आज का (सोमबार) पत्र-पत्रीका हरु का मुख्य समाचार हरु जस्ता को त्यस्तै (As Published in Todays News Papers)

फोटो फिचर विचार/ब्लग समाचार
शेयर गर्नु होला

 

नेकपाद्वारा सांसद मानन्धरको राजीनामा पत्र अस्वीकृत

 

काठमाडौँ — नेकपाले सांसद रामवीर मानन्धरको राजीनामा पत्र अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले काठमाडौं ७ बाट निर्वाचित सांसद मानन्धरले दिएको राजीनामा पत्र अस्वीकृत गर्ने  निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बर्दियाबाट गत निर्वाचनमा पराजित नेकपा नेता गौतमलाई सांसद बनाउन काठमाडौं ७ खाली गर्ने तयारीपछि सांसद मानन्धरले राजीनामाका लागि पार्टीलाई स्वीकृति पत्र दिएका थिए। तर, गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाएमा पार्टी र सरकारलाई नोक्सान पर्ने भन्दै नेकपाभित्र चर्को विवाद भएपछि उक्त विषय तत्काललाई स्थगित गरिएको थियो।

त्यस्तै नेकपा बैठकमा सरकारको विषयमा संसद्‌मा नेता माधवकुमार नेपालले गरेको टिप्पणी, पार्टीका तल्ला तहको एकीकरणलगायत विषयमा पनि छलफल भएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई उद्धृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले कान्तिपुरसित भने, ‘माधव कमरेडले संसद्‌मा बोलेको विषय, नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउने र पार्टीको आन्तरिक विषयमा सकारात्मक छलफल भयो।’ उनले पार्टीको तल्ला कमिटीहरुको समायोजनको विषयमा भोलि १ बजेका लागि फेरि बैठक डाकिएको बताए।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीका सञ्चारविज्ञ रामशरण बजगाईंले पनि पार्टी समायोजन विषयमा छलफल गर्न भोलि (सोमबार) दिउँसो १ बजे बालुवाटारमै बैठक बस्ने तय भएको जानकारी गराए।……………( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रस्ताव

 

काठमाडौँ — मुलुकभरका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा नयाँ संरचनाका साथै दरबन्दीको मस्यौदा तयार पारेको छ ।

संघीयता कार्यान्वयन भएपछि मन्त्रालयले स्थानीय तह, प्रदेश र संघको नयाँ संरचना तथा त्यसलाई आवश्यक पर्ने जनशक्तिको खाका तयार पारेको हो। मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल संयोजक रहेको संघीय व्यवस्थापन समितिले तयार पारेको मस्यौदामा स्वास्थ्य सेवाको पहुँचलाई अझ सर्वसुलभ बनाउन प्रदेश अन्तर्गतका सबै जिल्लामा रहने गरी प्रदेश जनस्वास्थ्य शाखा कार्यालयको प्रस्ताव गरिएको हो।
सातवटै प्रदेशमा स्वास्थ्य प्रवर्द्धन तथा तालीम केन्द्र, स्वास्थ्य सामग्री तथा औषधि व्यवस्थापन केन्द्र र जनस्वास्थ्य प्रयोगशाला रहने व्यवस्था गरिएको छ। ती निकायमा ११औँ तहको दरबन्दी रहने प्रस्ताव गरिएको छ। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गत भदौ २८ गते प्रमुख विशेषज्ञ डा प्याकुरेलको संयोजकत्वमा सो समिति गठन गरेका थिए।

प्रमुख विशेषज्ञ डा प्याकुरेलले भने, ‘नयाँ संरचनामा देखिएका केही प्राविधिक समस्यालाई सम्बोधन गरी दरवन्दीका लागि पनि मस्यौदा तयार पारिएको हो।’ मन्त्रालयले स्वास्थ्य सेवाको संघीयता कार्यान्वयनका लागि नयाँ संरचना साउन १ गतेदेखि लागू गरेको थियो। सो मस्यौदा बमोजिम अव सातवटै प्रदेश अन्तर्गत ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहनेछन्। संघीय व्यवस्थापन समितिले स्थानीय तह, प्रदेश तथा संघको संरचना तथा दरवन्दी पुनरावलोकन समेत गरेको छ।

यसअघि बनाइएको संरचनामा सातवटा प्रदेशमा ३५ वटा मात्र प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था थियो। उक्त प्रावधानमा कर्मचारीबाट व्यापक गुनासो आउनाका साथै मन्त्रालयले समेत स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन कठिन महशुस गरी सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रावधान अघि सारेको हो। तयार पारेको नयाँ संरचनाको खाका कार्यान्वयन भएमा स्वास्थ्य सेवाका सबै कर्मचारीको व्यवस्थापन हुने संयोजक डा प्याकुरेलले दाबी गरे। स्वास्थ्य सेवातर्फका ११ औं तहका १३, ९ र १० ‌औं तहका ३२, सातौँ तहका करिब ४०० कर्मचारी जिम्मेवारीबिहीन रहेका बताइको छ।

यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयका एक हजार ३५६ स्वास्थ्य सेवाका कर्मचारी विभिन्न स्थानीय तहमा मिलान भएका थिए। अझै पनि कयौँ स्थानीय तहमा स्वास्थ्य सेवामा दरबन्दी अनुसार पदपूर्ति गर्न समस्या परिरहेको छ।………( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

 

दुई छोरालाई झुन्ड्याएर बाबु पनि झुन्डिएपछि

 

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहमा आफ्ना दुई छोराको हत्या गरी बाबुलेसमेत आत्महत्या गरेका छन्।  औराहस्थित शान्तिटोलका ४२ वर्षीय सुरेन्द्र रामले ५ वर्षीय छोरा सुविन र ३ वर्षीय छोरा विपिनलाई झुन्ड्याएर हत्या गरेपछि आफूले पनि झुन्डिएर आत्महत्या गरेका हुन्।

दुई छोरा र सुरेन्द्रलाई घरको कोठामा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयबाट सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमराबाट पुगेको प्रहरी टोलीले तीनै जनाको शव शल्यपरीक्षणका लागि वीरगन्ज पठाएको छ।

पत्नीले छोडेर गएपछि सुरेन्द्र आफ्ना दुई छोराका साथ घरमा बस्दै आएका थिए। मदिरा सेवन गरेर कुटपिट गर्न थालेपछि सुरेन्द्रकी पत्नीले उनलाई छाडेर गएकी थिइन्। सुरेन्द्रले आफ्नी आमालाई पनि कुटपिट गर्ने गरेका थिए। छोराले कुटन थालेपछि उनकी आमा समेत घरमा बस्दिनथिन्।

आफ्ना दुई नातिलाई भेट्न सुरेन्द्रकी आमा घरमा आउने गरेकी थिइन्। सधैंजसो आइतबार बिहान घरमा पुग्दा तीनै जना झुन्डिएको अवस्थामा देखेपछि उनले चिच्याउँदै छिमेकीलाई खबर गरेकी थिइन्।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले शव शल्यपरीक्षणका लागि पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए। प्रहरी निरिक्षक हमालका अनुसार सुरेन्द्रमाथि यसअघि पत्नीको हत्या गर्ने प्रयासमा कारबाही गरिएको थियो।

मदिरा सेवन गरी सुरेन्द्रले परिवार र स्थानियसग पटकपटक झगडा गर्ने गरेका थिए। झगडा गरेकै कारण बेलाबेलामा उनलाई कार्यालयमा ल्याएर सम्झाएर पठाउने गरिएको प्रहरी निरीक्षक हमालले जानकारी दिए। …….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post)

 

 

बाँदर धपाउन बन्दुक पड्काउँदा एकजनाकाे मृत्यु

 

हुम्ला : बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर सोही ठाउँमा दिउँसो गोठालो गएका सुरेन्द्रलाई गोली लागेर गम्भीर घाइते भएका थिए ।

उनको उपचारकोे लागि स्वास्थ्य चौकी रिपतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

महतारालाई उक्त भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरी शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सिमकोटमा ल्याएको प्रहरी प्रमुख उपरीक्षक रबिन श्रेष्ठले जानकारी दिए ।

प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।…….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post )

 

 

नगरपालिकालाई चार रोपनी जग्गादान

 

वालिङ, कात्तिक ४ गते । स्याङ्जाको भिरकोट नगरपालिकाका स्थानीयवासीले भिरकोट नगरपालिकालाई चार रोपनी जग्गा निःशुल्क दिएका छन् ।

भिरकोट नगरपालिकाको भवन निर्माणमा भिरकोट नपा–१ दार्सिङ भर्लाकुनामा रहेको जग्गा स्थानीय समाजसेवी भीमलाल कर्माचार्य, गोविन्दकुमार कर्माचार्य, फत्तबहादुर केसी, इन्द्रबहादुर केसी र रुद्रबहादुर केसीले संयुक्तरुपमा दिनुभएको हो ।

भिरकोट नगरपालिका–१ का वडाध्यक्ष एवम् नगर प्रवक्ता दीपेन्द्र केसीका अनुसार भीमलाल कर्माचार्यले एक रोपनी छ आना, गोविन्दकुमार कर्माचार्यले एक रोपनी छ आना, फत्तबहादुर केसीले एक रोपनी, इन्द्रबहादुर केसी र रुद्रबहादुर केसीले एक÷एक आना जग्गा उपलब्ध गराउनुभएको हो ।

