आज का (बिहिबार) पत्र-पत्रीका हरु का मुख्य समाचार हरु जस्ता को त्यस्तै (As Published in Todays News Papers)

फोटो फिचर विचार/ब्लग समाचार
शेयर गर्नु होला

 

अवकाश मिति बढाएर पराजुलीको पेन्सनपट्टा, प्रधानन्यायाधीश मिश्रले मिचे सर्वोच्चकै फैसला

 

काठमाडौँ — प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको फैसलासँग बाझिने गरी पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टाका लागि न्यायपरिषद् अध्यक्षका हैसियतमा सिफारिस गरिदिएका छन् । सर्वोच्चले पराजुलीको अवकाश मिति २०७४ साउन २१ गते कायम गरेकामा मिश्रले २०७४ फागुन ३० गते कायम हुने गरी सिफारिस गरेका हुन् ।

न्यायपरिषदको पछिल्लो निर्णयले पराजुलीले कागजात लुकाएर लिएको ६ महिना १० दिनको बढी सुविधासमेत फिर्ता गर्नु नपर्ने भएको छ। परिषदको पत्रपछि निजामती किताबखानाले पराजुलीको पेन्सनपट्टा बनाइसकेको छ।

किताबखानाले २०७४ साउन २१ गते अवकाश हुनुपर्ने व्यक्ति २०७४ फागुन ३० गतेसम्म पदमा रहेर सुविधा लिएकाले त्यो फिर्ता नहुन्जेल पेन्सनपट्टा बनाउन नमिल्ने निर्णय गरेको थियो। न्यायपरिषदको पत्रपछि किताबखानाका महानिर्देशक जयनारायण आचार्यले अघिल्ला महानिर्देशकको निर्णय उल्टाएर पेन्सनपट्टा बनाइदिएका हुन्।

सर्वोच्चले राष्ट्रपति विद्यादेवी भण्डारीको शपथसम्बन्धी विवादको मुद्दा व्याख्याका क्रममा पराजुलीको अवकाश मिति २०७४ साउन २१ गते कायम हुने ठहर गरेको थियो। अधिवक्ता हेममणि सुवेदीले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले न्यायपरिषद् सचिवले गरेको निर्णय सदर गरेको थियो तर परिषद् अध्यक्ष एवं प्रधानन्यायाधीश मिश्रले राजीनामा दिएकै मितिमा अवकाश मिति कायम हुने ‘प्रशासनिक निर्णय’ गरिदिए। उनको यो निर्णय सर्वोच्च अदालतले २०७५ वैशाख ४ गते गरेको न्यायिक निर्णयसँग बाझिएको छ।

अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार कुनै पनि न्यायिक निर्णयलाई प्रशासनको निर्णयबाट उल्टाउन सकिँदैन। ‘प्राप्त प्रमाण र कानुनी व्यवस्थाबमोजिम न्यायपरिषद् सचिवको निर्णयले अवकाश मिति कायम गरी पत्र बनेको थियो,’ अर्यालले कान्तिपुरसँग भने, ‘सचिवको निर्णय चित्त नबुझेको भए सम्बन्धित पक्ष न्याय माग्न जानुपर्ने थियो। पीडितले न्याय नखोजीकनै अदालतको आदेश प्रतिकूल हुने गरी प्रशासनिक निर्णय गर्नु विधिको शासन उल्लंघन हो।’

सर्वोच्च अदालत स्रोतका अनुसार न्यायपरिषद् अध्यक्षले एकल निर्णय गर्ने परिकल्पना न्यायपरिषद् ऐनमा छैन। ‘कि परिषदको पूर्ण बैठकले निर्णय गर्नुपर्छ, कि सचिवालयको प्रशासनिक प्रमुखको हैसियतमा सचिवले निर्णय गर्नुपर्छ,’ स्रोतले भन्यो, ‘अध्यक्ष आफंैले एकल निर्णय गर्ने भए सचिव किन चाहियो?’

सर्वोच्चले २०७४ फागुन ३० गते पत्र पाएकै कारण पराजुलीको अवकाश मिति त्यसै दिनलाई मान्न नमिल्ने भन्दै २०७४ साउन २१ गते कायम हुने व्याख्या गरेको थियो। न्यायाधीश सपना प्रधान मल्लको फैसला थियो, ‘न्यायपरिषद् सचिवले पूर्वप्रधानन्यायाधीश पराजुली २०७४ साउन २१ मै ६५ वर्ष उमेर पूरा भएको देखिएको भनी २०७४ फागुन ३० गते जानकारी गराइसकेको देखिन्छ।’ उक्त फैसलामा न्यायाधीशको वैयक्तिक विवरण राख्ने आधिकारिक निकाय परिषद् सचिवालयबाट रिक्त पदमा संविधानको धारा १ सय २९ बमोजिम वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कामु हैसियतले पेसी तोक्नेलगायत काम गरेको उल्लेख छ जुन निर्णयमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलगायत अन्य कसैबाट प्रश्न नउठाएकाले त्यसलाई अन्यथा भन्न नमिल्ने व्याख्या छ।

प्रशासनिक निर्णयबाट न्यायिक निर्णय उल्टाउनु संविधानको उल्लंघन हुने वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताए। मिश्रको निर्णयबाट ‘मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णय सबैले पालना गर्नुपर्छ’ भन्ने संविधानको धारा १२६ उल्लंघन भएको उनको दाबी छ। ‘न्यायपरिषद् सचिवको निर्णयबाट पराजुलीले अवकाश पाएका हुन्। उनले उक्त निर्णय स्वीकार गरेको र कानुनी रूपमा चुनौती नदिएको अवस्थामा प्रशासनिक निर्णयबाट उल्टाउनु संविधानको उल्लंघन हो।’

सर्वोच्च अदालतले अन्य निजामती कर्मचारीका हकमा ‘अवकाश हुने विवरण लुकाई सेवा अवधि बढाएमा सुविधा नपाउने व्याख्या गरेको छ। ‘सम्बन्धित कर्मचारीले नोकरीमा बढी समय कायम रहने दुराशयले कपटपूर्ण काम गरेको देखिए अवकाश हुनुपर्ने मितिपछि लिएको रकम सम्बन्धित कर्मचारीबाट असुल गर्नुपर्ने’ रामबहादुर सिंहविरुद्ध सामान्य प्रशासन मन्त्रालयसमेत रहेको मुद्दामा २०७० साल वैशाख २९ गते सर्वोच्चको फैसलमा भनिएको छ, ‘नागरिकताको जन्ममिति घटाई अर्को प्रमाणपत्र पेस गरी अदालतलाई समेत झुक्याएको तथ्यका आधारमा अवकाश मितिपछिको तलब भत्ता असुल गर्न सकिन्छ।’……………( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

दुई सचिवको जिम्मेवारी खोसियो

 

काठमाडौँ — सरकारले संघीय समाजवादी फोरमका दुई मन्त्रीले सम्हालेका दुवै मन्त्रालयका सचिवलाई बुधबार दायित्वविमुख गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानेको छ ।

प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा स्वास्थ्य मन्त्रालयकी सचिव डा.पुष्पा चौधरी र सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई जिम्मेवारीमुक्त गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएको जानकारी स्रोतले दिएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शर्मा र चौधरीलाई कुनै जिम्मेवारी दिइएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रशासनिक तथा इन्जिनियरिङ क्लस्टरका सचिवको दरबन्दी भए पनि स्वास्थ्य सचिवको भने छैन ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईको दबाबमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको निर्णयबिना नै कारबाहीको शैलीमा दुवै सचिवलाई मन्त्रिपरिषद कार्यालयमा तानेका हुन् । कानुनत: मन्त्रिपरिषदको निर्णयबिना सचिवहरूको सरुवा गर्न मिल्दैन । प्रधानमन्त्रीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई मन्त्रिपरिषदको पछिल्लो निर्णयको माइन्युटमा राखेर उनीहरूको सरुवा मिलाउने जानकारी स्रोतले दिएका छन् ।

यादव र राईले आ–आफ्ना मन्त्रालयका सचिवको काम सन्तोषजनक नभएको दाबी गर्दै अन्यत्र सरुवा गरिदिन लामो समयदेखि प्रधानमन्त्रीलाई दबाब दिँदै आएका थिए । दुवै मन्त्रीले आ–आफ्नो स्वार्थअनुरूप काम गर्न चौधरी र शर्मा तयार नभएकाले उनीहरूलाई सरुवा गराएका हुन् ।

