एजेन्सि
वैज्ञानिकहरुले ‘सुपर अर्थ’ नामको ग्रह पत्ता लगाएका छन् । सुर्यबाट नजिकको तारा बनार्ड परिक्रमा गर्ने उक्त ग्रह पृथ्वीभन्दा तीन गुणा ठूलो र ६ प्रकाश वर्ष टाढा रहेको वैज्ञानिकहरुको दाबी रहेको छ ।यो ग्रह २० वर्षको सुक्ष्म अध्ययन, सात सय ७१ पटकको परीक्षण र सातवटा अत्याधुनिक उपकरणहरुको सहयोगबाट पत्ता लागेकाे बुधबार प्रकाशनमा आएको जर्नल नेचरमा उल्लेख गरिएको छ ।
सुपर अर्थ भनिएको यो ग्रहको सतहको तापक्रम सौर्यमण्डमा रहेको ग्रह शनिभन्दा चिसो रहेको वैज्ञानिकहरुले अनुमान गरेका छन् । यसको सतहमा बरफको मरुभुमि रहेको र तरल पानी नरहेको वैज्ञानिकहरुले विश्वास गरेका छन् । यसको अनुमानित तापक्रम माइनस दुई सय ७४ फरेनहाइट रहेकोे छ ।
टेलिस्कोपबाट हेर्दा अन्तरिक्षमा यो ग्रह अरु तारा भन्दा छिटो हिँडेको देखिन्छ किनकी यो सुर्यभन्दा अधिक गतिमा हिँड्छ । यो ग्रह बनार्ड स्टारलाई परिक्रमा गर्ने परिधि र बुधले सुर्यलाई परिक्रमा गर्नेे परिधि समान रहेको दाबी गरिएको छ, जुन दुई सय ३३ दिन हुन जान्छ । वैज्ञानिकहरुले यो ग्रह पहिलो पटक रेडियल भेलाेसिटि विधि प्रयोग गरि पत्ता लगाएका हुन् ।