स्थानीयवासीले निःशुल्करुपमा उपलब्ध गराउनुभएको उक्त जग्गा चलनचल्तीअनुसार दुई करोडभन्दा बढी मूल्य पर्ने नगर प्रवक्ता केसीले बताउनुभयो । “नगरपालिकाको भवन निर्माणका लागि जग्गा प्राप्ति भएसँगै अब हामी भवन निर्माणतर्फ अघि बढेका छौँ,” प्रवक्ता केसीले भन्नुभयो, “चार रोपनी क्षेत्रफलमा फैलने उक्त भवन अत्याधुनिक किसिमको ३२ कोठाको हुनेछ ।”

निर्माण थालिएको दुई वर्षमा सक्ने गरी कूल नौ करोड ७७ लाखको लागतमा ठेक्का सम्झौता भई कामको थालनी भएको छ ।(रासस)……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra)

 

दशैँमा पनि भत्ता पाएनन् ज्येष्ठ नागरिकले

 

बाजुरा, कात्तिक ४ गते । बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन् । दशैँमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले यस वर्षको दशैँमा खल्लो महसुश गरेका हुन् ।

हरेक वर्ष दशैँको बेलामा प्रथम चौमासिक भत्ता दिइने गरिएको भए पनि यस वर्ष नगरपालिकाले दशैँमा सामाजिक सुरक्षा भत्ता नदिएको कोल्टीका ज्येष्ठ नागरिक चन्द्रमान रेग्मीले बताउनुभयो । स्थानीय सरकार आएपछि सामाजिक सुरक्षा भत्ता पाउन सहज होला भन्ठानेका ज्येष्ठ नागरिकले स्थानीय तहले लापरवाही गरेर ज्येष्ठ नागरिक, बालबालिका र अन्य सामाजिक सुरक्षाभत्ता पाउनेको सेवासुविधामा खेलबाड गरेको गुनासो गरेका छन् ।

बूढीनन्दा नगरपालिकामा करीब एक हजार २०० ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाका लागि प्रतिचौमासिक करीब रु एक करोड १० लाख सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिन्छ । बूढीनन्दा नगरपालिकाका सूचना अधिकारी रामदत्त न्यौपानेले कामको चापले हतार भएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत ढिलो आएपछि अन्य कर्मचारीलाई समेत तलब खुवाउन समस्या भएको र ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्न नसकिएको उहाँले स्वीकार गर्नुभयो । (रासस)……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra )

 

संविधानको सफल कार्यान्वय गर्यौँ : मन्त्री ज्ञवाली

 

परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले संविधानको सफल कार्यान्वयन भएको बताएका छन् । गुल्मीको मुसिकोट नगरपालिकाले गुरुयोजना निर्माण गर्न आयोजना गरेको बौद्धिक सम्मेलन तथा वामी सेवा समिति जापानले प्रकाशन गरेको सन्देश भाग–३ पुस्तकको बिमोचन गर्दै ज्ञवालीले देशमा विकाश गरी १२ वर्षमा मध्यम आय भएको मुलुक बनाउने बताए ।

ज्ञवालीले सरकारद्वारा तीनै तहमा सरकारको व्यावस्थापन गर्दै अल्प, मध्य र दीर्घकालीन योजना अगाडि बढाएको बताए । ‘एकातिर दुई तिहाई सरकार र अर्कोतिर जनताका तिव्र आशा र अपेक्षालाई मर्न दिदैनौँ,’ उनले भने,‘ आवश्यक परे संविधान संशोधन गर्छौँ ।’

ज्ञवालीले मुसिकोट नगरपालिकाले तयार गरेको ‘कृषि, पर्यटन, पूर्वाधार र रोजगार मुसिकोट समृद्धिको आधार’ भन्ने नारासँग हरेक नागरिकको सपना र भावना जोडिएको भन्दै देशमा अरु स्थानीय तहले अनुशरण गर्न योग्य गुरुयोजना निर्माण गर्न सुझाव दिए ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ। / published in Todays Naya Patrika)

आफ्नै छोरीलाई अप्राकृतिक मैथुन गराउने गुल्मीका एक व्यक्ति पक्राउ

 

आफ्नै १० वर्षीया छोरीलाई अप्राकृतिक मुख मैथुन गराउने गुल्मीको इश्मा गाउँपालिका वडा नं ५ का ३७ वर्षीय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले शुक्रबार राती आफ्नै घरको कोठामा छोरीलाई अप्राकृतिक मुख मैथुन गराएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतले बताए ।

आफन्तको उजुरीको आधारमा अरोपितलाई पक्राउ गरिएको र उनलाई आजै जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भएको एसपी बस्नेतले बताए ।

केहि दिन अघि इश्मा गाउँपालिका ३ दर्लामचौरका ३६ वर्षीय देव बहादुर सार्कीले मानसिक सन्तुलन गुमाएकी २० वर्षीया युवतीलाई बलात्कार गरेका थिए । यो बर्ष मात्रै इश्मा गाउँपालिकामा ४ वटा बलात्कारका घटना घटेका छन् ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *