धनगढी
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तकी आमाले बुधबार धनगढी आएर मुख्यमन्त्री त्रिलोचन भट्टसँग भक्कानिँदै भनिन् ‘हामीले पैसा, नोकरी, महल केही मागेका छैनाैं, ठेला चलाएरै गुजारा गरौंला । तर न्यायको भीख माग्दा पनि नजिकैको अभिभावक प्रदेश सरकारलाई पनि हाम्रो पीडा किन दुख्दैन ?’
हत्याको ९८ औं दिनमा निर्मलाका आमाबाबुसहित नागरिक संघर्ष समितिले प्रदेश सरकारलाई दोस्रो पटक ज्ञापनपत्र बुझाएका छन् । दुई महिनाअघि उनीहरूले पहिलो ज्ञापनपत्र मुख्यमन्त्रीलाई बुझाएका थिए । तर प्रदेश सरकारबाट कुनै चासो नदीएको आरोप लगाउँदै पीडित परिवारले मुख्यमन्त्रीसमक्ष आक्रोश पोखेका छन् ।
निर्मलाकी दिदी मनिषाले समेत गहभरि आँसु पोख्दै भनिन् ‘मुख्यमन्त्रीज्यू, मेरी बहिनी निर्मलाको के गल्ती थियो र हाम्रो परिवारले न्यायका लागि यति धेरै तड्पिनु परेको छ ?’ ‘तपारिं हामीले जिताएर पठाएको नजिकको अभिभावक हो किन शिर निहुराएर मौन बस्नुभएको छ ?’ दबाब समूहकी संयोजक मीना भण्डारीले प्रश्न गरिन् ‘कसको दबाबमा तपाईं मौन बस्नुभएको छ ? न्याय दिन सक्दैनाैं भने सकिन्न भन्दिनुस्, हामी चुपचाप बस्छौं भोलिदेखि ।’
नागरिक संघर्ष समितिको अगुवाइमा मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन मृतक निर्मलाका आमाबाबु, दिदी, भाइलगायत महिलाहरूको समूह बुधबार कञ्चनपुरबाट धनगढी आएको हो । ज्ञापनपत्र बुझाउने क्रममा अधिकारकर्मी शारदा चन्दले प्रदेश सरकारले कुनै चासो नदेखाएकोमा आफूहरू निकै दु:खी भएको बताइन् ।
‘तपाईं त न्यायका लागि बन्दुक उठाएर आएको मान्छे, यति बेला जनताका लागि त केही बोल्दिनुस्’ चन्दले भनिन् ‘सरकारले अहिलेसम्म नौटंकी मात्र गरेको छ । अहिले अरूको पनि डीएनए परीक्षण गर्ने कुरा त झन् अर्को नाटक चर्तिकला हो । प्रमाणै नष्ट गरिसकेपछि केको डीएनए टेस्ट ?’
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले केही नगरेको भन्ने आरोप सही नभएको जिकिर गरे । ‘तपाईंहरूको आक्रोश जायज हो, तपाईंहरूका पीडा महसुस गर्दै हामीले सक्ने जति गरेका छौं’ मुख्यमन्त्री भट्टले भने ‘प्रदेश सरकारसँग भएको अधिकारानुसार हामीले सुरुदेखि नै निर्मला घटनालाई गम्भीरतापूर्वक लिएका छौं, केन्द्र सरकारलाई घटनाको संवेदनशीलताबारे जानकारी गराउँदै आएका छौं ।’
केन्द्र सरकारले यस घटनालाई प्रत्यक्ष रूपमा हेरिरहेको सबैलाई जानकारी भएको उनले बताए । आन्दोलनका क्रममा घाइते भएकाहरूको पनि कुनै वास्ता नगरिएकोमा व्यक्त आक्रोशलाई सम्बोधन गर्दै उनले भने ‘हामी उपचाररतहरूलाई सहयोग गर्नेछौ।’ संघर्ष समितिका प्रतिनिधिहरूले अबको दबाब प्रदेश सरकार केन्द्रित हुने बताएका छन् ।कान्तिपुर