महोत्तरी
महोत्तरीको औरही नगरपालिका–१ की आठ महिने दुधे बालिकालाई अपहरणपछि हत्याका फरार अभियुक्त पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साह रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । साहलाई सप्तरी र सुनसरीको सीमानामा रहेको सप्तकोशी पुल कोशी ब्यारेजबाट प्रहरीले चेक जाँचको क्रममा पक्राउ गरेको हो ।
गत भदौ १० गते औरही नगरपालिका १ बाट अपहरित ७ महिने बालिका सोनाली भोलिपल्ट मृत फेला परेकी थीन् । सप्तरीबाट जिप चोरेर भाग्दै गर्दा साह सुनसरीमा पक्राउ परेका हुन् । महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बालिका हत्या आरोपी साह सुनसरीमा पक्राउ परेको बताए । प्रहरीको खोजी सुचिमा रहेका आरोपीलाई तत्काल जिल्ला प्रहरी कार्यालय जलेश्वर ल्याइने उनले जानकारी दिए ।
बालिकाको हत्यारा खोज्न अपहरणको समय देखि नै महोत्तरीमा प्रहरी र शसस्त्र प्रहरीले उखुबारी, जंगल र बस्ती चहारेका थिए । बालिका हत्याको विरोधमा औरही, गौशाला लगायतका विभिन्न बजारहरु बन्द भए । चक्का जाम भयो । दोषि पक्राउ गर्न दवाब बढेपछि नेपाल तथा भारतका विभिन्न ठाउँमा हत्यारा खोज्न प्रहरी परिचालन गरिएको थियो ।
पक्राउ परेका साह सिरहा कारागारमा चोरी तथा डाँका मुद्दामा चार वर्ष सजाय काटेर करिब पाँच महिना अघिमात्र मुक्त भएका थिए ।
औरही बजारका फैन्सी तथा कस्मेटिक पसल संचालक संतोष चौधरीकी ८ महिने छोरी सोनालीलाई रक्षाबन्धनको दिन भदांै १० गते पसलबाटै अपहरण पश्चात बलात्कार गरी भरतले हत्या गरिएको अभियोग लागेको छ ।
नाबालिका अपहरण गरेको प्रमाण संतोषको पसलमा रहेको सीसीटीभी फुटेजबाट कैद भएको थियो । बालिकाको हत्या भएको करिब २ महिनापछि अभियुक्त पक्राउ परेको हो ।