नेपाल ट्रष्टको कार्यालयका सचिव रमेश सिंहलाई सहरी विकास मन्त्रालयमा सारिएको छ । सिंहले बुधबार नै सहरी विकासमा पुगेर जिम्मेवारी सम्हालिसकेका छन् । स्वास्थ्य मन्त्रालयमा १२ औं तहका चिकित्सक सुशीलनाथ प्याकुरेललाई कायममुकायम सचिवको जिम्मेवारी दिइएको छ ।……( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

 

जीप दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

 

जुम्लाः जुम्लाको बड्कीमा बुधबार जीप दुर्घटना हुँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । जुम्ला सदरमुकामदेखि सिंजा जाँदै गरेको बा १ ज ८६५ नम्बरको जीप हिमा गाउँपालिका–१ बड्कीमा दुर्घटना हुँदा नाबालिकासहित तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख सीताराम रिजालका अनुसार सुर्खेतका लागि छुटेको बुलबुले यातायात प्रालीको जीप बिरामी लिन नराकोट पुगेर फर्किने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा तिला गाउँपालिकाका २६ वर्षीय लाले शार्की, उनकी २५ वर्षीया पत्नी जानकी सार्की र तीन वर्षीया छोरीको मृत्यु भएको हो ।

प्रहरी प्रमुख रिजाल अनुसार दुर्घटनामा चारजना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको उनले बताए ।

दुर्घटनाग्रस्त जीप सडक भन्दा झण्डै २ सय मिटर तल खसेको छ । दुर्घटनाको सबै विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ । यस्तै बुधबार नै नवलपरासीबाट रारा घुम्न आएका आन्तरिक पर्यटक सवार जीप सिंजास्थित गोठीजीउलामा दुर्घटनामा परेको छ । यो दुर्घटनामा यात्रु सामान्य घाइते भएका छन् । …...( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post)

 

 

राष्ट्रपतिले चाहेर पनि हेर्न पाइनन् नवदुर्गा नाच !

 

भक्तपुर : राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छा व्यक्त गर्दागर्दै यस वर्ष भक्तपुरको नवदुर्गा देवगणको नाच हेर्न पाइनन्। पुजारी जुलाल कर्माचार्यले नवदुर्गा देवगणलाई मुकुन्डो उपलब्ध नगराउँदा राष्ट्रपति भण्डारीको नवदुर्गा गणनाच हेर्ने धोको पूरा हुन नपाएको हो।

पुजारी कर्माचार्यले देवगणको आग्रहअनुसार मुकुटसहितको मुकुन्डो हस्तान्तरण नगर्दा देवगणले नाच नाच्न पाएनन्। मुकुटसहितको मुकुन्डोविना नवदुर्गा देवगण नाचिँदैन।

दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपति भण्डारी नवदुर्गा भवानीको पूजाआजा गर्न बुधबार भक्तपुर पुगेकी थिइन्।

नवदुर्गा मन्दिर प्रवेशलगत्तै उनले देवगणसमक्ष नवदुर्गा गणनाच देखाउन आग्रह गरेकी थिइन्। तर पोशाकमात्रै लगाएर बसेका देवगणले राष्ट्रपतिको मनोकांक्षा पूरा गर्न सकेनन्।

नवदुर्गा देवगणले पनि पहिलेदेखि राष्ट्रप्रमुखसमक्ष नाच देखाउने आफूहरुको चाहना पूरा गर्न नपाएको बताए।

‘राष्ट्रपतिज्यूले मन्दिर प्रवेश गरेर हामीलाई देख्नुभएलगत्तै नाच देखाउन आग्रह गर्नुभएको थियो’, नवदुर्गा देवगणका सदस्य कृष्णप्रसाद वनमालाले भने, ‘तर हामी मुकुन्डोविहीन थियौं। मुकुन्डोविना नाच देखाउनुको अर्थ छैन।’

उनले यस वर्ष जसरी भए पनि राष्ट्रप्रमुखलाई नाच देखाउन तयारी गरेको बताए। त्यसैले पुजारी कर्माचार्यसँग मुकुन्डो उपलब्ध गराउन आग्रह गर्दा उनी नमाने देवगण वनमाला बताउँछन्।

पुजारी दक्षिणाको लोभमा परे : देवगण
नवदुर्गा देवगणहरुले पुजारी कर्माचार्यले केही हजार रुपैयाँ दक्षिणाको लोभ गर्दा आफूहरु राष्ट्रपतिसमक्ष नाच देखाउनबाट बञ्चित भएको गुनासो गरे।

मुकुटसहितको मुकुन्डोको दर्शन र पूजा गर्दा राष्ट्रप्रमुखले प्रत्यके मुकुन्डोमा दक्षिणा चढाउने परम्परा रहँदै आएको छ। यसरी चढाइने दक्षिणाको हकदार पुजारी हुने व्यवस्था छ। नवदुर्गा गणमा अष्टमातृका, महादेव, भैरव, गणेश, सिम्ह र दुम्ह गरी १३ वटा देवताका छुट्टाछुट्टै मुकुन्डो हुन्छन्।

‘मुकुन्डोलाई चढाइने केही हजार दक्षिणाको लोभ गरेर पुजारीले मुकुन्डो हस्तान्तरण गरेनन्’, एक नवदुर्गा देवगणले भने, ‘जसले गर्दा राष्ट्रपतिले नाच हेर्ने इच्छा व्यक्त गर्नुहुँदा पनि हामीले नाच देखाउन पाएनौं। हाम्रा प्रयास पनि सफल भएन।’

नवदुर्गा देवगणका नाइके इन्द्रबहादुर बनमालाका अनुसार बुधबार हेर्न नपाए पनि राष्ट्रपति भण्डारीले कुनै दिन नाच हेर्ने व्यवस्था गर्ने वचन दिएकी छन्।

देवगणलाई दक्षिणा एकहजार पाँच
राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणलाई प्रतिव्यक्ति एक हजार पाँच रुपैयाँ खामबन्दी दक्षिणा चढाएकी छन्। गत वर्ष भने पाँच सय पाँच रुपैयाँ दक्षिणा चढाएकी थिइन्।

नवदुर्गा देवगणमा नाच नाच्ने, वाद्यवादन बजाउने र नाइके तथा नकीं गरी २२ जना छन्। ती सबैलाई राष्ट्रपति भण्डारीले समान एकहजार पाँच रुपैयाँ दक्षिणा चढाएको नाइके बनमालाले जानकारी दिए।

राष्ट्रपतिले वाचा पूरा नगरेको गुनासो
राष्ट्रपति भण्डारीले गत वर्ष आफूहरुसमक्ष गरेको वाचा पूरा नगरेको भने नवदुर्गा देवगण बेखुस छन्। गएको वर्ष राष्ट्रपति भण्डारीले उक्त पूजा आफ्नो अन्तिम पूजा हुनसक्ने बताएकी थिइन्। उनले यदि पुनः राष्ट्रप्रमुखको हैसियतमा नवदुर्गा मन्दिर पुगेँ भने केही न केही गर्ने वचन दिएको नवदुर्गा मन्दिरका भण्डारी धन बनमाला बताउँछन्।

भण्डारी गएको वर्ष पुनः राष्ट्रपतिमा दोहोरिएकी हुन्। जसअनुसार दोस्रोपटक राष्ट्रपति भएपछि भण्डारी बुधबार पहिलोपटक नवदुर्गा मन्दिर पुगेकी हुन्।
‘गत वर्ष राष्ट्रपति भण्डारीले आफू दोहो¥याएर नवदुर्गा मन्दिर आउने भए केही न केही गर्छु भन्नुभएको थियो’, भण्डारी बनमालाले भने, ‘हामीले त्यो बचन पूरा नभएकोतर्फ राष्ट्रपति भण्डारीको ध्यानाकर्षण ग¥यौं।’

देवगणको ध्यानाकर्षणपछि राष्ट्रपति भण्डारीले तीनचार दिन आफ्नो प्रतिनिधि पठाएर के गर्न सकिन्छ त्यसबारे जानकारी लिने वचन दिएको उनी बताउँछन्।

पुजारी कर्माचार्यले गरे राष्ट्रपतिको पूजा
राष्ट्रपति भण्डारीले यस वर्ष करिब २५ मिनेट लगाएर नवदुर्गा मन्दिरको पूजाआजा तथा प्रसाद ग्रहण गरेकी छन्। राष्ट्रपतिको तर्फबाट मन्दिरका पुजारी जुलाल कर्माचार्यले तान्त्रिक विधिअनुसार नवदुर्गा भवानीको पूजाआजा गरेका थिए। पुजारी कर्माचार्यलाई नकीं तेजमाया बनमालाले सहयोग गरेकी थिइन्।

भण्डारकोठामा पूजाआजापछि राष्ट्रपति भण्डारीलाई देवगण नाइके इन्द्रबहादुर र जयमल वनमालाले नवदुर्गा भवानीको दसैंको प्रसादको रुपमा एउटा बिमिरो, पञ्चरंगी धागोको डोरी बाटिएको गोका, पञ्चरंगी धागोको पासुका, फूलमाला र दसैंघरको जमरा चढाएका थिए।

राष्ट्रपतिलाई तलेजुको समेत प्रसाद
नवदुर्गा भवानीको पूजाआजापछि मन्दिरबाट बाहिरिने क्रममा राष्ट्रपति भण्डारीलाई भक्तपुर तलेजु आगम छेंका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजु भवानीको प्रसाद अर्पण गरेका थिए।

नवदुर्गा भवानीको पूजा गर्न भक्तपुर पुगेकी राष्ट्रपति भण्डारीलाई भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेश सांसदहरु राजेन्द्रमान श्रेष्ठ, शशिजंग थापा, सरस्वती बाटी र रजनी जोन्छे, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवरलगायतका सरकारी तथा सुरक्षा निकायका प्रमुखहरुले फूलमाला तथा पुष्पगुच्छाले स्वागत गरेका थिए।…….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post )

 

 

१७ महीनापछि हवाई उडान

 

मुसिकोट, कात्तिक ७ गते । रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ । सत्र महीनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान शुरु गरेको हो । हप्ताको दुई दिन बुधबार र बिहीबार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार बुधबार काठमाडौँ–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान हुने बताइएको छ ।

उडान शुरु भएको आज पहिलो दिन चौरजहारीबाट एक बिरामीसहित आठ जनाले नेपालगञ्जसम्मको हवाईयात्रा गरेका छन् । झण्डै डेढ वर्षपछि यहाँको हवाईसेवा सञ्चालनमा आउँदा सर्वसाधारणमा खुशी छाएको छ । हवाई सेवाले रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई छिटो यात्राका लागि सहज गराएको छ । आजदेखि निगमको जहाजले पुनः उडान शुरु गरेसँगै यहाँको नयाँ भाडादरसमेत कायम गरिएको छ । अबदेखि चौरजहारीबाट काठमाडौँका लागि रु आठ हजार र नेपालगञ्जलाई रु तीन हजार भाडादर निर्धारण गरिएको स्टेशन प्रमुख नेपालीले जानकारी दिनुभयो ।

यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै गत वर्षको जेठ अन्तिम साताबाट यहाँको उडान बन्द गरिएको थियो । बन्द हवाईसेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसँग पहल गर्दै आएका थिए । विसं २०२८ बाट सञ्चालनमा आएको उक्त विमानस्थलको थप स्तरोन्नतिका लागि पाँच वर्षअघि धावनमार्गमा कालोपत्रे गरिएको थियो ।रासस……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra)

 

तेब्बर भाडा असुल्दै सवारी,यात्रुलाई सास्ती

तेह्रथुम, कात्तिक ७ गते । चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन् । चाडबाडका बेला सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भए पनि यात्रुले सडक र सवारीमा अत्यन्तै धेरै सास्ती व्यहोर्न बाध्य भएका छन् ।

धरानबाट तेह्रथुमको म्याङलुङसम्म चल्ने साना जिप, बोलेरो, ट्याक्सीलगायत सवारीले निर्धारितभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन् । व्यवसायीले आफूहरूलाई टिकटसमेत नदिएका यात्रुले बताएका छन् । धरान–तेह्रथुम खण्डमा यसअघि प्रतिव्यक्ति रु ५०० भाडा लिने गाडीले अहिले रु एक हजारसम्म भाडा लिएर सवारी चलाइरहेका छन् ।

दशैँ बित्न लाग्दा चल्न थालेका बसले समेत म्याङलुङ–संक्रान्तिबजार ९करीब ६५ किमी० सडक खण्डमा प्रतिव्यक्ति रु ६०० भाडा असुलिरहेको छ । आठराइ–फिदिम–इलाम–झापा सडक खण्डमा गुड्ने गाडीले समेत जथाभावी भाडा असुलेका छन् । यस्तै धरान–धनकुटा खण्डमा समेत निर्धारितदरभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन् ।
दुर्गम गाउँसम्म सडकको पुहँच त पुगेको छ । तर, चाडपर्वका बेला मौका छोपेर व्यवसायीले यात्रुसँग ठगीधन्दा चलाइरहेका छन् । रिजर्भका नाममा तेब्बर बढीसम्म भाडा लिएर यात्रुलाई ठग्ने काम भएको छ । सवारी साधनको कमी भएको भन्दै व्यवसायीले यात्रुबाट मनपरी भाडा असुल्ने गरेका छन् ।

दशैँमा बजार क्षेत्रमा व्यवसाय, काम र पढाइले बसेका घर फर्किएपछि बजार सुनसान बनेका थिए । दशैँमा सुनसान बनेका तेह्रथुमका म्याङलुङसहित जिरीखिम्ती, बसन्तपुर, सक्रान्तिबजारलगायत बजारमा मानिस र सवारीको चाप बढेको छ ।

विपद् पूर्वतयारी योजना निर्माण

तेह्रथुममा यस वर्षका लागि जिल्लास्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी लागू गरिएको हो ।

जिल्ला दैवी प्रकोप उद्धार समिति, जिल्ला समन्वय समिति, जिल्ला प्रहरीलगायत सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीसहित विभिन्न सङ्घ संस्थाको सक्रियतामा विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि योजना निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी तेह्रथुमका सभापति श्रीकृष्ण दाहालले बताउनुभयो ।

योजनामा विगतमा भएका विपद्का घटना र तिनको सुक्ष्म विश्लेषण गरी आगामी दिनमा समेत हुनसक्ने विपद्का घटना र पूर्वतयारीका लागि योजना समावेश गरिएको छ । विपद् पूर्वतयारी योजनामा आगलागीको जोखिम भएका क्षेत्रका रुपमा बाक्लो बस्ती भएका बजार र गाउँ, सुख्खा क्षेत्र तथा फुसको छानो भएका घर र चेतनाको कमी रहेको क्षेत्रलाई पहिचान गरिएको छ ।

यस्तै म्याङलुङ नगरपालिका–७ र ८ लाई पहिरोको जोखिमको क्षेत्रका रुपमा पहिचान गरिएको छ । छथर गाउँपालिकाको आङिदम, लालीगुराँस नगरपालिकाको वडा नं १, २, ४ र ७, फेदाप गाउँपालिकाको वडा नं ५ र २ तथा आठराई गाउँपालिकाको वडा नं २ लाई समेत पहिरोको जोखिम भएको क्षेत्रका रुपमा पहिचान गरिएको छ ।

हाल तेह्रथुमका विभिन्न ११ वटा गाउँमा मात्रै विपद् पूर्वतयारी योजना निर्माण गरी पूर्वतयारीका गतिविधि भइरहेका छन् । नेपाल रेडक्रस सोसाइटीले आम्बुङ, मोराहाङ, इसिवु, सुङनाम, आङिदम, फुलेक, वसन्तपुर, श्रीजुङ, सम्दु, खाम्लालुङ र पञ्चकन्यामा मात्रै विपद् पूर्वतयारी प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयनमा रहेको जनाएको छ ।(रासस) ……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra )

 

राष्ट्रसंघीय मिसनमा अब २० प्रतिशत महिला प्रहरी

 

नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पठाउने महिला प्रहरीको संख्या बढाएर २० प्रतिशत पु-याएको छ । फम्र्ड पुलिस युनिट (एफपियू) शान्ति मिसनअन्तर्गत कुल संख्यामध्ये २० प्रतिशत महिला प्रहरी पठाउने भएको हो ।

प्रहरीले बनाएको एफपियू छनोट कार्यादेश, २०७५ मा २ जुनियर अधिकृतसहित हरेक एफपियू टोलीमा कम्तीमा २० प्रतिशत महिला पठाइने उल्लेख छ । शान्ति मिसनमा महिलाको संख्या बढाउने राष्ट्रसंघकै नीतिअनुसार नेपाल प्रहरीले महिला प्रहरीको संख्या बढाउने निर्णय गरेको हो ।

‘राष्ट्रसंघको महासभामा जाँदा प्रहरी महानिरीक्षकज्यूले महिलाको संख्या २० प्रतिशत पु-याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो,’ डिआइजी शैलेश थापा क्षेत्रीले भने, ‘कार्यादेशमार्फत त्यसलाई कार्यान्वयन अघि बढाइएको हो ।’

संयुक्त राष्ट्रसंघले सन् २०२० सम्म शान्ति मिसनमा २० प्रतिशत महिला पु-याउने नीति लिएको छ । जसअनुसार सबै देशलाई महिला सैनिक तथा प्रहरीको संख्या बढाउन निर्देशन दिएको थियो । शान्ति मिसनमा महिलाको संख्या ज्यादै न्यून भएको भन्दै राष्ट्रसंघले संख्या बढाउन लागेको हो ।

राष्ट्रसंघीय शान्ति मिसनमा जनशक्तिका हिसाबले नेपालको योगदान छैटौँ स्थानमा पर्छ । नेपाली सेनाले पनि राष्ट्रसंघीय शान्ति मिसनमा महिलाको संख्या बढाउँदै लगेको छ । सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार पछिल्ला वर्ष शान्ति मिसनमा महिलाको संख्या उल्लेख्य रूपमा बढेको छ । छनोटको प्रतिस्पर्धामै धेरै महिला सफल हुने गरेको उनले बताए ।

उत्कृष्ट प्रहरीको कोटा अझै दुरुपयोग
एकपटकको एफपियू मिसनमा ११ जना प्रहरी उत्कृष्ट काम गरेको आधारमा छनोट हुन्छन् । तर, उत्कृष्ट कोटाको दुरुपयोग रोकिएको छैन । प्रधानमन्त्री, गृहमन्त्री र आइजिपीका निकटका प्रहरीलाई पठाइने विकृति अझै छ ।

११ मध्ये दुईजना उत्कृष्ट प्रशिक्षक, विशेष कार्यदलबाट एकजना, उत्कृष्ट अनुसन्धानकर्ता र खेलाडी एक–एकजना पर्छन् । बाँकी पाँचजना उत्कृष्ट काम गरेको भन्दै भिआइपीका निकट व्यक्ति पठाइने विकृति हटेको छैन । उत्कृष्ट छनोटका लागि प्रहरी महानिरीक्षकको सचिवालयका डिआइजी तथा एसएसपीको नेतृत्वमा एक समिति गठन गरिएको छ । सोही समितिले ११ जनाको नाम टुंगो लगाउनेछ।

छनोट कार्यादेशमा प्रहरीको छवि उच्च बनाउने गरी काम गरेको तथा जोखिमपूर्ण भूमिका निभाएको व्यक्ति भनिएको छ । तर, यस्तो कोटामा संगठनका लागि दुःख गर्ने भन्दै पहुँचवाला व्यक्तिका निकट रहेका प्रहरी छनोट हुने गरेको गुनासो प्रहरी अधिकारीको छ ।

यसबाहेक अन्य प्रहरीको छनोट भने पारदर्शी हुँदै गएको छ । आफ्नो पदमा वरिष्ठताका आधारमा सबै प्रदेश, महानगरीय प्रहरी तथा प्रहरी प्रधान कार्यालयले परीक्षा लिएर नै छनोट गर्छन् । सबै कार्यालयबाट आफ्नो पदमा सिनियरमध्येलाई सिफारिस गरेपछि परीक्षा लिएर त्यसमा उत्कृष्ट हुनेलाई एफपियू मिसनमा पठाउने गरिएको छ । हाल छनोट कार्य चलिरहेको एसएसपी विभूतिराज पाण्डेले बताए ।

राष्ट्रसंघले कोटा बढायो

राष्ट्रसंघले द्वन्द्वग्रस्त देश सुडानको डार्फरमा खटिएको नेपाल प्रहरीको एफपियू टोलीको कोटा बढाएको छ । यसअघि डार्फर मिसनमा एक सय ४० जनाको टोली जाने गरेकोमा अब एक सय ८० जना जानेछन् । ‘डार्फर एफपियू मिसनमा ४० जनाको कोटा थप भएको छ,’ प्रहरीको युएन शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डे भन्छन्, ‘गृह मन्त्रालयबाट स्वीकृत गराई हामीले यसपटक एक सय ८० जना पठाउनेछौँ ।’ एसपी मीरा चौधरीको कमान्डमा एक सय ८० जनाको टोली डार्फरमा जाने तयारीमा छ ।

नेपाल प्रहरीबाट डार्फर र हाइटीमा गरी दुईवटा एफपियू टोली कार्यरत छन् । हाइटीमा एक सय २० जनाको टोली खटिँदै आएको छ ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ। / published in Todays Naya Patrika)

जनकपुर जयनगर रेल सुरु

 

भारत सरकारको ५ सय करोड बढीको अनुदान सहयोगमा जयनगर–जनकपुर–बर्दिबास रेल्वे ट्रयाक निर्माणको काम भइरहेको छ । आगामी डिसेम्बर सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनामा नेपाली निर्माण कम्पनीहरुले पनि काम गरिरहेका छन् । रेल्वे विभागका प्रवक्ता अमन चित्रकारले जनकपुर जयनगर रेल निर्माण भई संचालन हुँदा नेपाललाई महँगी नियन्त्रण सँगै, निर्माण प्रविधि र शीप हासिल हुने बताए । साथै यसले नेपाली यातायात तथा पारवहनमा ठुलो परिवर्तन ल्याउने विश्वास उनले व्यक्त गरे ।

भारत सरकारको अनुदान सहयोगमा नेपालको ५ वटा नाकाहरुमा रेल्वेको अन्तरदेशीय लाइन निर्माण भइरहेका छन् । पहिलो चरणमा जोगबनी विराटनगर र जनकपुर बर्दिबासको निर्माणको काम भइरहेको छ ।

भारत सरकारको मुख्य निर्माण कर्ता इरिकोन कम्पनी सँगै काम गरिरहेको रमण कन्स्ट्रक्सनले आगामी दिनमा रेल्वे सम्बन्धि निर्माणका लागि आफुहरु तयार रहेको बताएको छ । जयनगर बर्दिबास खण्डको ट्रयाक निर्माणको काम नेपाली कम्पनी रमण कन्स्ट्रक्सनले भारतीय कम्पनी इरिकोन सँग मिलेर गरिरहेको छ । जनकपुर जयनगर रेलको निर्माण सम्पन्न भए सँगै स्थानीय बजार सस्तो हुने भएको छ ।

नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म चल्ने नयाँ रेल्वे सेवा सुरु भए सँगै माल सामान ढुवानीको लागत घट्न जाने हुँदा बजार सस्तो हुने भएको हो ।

भारतको जयनगरदेखि महोत्तरीको कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हल्ट र ५ स्टेशन निर्माणको अन्तिम चरणमा पुगेको छ । स्टेशन भवन, आवास निर्माण पनि अन्तिम अवस्थामा छ । यात्रुवाहक रेल गुडाउन जयनगर–बर्दिवास ६९ किलोमिटरको ब्रोडगेज सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई गत असोज २६ गते मालबाहक रेल गुडाएर परिक्षण गरिएको थियो । रमण कन्स्ट्रक्सनले भारतको झारखण्डबाट रेल्वे लिकमा प्रयोग हुने गिट्टी ब्लास्ट बोकेको ५३ वटा डब्बा रेलको माध्यमबाट नै ल्याएको छ ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *