काठमान्डौ
निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई वैधानिकता दिएको छ । प्रमुख निर्वाचन आयुक्तको शुक्रबारको इजलासले नेकपालाई वैधानिकताको फैसला सुनाएको हो ।
तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भैइ बनेको यो पार्टीको नाम अर्कोसँग मिलेको भन्दै विवादमा थियो । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाममा अर्को पार्टी दर्ता गरेको भन्दै गत साउनमा निर्वाचन आयोगमा मुद्दा दायर गरेको थियो । मुद्दा परेपछि दुवै पार्टीलाई लिखित स्पष्टीकरण सोधेको निर्वाचन आयोगले शुक्रबार सत्तारुढ नेकपालाई वैधानिकता दिने निर्णय सुनाएको हो ।
७ कात्तिकमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य मुक्ति प्रधानले इजलासमा बयान दिएका थिए । कट्टेलले २२ साउन ०७० मा पार्टी दर्ता गरेका हुन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले–माओवादी एकतापछि २३ जेठ ०७५ मा दर्ता भएको हो ।
न्यायका लागि अदालत जान्छौँ : ऋषि कट्टेल अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी
हामीले पहिले नै नेपाल कम्युनिस्ट पार्टी दर्ता गरेका हौँ । फेरि उस्तै नामको पार्टी कसरी दर्ता गर्न मिल्छ ? निर्वाचन आयोगले न्याय दिएन । अब सर्वोच्च अदालतमा मुद्दा हाल्छौँ । सत्ता शक्तिको प्रयोग गरी आफ्नो पक्षमा फैसला गराइेको छ । हामी अन्याय सहँदैनौँ ।