स्वस्थ रहन : कति खाने , व्यायाम गर्ने कति

स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं

अस्वस्थ जीवनशैली र खानपानले पछिल्लो समय नेपालीमा क्यान्सर, मुटु, मिर्गौला, कलेजो, मधुमेह जस्ता नसर्ने रोगको भार बढ्दै गैरहेको छ।

खानपानमा हुने हेलचेक्र्याइँले युवा उमेरमा नै हृदयाघात, मस्तिष्कघात, मिर्गौला फेल जस्ता गम्भीर रोगका कारण धेरै नेपालीले ज्यान गुमाइरहेका छन्। जथाभावी खानपान, तनाव, व्यायामको कमी, अत्याधिक मदिरा सेवन जस्ता कारण अस्पतालमा बिरामीको चाप बढिरहेको छ। अर्कोतर्फ अत्यधिक मदिरा सेवनले दुर्घटनामा परेर अस्पताल पुग्नेहरु पनि हुन्छन्। उच्च रक्तचाप, मधुमेहका बिरामीहरु दसैँ, तिहार तथा चाडपर्वपछि झन् बढी समस्यामा पर्ने गरेको चिकित्सकहरु बताउँछन्।

दसैँ तथा चाडपर्वको समयमा लगातार जुवातास खेल्नेहरू ढाड, घुँडा, गर्दन र हड्डीका समस्या लिएर पनि अस्पताल धाउँछन्। चाडबाडको समयमा पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, युरिक एसिड जस्ता दीर्घरोगीले मासु, मदिरा, चिल्लोपदार्थ जस्ता खानेकुरा मनलाग्दी खाइदिए भने त ज्यान नै तलमाथि हुनसक्ने चिकित्सकहरुको भनाइ छ। चाडबाडको मौसममा मुटुरोग र मधुमेहका बिरामीले धेरै अस्पताल धाउनुपर्ने अवस्था अौँछ। पेटजन्य रोगका बिरामीको संख्या ह्वात्तै बढ्ने गरेको अस्पतालको तथ्यांकले पनि देखाउँछ।

नियमित मुख बार्नुपर्ने यस्ता बिरामीले चाडबाडको निहुँमा फुक्काफाल भएर ठूलो मुख गर्दा अस्पतालको बास निम्त्याउने गरेका छन्। र, आफू मात्र होइन, परिवारको निम्ति पनि दुःख बिसाइदिने गरेका छन्। चाडबाड बेला खानपिनमा ध्यान नदिँदा स्वस्थ मान्छे बिरामी पर्ने त छँदैछ, पहिल्यै रोग लागेकाहरू झन् जटिल समस्या बोकेर अस्पताल पुग्ने गरेको वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेत बताउँछन्।

डाक्टरहरूका अनुसार अस्वस्थ र राम्ररी नपकाइेको मासुले रोग ओसार्छ। त्यसमा पनि छालासहितको र काँचो मासुबाट बनाइने परिकार त खानै नहुने उनीहरूको सल्लाह छ। वरिष्ठ फिजिसियन डा ध्रुवप्रसाद सिंहका अनुसार पशुपक्षीका छालामा ‘फोहोरका अवशेष’ र काँचो मासुमा ब्याक्टेरिया संक्रमणको जोखिम धेरै हुन्छ। रातो मासु, छाला वा त्यसमा हुने बोसोले नसर्ने खालका रोग मात्र होइन, जनावरलाई लागेका रोगसमेत सर्ने सम्भावना भएको उनी बताउँछन्।

उनका अनुसार बजारमा पाइने अस्वस्थकर मासुका कारण टाइफाइड, झाडापखाला, अौँ, पेट फुल्ने, मिर्गौला रोग, फुड पोइजनिङलगायत बिरामी बढ्ने गरेका छन्। दसैंमा एकैपटक धेरै मासु काटेर लगातार चार–पाँच दिन खाइरहने चलन छ। डिपफ्रिजमा राम्ररी चिस्याइेको छैन भने बासी मासुले स्वास्थ्यमा समस्या ल्याउने डा सिंह बताउँछन्।

धेरै दिन सुकाएर राखेको, सुकुटी बनाएको र धेरै तेल–मसला हालेको मासु स्वास्थ्यका लागि हानिकारक हुने उनी बताउँछन्। दसैँमा मोटो शरीर, रगतमा कोलेस्टेरोल बढी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड तथा मधुमेह भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ। दसैँको बेला मासु धेरै खाँदा कब्जियत हुने सम्भावना बढी हुने भएकाले मासुसँगै फलफूल, सलाद र अन्य खानेकुरा खानु स्वास्थ्यका दृष्टिले राम्रो हुने चिकित्सकहरुको सुझाव छ।

मिर्गौला रोग विशेषज्ञ डा शक्तिकुमार बस्नेतका अनुसार मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिहरुले रक्सी सेवन गरेमा मिर्गौला फेल हुने सम्भावना नै बढी हुन्छ। रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायू प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ। रक्सीले सबैभन्दा बढी असर दिमागमा र त्यसपछि क्रमशः मुटु र कलेजोमा पार्ने डा बस्नेत बताउँछन्।

चिकित्सकहरूका अनुसार रक्सीको अत्याधिक सेवनले कलेजो, मस्तिस्क, मुटुरोग, क्यान्सर, दुर्घटना, आत्महत्या र पागलपनसम्म पु¥याउँछ। रक्सीले रक्तचाप बढाउने र मस्तिष्कघात (स्ट्रोक, प्यारालाइसिस), मुटु सुन्निने र राम्रोसँग पम्प गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ। त्यसकारण मधुमेह, मुटुरोग, मिर्गौलालगायतका रोग लागेका बिरामीले मदिरा छुन पनि नहुने चिकित्सकहरु बताउँछन्। ‘स्वास्थ्यको ख्याल राख्ने हो भने गाँजर, मूला, काँक्रो, काजु, बदामसँग थोरै मात्रामा मात्र रक्सी खाँदा राम्रो मानिन्छ।

दीर्घरोगीले सकेसम्म मदिरा नछोएकै राम्रो,’ उनी भन्छन्। स्पार्क हेल्थ होमका डा सुनिल पौडेलका अनुसार चाडबाडका समयमा मानिसको खानपिन बढ्ने भएकाले नियमित समयमा भन्दा बढी मात्रामा व्यायाममा जोड दिनुपर्छ। ‘अरु समयमा एक घन्टा व्यायाम गरिन्छ भने चाडबाडको समयमा डेढ घण्टासम्म व्यायाम गर्नुपर्छ,’ उनले भने, ‘औषधि सेवन गरिरहेका मानिसले त झन् योग, व्यायाम मात्रै होइन, दौडने, खेल्ने, हिँडडुल गरिहने गरिरहनुपर्छ।’ उनी दसैँ तथा चाडबाडको समयमा घरटोलमा आयोजित हुने अौटडोर खेलमा भाग लिन समेत सुझाउँछन्। साभार स्वास्थ खबर पत्रिका


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *