जनकपुर
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्लाहीमा भएको गोली काण्डको घटनामा दोषीलाई उम्काउन संघीय र प्रदेश सरकार दुवै लागिपरेको आरोप लगाएका छन् ।
‘दोषीलाई उम्काउनु भनेको अपराधलाई प्रश्रय दिनुु हो,’ नेता निधिले भने । शनिबार जनकपुरधामको जिरोमाईलस्थित जनकपुर युथ क्लवको १३ औं साधारणसभामा बोल्दै नेता निधिले गोली काण्डका दोषीलाई कार्वाही गर्न सरकारसँग माग पनि गरेका छन् ।
पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधिले मधेशवादी दललाई कम्युनिष्ट सरकारले आफ्नो जालोमा पारेर ठग्दै आएकोले यस सरकारबाट संविधान संशोधन कहिल्यै गराउन नसक्ने जिकिर गरे ।
मधेशवादी दलले मधेशको विकास गर्न सके पनि मधेशी जनताको एजेण्डालाई कहिल्यै पनि स्थापित गर्न नसक्ने उनको दावी थियो । संघीय प्रणालीमा संघीय सरकारका साथै प्रदेश सरकारलाई समेत जनतालाई न्याय दिलाउनु पर्नेमा पृष्ठपोषणमा लागेको उनको आरोप थियो ।
उनले संघीयतामा प्रदेश सरकारको आफ्नै संसद, प्रहरी, प्रशासन, अदालत, कर्मचारी हुनुपर्ने कांग्रेसको माग रहेको बताए । उनले भने, ‘कम्युनिष्टको सरकार संघीयता विरोधी छ र मधेशवादी दललाई कम्युनिष्ट सरकारले आफ्नो जालोमा पारेर ठग्दै आएको छ ।’सभार: अन्नपुर्ण पोस्ट