सन्दिप लामिछाने – टिन एजमै करोडपति

खेलकुद फोटो फिचर समाचार
शेयर गर्नु होला

 

सन्दिप लामिछाने

सन्दीप अहिले खेलेरै सानै उमेरमा करोडपति भएका छन् । यद्यपि यो विदेशी लिग खेलेर मात्र सम्भव भएको हो । सन्दीप आजको दिनसम्म १८ वर्ष ६४ दिनको भएका छन् । उनले गएको अगस्टमा आफ्नो १८ औं जन्मदिन मनाएका हुन् ।

नोभेम्बरमा युएईको शारजाँहमा हुने टी–१० लिगको सिजन–२ का लागि केरला किंगले अनुबन्धन गरेपछि सन्दीपले विदेशमा खेल्दा पाउने पारिश्रमिक रकमले आठ डिजिट छोएको छ । टी–१० लिगमा सन्दीप तेस्रो ड्राफ्टमै परेका थिए । त्यसानुरूप सन्दीपले ३० हजार डलर (३४ लाख ८० हजार रूपैंया) पारिश्रमिक प्राप्त गर्नेछन् । सन्दीपले प्राप्त गर्न लागेको यो दोस्रो ठूलो रकम हो ।

यसअघि उनले ग्लोबल टी–२० क्यानाडा लिग खेल्दा ४० हजार डलर (४६ लाख ४० हजार रूपैंया) बुझेका थिए । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट खेल्दै सन्दीपले आफूलाई अन्तर्‍ाष्ट्रिय क्रिकेटमा उभ्याएका थिए । त्यसमा उनले २० हजार डलर (२३ लाख २० हजार रूपैंया) पारिश्रमिक पाएका थिए ।

आईपीएलमा अवसर कुर्ने क्रममा उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्टमा परेका थिए । सन्दीपका अनुसार आईपीएल अघि नै सीपीएल तय भैसकेको थियो । सीपीएलमा वेस्ट इन्डिजका हस्ती क्रिस गेलसँगै खेलेका लामिछानेले त्यहाँ ५ हजार डलर (५ लाख ८० हजार रूपैंया) प्राप्त गरेका थिए ।

टी–१० लिगमा सन्दीपको नाम दोस्रो ड्राफ्टमै अाउने सम्भावना थियो । यसले उनको पारिश्रमिक अझ बढाउँथ्यो । टी–१० मा पहिलो ड्राफ्टमा पर्ने खेलाडीले १ लाख डलर पाउँछन् । जे होस्, तेस्रो ड्राफ्टमा पर्नेबित्तिकै सन्दीपले विदेशी फ्रेन्चाइज लिग खेल्दा पाएको कुल पारिश्रमिक रकमले १ लाख डलर (१ करोड १६ लाख रूपैंया) नाघेको छ । युएईको शारजाँहमै अक्टोबर ५ देखि २१ सम्म अफगानिस्तान प्रिमियर लिग हुँदैछ । सन्दीपलाई नाङहरले एसोसिएट खेलाडीका रूपमा लिएको छ । त्यसबापत उनले १५ हजार डलर (१७ लाख ४० हजार रूपैंया) बुझ्नेछन् ।

नेपाली राष्ट्रिय टिमले मलेसियामा अाइसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ मा खेल्नु पर्ने हुनाले सन्दीपले अफगानिस्तान प्रिमियर लिगको सुरुको ५ खेल गुमाउनेछन् । मलेसियाबाट शारजाँह पुग्ने सन्दीपलगत्तै नेपाल फर्केर दसैंपछि पोखरामा सञ्चालन हुने पीपीएलमा सहभागी हुनेछन् । टी–१० लिग तथा अफगानिस्तान प्रिमियर लिग खेलेपछि सन्दीपको विदेशी फ्रेन्चाइज लिग खेल्दाको कमाई १ लाख १० हजार डलर (१ करोड २७ लाख ६० हजार रूपैंया) पुग्नेछ ।

‘सबै कुरा समयमा भर पर्छ । सुरुमै तपाईले केही पाउनु हुन्न र अन्तिममा पनि तपाईले केही लिएर जानु हुन्न । त्यो बीचको दौरानमा आफुलाई कसरी मेन्टेन गरिन्छ, विश्लेषण गरेर कसरी अघि बढिन्छ त्यसमा तपाईंको जीवन निर्भर हुन्छ,’ सन्दीप आदर्शका कुरा गर्छन्, ‘खुसी लाग्छ म यी सबै कुरा बिर्सिएर अघि बढिरहेको छु । म मार्की खेलाडी रहुँ वा नरहुँ त्यसमा मलाई केही छैन, तर मैले आफ्नो क्रिकेट लेभल कसरी अघि बढाइरहेको छु त्यो म आफैमा भरपर्छ ।’

सन्दीप यो यात्रा आफ्नो कल्पना बाहिरको भएको स्वीकार गर्छन् । उनी आफूले माथिल्लो स्तरको क्रिकेट खेल्ने कुरामा भने राष्ट्रिय टिममा पर्दादेखि नै विश्वस्त रहेको बताउँछन् । सन्दीप अवसर कुरेर बस्नुपर्ने कुरामा विश्वास राख्छन् । अहिले एक्सपोजका लागि विदेशी लिग खेलिरहेका सन्दीपको लक्ष्य अस्ट्रेलियाको बिग बास लिग तथा काउन्टी क्रिकेट हो । बिग बास त उनको सपना नै हो ।

खेलेर कमाएको रकमको प्रसङ्ग कोट्याउँदा सन्दीप रोमाञ्चित हुन्छन् । उनमा अझै अघि बढ्ने अठोट छ । ‘जति–जति आम्दानी हुन्छ, खर्च पनि त्यसैअनुरूप बढ्दै जान्छ । पहिलेको तुलनामा अहिले आफूलाई अझ बढी मेन्टेन गर्नुपर्छ । धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ । फिटनेस देखि अरु धेरै विषयमा अझ बढी हेर बिचार गर्नुपर्ने हुन्छ । कति पैसा अैरहेको छ, कति अौँदैन म त्यसका बारेमा त्यति सोच्दिनँ । किनभने मलाई यो सब क्रिकेटले दिएको छ र म अहिले नै पैसातिर लागें भने मेरो क्रिकेट अन्त कतै लाग्ला, त्यही भएर म क्रिकेटमै केन्द्रित छु,’ सन्दीप आफ्नो लक्ष्य स्पष्ट गर्छन् ।

जे होस्, आईपीएलपछि सन्दीप एसोसिएट क्रिकेटको स्टार भएर विश्वमा छाइरहेका छन् । उनले विदेशी फ्रेन्चाइज लिगमा टेस्ट राष्ट्र बंगलादेश तथा जिम्बावेका खेलाडीको तुलनामा बढी अवसर प्राप्त गरिरहेका छन् अनि सबैजसो प्रतियोगितामा पाएको सफलताले उनको उचाइलाई अझ बढाइरहेको छ ।

क्रिस गेल जस्ता हस्ती खेलाडीसँग उनी ‘ड्याब’ सेलिब्रेसन गरिरहेका हुन्छन् । गेलसँगै उनी लगातार एुटै टिममा पर्न थालेका छन् अर्थात् गेलले नै सन्दीपको महत्व बुझेर उनलाई आफ्नो टिममा राख्न जोड गरिरहेका छन् । सन्दीपलाई लिन एक खालको प्रतिस्पर्धा नै छ ।

विदेशी फ्रेन्चाइज लिगमा सन्दीपको कमाइ इन्डियन प्रिमियर लिग – २० हजार डलर (२३ लाख २० हजार रूपैंया)

ग्लोबल टी–२० क्यानाडा लिग – ४० हजार डलर (४६ लाख ४० हजार रूपैंया)

क्यारेबियन प्रिमियर लिग – ५ हजार डलर (५ लाख ८० हजार रूपैंया)

अफगानिस्तान प्रिमियर लिग – १५ हजार डलर (१७ लाख ४० हजार रूपैंया)

टी–१० लिग – ३० हजार डलर (३४ लाख ८० हजार रूपैंया)

स्रोत साप्ताहिक


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *