पार्टीमा उमेर हद तोक्नुपर्ने काँग्रेसका युवा पुस्ताका नेताको माग

समाचार
शेयर गर्नु होला

काठमाडौँ

नेपाली काँग्रेसका युवा पुस्ताका नेताले केन्द्रीय कार्य समितिमा अब ७० वर्षसम्म मात्रै बस्न पाउने नीतिगत व्यवस्था गर्नुपर्ने माग गरेका छन् । शीर्ष नेतामा बाँचुञ्जेल पद र शक्तिमै रहनुपर्छ भन्ने सोच रहेकाले यो व्यवस्था हुनुपर्ने युवा नेताले जोड दिएका हुन् । युवा पुस्ताका केन्द्रीय सदस्यहरूले नेपाल विद्यार्थी संघमा ३० वर्ष, कांग्रेसको युवा संगठन नेपाल तरुण दलमा ४० वर्ष र पार्टीको केन्द्रीय कार्यकारी समितिमा ७० वर्षको उमेर हद तोकिनुपर्नेमा धारणा राख्नुभएको छ ।

स्थानीय, प्रदेश र संघको निर्वाचनमा पार्टीले नराम्रो हार खाएपछि एक ठाउँमा आएका युवाले महासमिति बैठकमा पेश गरिने विधान, राजनीतिक, आर्थिक प्रस्तावजस्ता विषयमा युवाको आवाजलाई मुखरित गर्न साझा अवधारणा बनाउने तयारी गरेका छन् ।काँग्रेसका प्रभावशाली युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, बद्रीप्रसाद पाण्डे र जीवन परियारले बुधबार एक भेला गरेर प्रारम्भिक छलफल गरेका छन् भने शुक्रबार थप छलफल गर्ने भएका छन् ।

केन्द्रीय सदस्य गगनकुमार थापाले भन्नुभयो, ‘‘अहिलेका शीर्ष नेताहरुलाई पार्टीमा महत्वपूर्ण भूमिका लिँदा आफ्नो उमेर कति थियो फर्केर हेर्न आग्रह गर्छु, उहाँहरूले ३०–४० वर्षमा सरकार र पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभयो, युवाहरूलाई स्थान दिनुपर्छ भनेर उहाँहरूले सोच्नुपर्ने बेला अब भयो ।’’ पार्टीका कोही नेताहरू विश्राम लिन तयार छैनन् र हुँदैनन्, त्यसैले युवा पुस्ताका नेताले स्थान पाउने अवस्था रहेन भने बाहिर रहेका युवालाई पार्टीमा आकर्षण गर्ने कुरा त झनै सम्भव छैन, नेता थापाले भन्नुभयो ।

युवा नेता तथा केन्द्रीय सदस्य गुरुराज घिमिरेले ‘समग्र पार्टीकै विषयमा युवाबीच छलफल हुँदैछ, केन्द्रीय कार्यकारी समितिमा ७० वर्षपछि बस्न हुन्न भन्ने प्रस्ताव आएको छ, यसैले प्रमुखता पाएको अवस्था चाहिँ होइन’ भन्नुभयो । नेता थापाले नेविसंघमा ३०, तरुण दलमा ४० र पार्टीको कार्यकारी समितिमा ७० वर्षको उमेर तोकिनुपर्छ भन्नुभयो । बी।पी। कोइरालाले युवालाई पार्टीमा प्रवेश गराउन नेपाल तरुण दलको स्थापना गर्नुभयो तर हालका शीर्ष नेताहरूले तरुण दललाई चार–पाँचजनामा सीमित बनाउनु भएको छ ।

त्यति मात्र होइन तरुण दलको महाधिवेशन गर्नसमेत शीर्ष नेताहरूले रोकेको गुनासो युवा पुस्ताका नेताको छ । नेपाल विद्यार्थी संघको अवधि मङ्सिर २ गते सकिँदैछ । त्यसलाई पनि भङ्ग गरेर दुई÷चार जनालाई टीका लगाउने अवस्था नेतृत्वले सिर्जना गरेको भनाइ नेता थापाको छ । काँग्रेसले युवालाई पार्टीमा प्रवेश गराउने मुहान नै बन्द गरेको आरोप उहाँले लगाउनुभयो ।

युवाको समूहलाई पनि फराकिलो बनाएर लैजाने क्रममा केन्द्रीय सदस्यहरू कमला पन्त, कल्याण गुरुङ, किरण यादव, रामकृष्ण यादव, प्रदीप पौडेललगायतका युवा नेता शुक्रबारको छलफलमा सहभागी हुने छन् । कल्याण गुरुङ हाल विदेशमा रहे पनि समर्थन रहेको जानकारी नेता घिमिरेले दिनुभयो ।गोरखापत्र


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *