न्यूयोर्क ,अमेरिका
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमणलाई लिएर समाचार लेख्दा पत्रकार लोकमणि राईमाथि कुटपिट भएको छ । अमेरिकाको न्यूयोर्कस्थित क्वीन्सको उडसाइडमा पत्रकार लोकमणि राईमाथि त्यहाँको समयअनुसार गएराति कुटपिट भएको हो । पत्रकार राईमाथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँगै अमेरिकाका पुगेका उनका निकट सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले कुटपिट गरेका हुन् ।
‘उडसाइडमा तिहारको कार्यक्रममा मलाई पनि निम्ता भएकाले त्यहाँ पुगेको थिएँ, कार्यक्रममा केही समय बसेर बाहिर निस्केको समयमा मुख्यमन्त्रीको त्यस्तो समाचार किन लेखेको भन्दै ममाथि कुटपिट भयो’, राईले अन्नपूर्णसँग भने, ‘उमेश राईले मेरो अनुहारमा मुक्का बर्साएपछि तत्कालै मलाई एम्बुलेन्सले स्थानीय अस्पतालमा लगेर भर्ना गर्यो, ६ घण्टा अस्पताल बसेपछि डिस्चार्ज भएको छु । पत्रकार राईमाथि कुटपिट भएपछि घटनास्थलमा तत्कालै प्रहरी पुगेको थियो । प्रहरीले अस्पतालमा पत्रकार राईसँग भेटेर प्रहरीले दोषीलाई कारबाही गर्ने बताएका छन् । ‘विश्वमै सबैभन्दा राम्रो अभिव्यक्ति स्वतन्त्रता भएको देशमा ममाथि समाचार लेखकै आधारमा कुटपिट भएको छ, अब कानुनी लडाइँमा जाने तयारीमा छु ।’
आफूमाथि भएको कुटपिटको घटना सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि मिल्नुपर्ने दबाब आउन थालेको जानकारी उनले दिएका छन् । अमेरिकामा पत्रकारमाथिको आक्रमणलाई अत्यन्तै गम्भीररुपमा लिइन्छ । पत्रकार राईमाथि भएको यो कुटपिटको घटनामा संलग्नमाथि अमेरिकाबाट डिर्पोट गर्न सक्ने समेत कानुनी व्यवस्था त्यहाँ छ ।
पत्रकार लोकमणि राई ले के लेखेका थीए
उपचारका लागि थाइल्याण्डको बैंकक हिँडेका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई मङ्गलवार साँझ अमेरिका आइपुगेका छन् ।
उनलाई न्यु जर्सीस्थत नेवार्क इन्टरनेशनल एअरपोर्टमा निमित्त महावाणिज्यदूत पुष्पराज भट्टराई, सङ्घीय समाजवादी फोरम न्यु योर्कका उपाध्यक्ष, जनमुक्ति पार्टीका अमेरिका अध्यक्ष अग्नि राई, तत्कालीन डिमक्रटिक फोरम (प्रवासी मञ्च) को–अर्डिनेटर टेक गुरुङलगायतले स्वागत गरेका छन् । स्वागतमा एमाले सम्बद्ध प्रवासी मञ्चका वर्तमान पदाधिकारी र कार्यकर्ताको उपस्थिति भने लगभग शून्य थियो ।
मुख्यमन्त्री राईको स्वागतमा एमाले सम्बद्ध प्रवासी मञ्चका वर्तमान पदाधिकारी र कार्यकर्ताको उपस्थिति भने लगभग शून्य थियो । निमित्त वाणिज्य दूत भट्टराईले प्रदेश एकका मुख्यमन्त्री राईलाई स्वागत गरेको बताए । ‘मुख्य मन्त्रीज्यू आउने भन्ने जानकारी पाएपछि स्वागत गर्न गएँ,’ उनले भने ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्डको ब्यांकक पुग्ने निर्णय मात्र भएको छ । ‘निजी भ्रमण भए पनि मुख्यमन्त्रीजस्तो मान्छे क्याबिनेटको निर्णय बिना अन्य देश जान मिल्दैन,’ परराष्ट्रका ती अधिकारीले भने, ‘यसरी बिना निर्णय अर्को देश भ्रमण गर्नु कूटनीतिक आचारसंहिता विपरीत छ ।’
स्रोतका अनुसार मुख्यमन्त्री राई अमेरिका आउने निर्णय प्रदेश एकको क्याबिनेटले पनि गरेको छैन । नेपाल कम्युनिस्ट पार्टीलाई पनि मुख्यमन्त्री राई अमेरिका आउने औपचारिक जानकारी छैन । ‘अध्यक्षलाई भनेर हिँड्नु भएको होला,’ एमालेका एक उच्च अधिकारीले भने, ‘पार्टीलाई औपचारिक जानकारी गराइएको छैन ।’
पार्टीको निर्णय र सरकारको स्वीकृति बेगर अमेरिका पुगेकाले उनलाई प्रवासी मञ्चका कार्यकर्ताको जत्था विमानस्थलमा स्वागत गर्न नपुगेको अनुमान गरिएको छ । उनलाई स्वागत गर्न पुगेका सङ्घीय समाजवादी फोरमका उपाध्यक्ष हेवेन्ली पाथका प्रवर्तक पनि हुन् ।
उपाध्यक्ष राष्ट्रसंघीय महासभामा भाग लिन आएका नेपालका प्रधानमन्त्री केपी ओलीलाई कालो झन्डा देखाउने कार्यक्रम आयोजकमध्ये एक हुन् । मुख्यमन्त्री राईको स्वागतमा हेवेन्ली पाथ न्यु योर्कका अध्यक्ष सुकु राई (पम्फा) पनि पुगेकी थिइन् ।
स्रोतका अनुसार मुख्यमन्त्री राई न्युयोर्कको कार्यक्रम सकेर वासिङ्टन डिसीस्थित क्यानडेली दूतावास पुग्ने योजनामा छन् । त्यसपछि उनी नायग्रा फल्स हुँदै क्यानडा जाने कार्यक्रम छ ।साभार: अन्नपुर्ण पोस्ट