आफ्ना बुवा को शरीर देखाउन माग गर्दै पत्रकार खशोग्जीका छोराहरु

अन्तर्राष्ट्रिय फोटो फिचर समाचार
शेयर गर्नु होला

अमेरिका

हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका छोराहरुले साउदी सरकार समक्ष बाबुको शरीर देखाउन आग्रह गरेका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई दिएको अन्तर्वार्तामा छोराहरुले खशोग्जीको शवको धार्मिक विधिअनुसार दाहसंस्कार गर्न साउदी सरकारसँग यस्तो आग्रह गरेका हुन् । खशोग्जीलाई टर्कीको इस्तानबुलस्थित साउदी अरेबियाको महाबाणिज्यदूतावासमा अक्टोबर २ तारिखका दिन साउदी सुरक्षाकर्मीको एक टोलीले हत्या गरेको थियो । टर्कीका राष्ट्रपतिले उक्त हत्या साउदी अरेबिया सरकारको उच्च नेतृत्वको आदेशपछि भएको दाबी गर्दै आउनुभएको छ ।

सिएनएनसँग वासिङ्टनमा कुरा गर्दै अब्दुल्लाह खशोग्जी र उनका भाइ सलाहले बाबुको शरीर साउदी अरेबियाको मदिनास्थित अल–बाकीमा दाहसंस्कार गर्नेगरी साउदी सरकारसँग आग्रह गरिएको बताउनुभयो । टर्कीका सरकारी वकीलहरुले जमाल खशोग्जीलाई महाबाणिज्यदूतावासमा प्रवेश गरेलगत्तै हत्या गरिएको बताउनुभएको छ । उहाँले खशोग्जीको शरीर टुक्राटुक्रा पारेको समेत बताउनुभयो ।  टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोआनका सल्लाहकार यासिन आक्टेले शुक्रबार एक लेख प्रकाशित गरी जमाल खशोग्जीको हत्या पश्चात शवलाई तेजाबमा डुबाइएको हुन सक्ने बताउनुभएको छ ।

खशोग्जीको हत्याको संयुक्तराज्य अमेरिका समेत विश्वभरबाट निन्दा र भत्र्सना गरिएको छ । खशोग्जीका छोराहरुले बाबुले गरेका कार्यहरुलाई राजनीतिक उद्देश्य हासिल गर्न प्रयोग गरिएको आशंका समेत व्यक्त गरेका छन् । सलाहले सिएनएनसँग भन्नुभयो, “मलाई जमालका बारेमा अति राजनीतिकरण हुन थालेको अनुभव भइरहेको छ । जमाल कहिल्यै साउदी सत्ताको विद्रोही हुनुहुन्थेन । उहाँको अटल विश्वास राजतन्त्रप्रति थियो ।”  अब्दुल्लाहले बुबाको हत्याका बारेमा स्पष्ट जानकारी र सूचना प्राप्त नभएको बताउनुभयो । उहाँले प्राप्त जानकारीहरु भ्रमित गर्ने किसिमका रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो सामान्य परिस्थिति होइन र उहाँको मृत्यु सामान्य पक्कै होइन ।”
सलाहले जोड दिँदै भन्नुभयो, साउदी राजाले दोषीहरु सबैलाई कानुनको कठघरामा उभ्याउने बताउनुभएको छ । मलाई राजाको वचनप्रति विश्वास छ । (रासस/एएफपी)


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *