मोरङ
कांग्रेस उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाका कारण पार्टी अनिर्णयको बन्दी बनेको बताएका छन् ।
विराटनगरमा सोमबार पत्रकारसँगको कुराकानीमा निधिले वरिष्ठ नेता पौडेल र सिटौलाले समय नदिएकाले पार्टीको बैठक बस्न नसकेको बताएका हुन्।‘पार्टीको बैठक बस्न नसकेर कुनैपनि निर्णय हुनसकेको छैन,’उनले भने,‘महासमिति बैठकको तयारी भैरहेको बेलामा पार्टीलाई अनिर्णयको बन्दी बनाउनु उचित होइन।’
पार्टी बैठक बस्न नसक्दा गणतान्त्रिक फोरमसँगको सहमति कार्यान्वयन हुन नसकेको उनले गुनासो पोखे। उहाँहरुको अनुपस्थितिमा बैठक बसेर कुनै निर्णय गरिहाले एकलौटी ढंगले पार्टी चलाएको आरोप लगाउने गरेकाले बैठक बस्न समस्या भएको निधिले सुनाए। महासमिति बैठकपछि पार्टीमा अनुशासन समिति गठन हुने उनको भनाई छ ।
पार्टीभित्र बहस चलिरहेको अर्ली महाधिवेशनको विषयमा निधिले विधान अनुसार पार्टीको महाधिवेशन हुने प्रष्ट पारे। ‘पार्टीको महाधिवेशन अर्ली पनि होइन र लेट पनि होइन,विधान अनुसार समयमा हुन्छ,’ उनले भने, ‘विधानमा एक वर्ष कार्यकाल थप्ने व्यवस्था छ भने विधान अनुरुप त्यो पनि हुन्छ।’ पार्टीको विधान संशोधन मस्यौदामा सभापति र कार्यसमिति दुवैलाई मजबुत बनाउने व्यवस्था गरिनुपर्ने उनको भनाई थियो।