्मको अनुगमन गर्नेछ । सामानको नमुना संकलन गरी चेकजाँचको प्रक्रियामा लैजाने पनि उनले बताए । चाडपर्वलक्षित यस छड्के चेकजाँचले उपभोक्ता ठगिनबाट रोक्न मद्दत मिल्ने मन्त्रालयले विश्वास लिएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च रूपन्देहीका उपाध्यक्ष तेजकुमार पाठकले विक्रेता तथा उपभोक्ता दुवैमा सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । बजार अनुगमन नहुँदा उपभोक्ता ठगिएको उनको भनाइ छ । बजारमा पाइने खाद्यान्नमा मिति सकिएका भेटिएको उनले बताए ।

स्थानीय सरकारहरू बढी सक्रिय हुनुपर्नेमा त्यस्तो नपाइेको उनले बताए । ‘दूधदेखि मासुसम्मका गुणस्तरहीन खाद्यान्न बजारमा बिक्री भैरहेको गुनासा छन्, तर त्यता अनुगमन तीव्र पारिएको छैन,’ उनले भने, ‘उपभोक्ता ठगिने गरी बजार अस्तव्यस्त बनाइनुहुँदैन, अनुगमन तीव्र पारिनुपर्छ ।’

चाडपर्वका समयमा उपभोक्ताले बढी उपभोग्य वस्तुहरू खरिद गर्ने हुँदा ठगिने क्रम पनि बढ्दो छ । कतिपय स्थानीय तहले बजार अनुगनमा सक्रियता देखाए पनि अधिकांशले बेवास्ता गरेको पाइेको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नियमित रूपमा बजार अनुगमन गरेको छ ।

मुलुकको संघीय संरचनाअनुसार स्थानीय तहलाई प्राप्त अधिकारको प्रयोग गरी नगरपालिकाले निर्देशिका नै निर्माण गरेर बजार अनुगमनको कामलाई नियमित गरेको छ । अनुगमनका क्रममा टोलीले दर्ताविना सञ्चालनमा रहेका व्यपार–व्यवसायलाई दर्ता हुन, होटेल तथा रेस्टुरेन्ट, मिष्ठान्न भण्डार, मासु पसललाई सरसफाइमा विशेष ध्यान दिन, ढक–तराजुलाई ठीक तरिकाले प्रयोग गर्न सुझाएको अनुगमनमा सहभागी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।यो खबर आजको नया पत्रिका मा छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *