काठमान्डौ
३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्स (युएई) बाट पक्रेर नेपाल ल्याएको छ । श्रेष्ठलाई अाईतबार नेपाल ल्याइेको हो ।
अन्तर्ाष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेका श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको हो । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइने केन्द्रीय प्रहरी प्रवक्ता डिअाइजी शैलेश थापा क्षेत्रीले बताए ।
उनीविरुद्ध गत वैशाखमा फरार अभियुक्तका रूपमा मुद्दा दायर गरिएको थियो । श्रेष्ठ युएईको दुबैइ सहरमा बसेर सुन तथा हुन्डीको कारोबारमा संलग्न व्यक्ति हुन् । दुबैइबाट उनले नेपालमा सुन पठाउने काम गर्थे ।
इन्टरपोलले रेड नोटिस जारी गरेपछि युएईको प्रहरीले उनलाई पक्राउ गरी तारेखमा छाडेको थियो । अाईतबार नेपाल निष्कासन गरेकोमा विमानस्थलमा प्रहरीले उनलाई पक्राउ गरेको हो । दुई देशबीच सुपुर्दगी सन्धि नभएकाले निष्कासन प्रक्रियामार्फत युएईले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो ।
पक्राउ परेका श्रेष्ठका व्यावसायिक साझेदार तथा सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई पनि नेपाल ल्याउने प्रक्रिया अघि बढाइेको प्रहरीले जनाएको छ । उप्रेती पनि दुबैइमा पक्राउ परिसकेका छन् । निष्कासनका लागि त्यहाँको मन्त्रालयबाट निर्णय भैसकेको छैन । उनी तीन महिनाअघि नै पक्राउ परेका थिए ।
ईश्वरराज पौडेल नेतृत्वको छानबिन टोलीको अनुसन्धानमा उप्रेती र श्रेष्ठ लामो समयदेखि दुबैइमा बसेर सुन, हुन्डी र डलरको अवैध कारोबार गर्ने गरेको खुलेको थियो ।