काठमाडौँ — ललितपुर प्याट्रियट्सले महबुब आलमलाई टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को नया संस्करणका लागि रिलिज गरिदिएको छ । खेल जीवन टुंगाउने संघारमा रहेका भेट्रान अलराउन्डर आलमलाई ललितपुरले नराखेपछि अब उनको खेल माथि आउन गाह्रो पर्ने देखिएको छ ।
नेपालगन्जमा बम राख्ने पक्राउ, प्रहरीद्वारा नगद, मोबाइल सिम बरामद
नेपालगन्ज — ब्यस्त रहने पुष्पलाल चोकमा बम राखेर आतंकित पार्ने जाजरकोट दहाका २७ वर्षीय प्रदीप वली पक्राउ परेका छन् । बाँके प्रहरीले सीसी क्यामराको फुटेजको आधारमा उनलाई पुष्पलाल चोक नजिकैबाट पक्राउ गरेको हो ।
सप्तकोसीमा मोटरबोट : पर्यटक त बढे तर महंगो
गाईघाट : सप्तकोसी नदीमा जेटबोट सञ्चालन भएपछि आन्तरिक र वाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको वरहाक्षेत्र, पर्यटकीय क्षेत्र मैनामैनी, कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र हेर्न आउनेको संख्या बढेको हो । मन्दिरको दर्शन गर्न पाइने, प्राकृतिक दृश्यहरुको अवलोकन र जलयात्राको पनि अनुभव गर्न पाइने भएपछि आन्तरिक र वाह्य पर्यटकको संख्या बढेको छ ।
पर्यटनलाई मध्यनजर गरेर बेलका नगरपालिकाले वडा नम्बर ७ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सव समेत आयोजना गरेको छ ।
नियमित यातायात साधन
उदयपुर र सुनसरीको सीमा भएर बग्ने सप्तकोसी नदीमा सञ्चालनमा ल्याइएको जेटबोटबाट धनकुटा र भोजपुर जिल्लाका सीमास्थलसम्म पुगिन्छ । जेटबोट सञ्चालनसँगै कोसी नजिक बसेका सर्वसाधरणले समेत यसैलाई नियमित यातायातको साधन बनाएका छन् ।
दुःखले बनाइएका सडकमा यातायातका साधन सञ्चालनमा नआएपछि उनीहरु जेटबोट मार्फत दैनिक रुपमा आवतजावत गर्छन् । सडकको बाटोबाट समय पनि धेरै लाग्ने र इन्धन पनि बढी खर्च हुने भएपछि भोजपुरको उत्तरपश्चिमी क्षेत्रमा मोटरसाइकल खरिद गरेका अधिकांश सर्वसाधरण समेत जेटबोट नै रोज्छन् ।
कोही त जेटबोटबाट मोटरसाइकल बोकाएर पनि जाने गर्छन् । जेटबोटमा मोटरसाइकल तार्दै गरेका तेजेन्द्र राईले भने, ‘बिराटनगरबाट आएको गाडीको बाटोबाट जाँदा सुनसरी, धनकुटा हुँदै घर पुग्दा झण्डै १ हजारको तेल खर्च हुने रहेछ, जेटबोटबाट जाँदा आउन जान ७ सयले पुग्छ ।’
जल यातायात मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको संयुक्त पहलमा जेटबोट सञ्चालनमा ल्याइएको हो । अघिल्लो वर्षबाट सुरु भएको जेटबोट करिव चार महिना वर्षात्को समयमा रोकिएको र अहिले नदीमा जलप्रवाह घटेकोले कात्तिक महिनादेखि पुनः संचालन गरिएको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताए ।
स्थानीयका अनुसार अचेल दैनिक करिव एक हजार भन्दा बढीको संख्यामा मानिस जेटबोटबाटै आवतजावत गर्छन् । अरुण, तमोर र दुधकोसीको संगम त्रिवेणीको मनोरम प्राकृति छहराको दुश्यावलोकन गर्न जलयातायात मार्फत घुम्ने पर्यटकको संख्या दिनहुँ बढिरहेको बेलका नगरपालिका–७ का वडाध्यक्ष सुरेन्द्र राईले बताए ।
द्रूत तर महंगो
यसरी जल यातायात गराउँदै आएका सप्तकोसीमा दुई वटा जेटबोट छन् । उदयपुर, सुनसरी, धनकुटा हुँदै भोजपुरको त्रिवेणीस्थल सिम्लेसम्मको १६ किलोमिटर जलयातायात संचालन हुँदै आएको हो ।
झण्डै २० मिनेटको यात्रा हुने एक जेटबोट सामान्यतः २० जना क्षमताको छ । अन्य सवारी साधनबाट ४५ मिनेटको समय लाग्ने चतारा बराहाक्षेत्रसम्मको यात्रामा जेटबोटबाट ३ मिनेट २५ सेकेण्डमा पुग्न सकिन्छ ।
सेवा छिटो भए पनि भाडादर भने निकै महंगो भएको स्थानीयको गुनासो छ । स्थानीयले भाडादरलाई पुर्नविचार गर्नु पर्ने माग गरेका छन् । साथै सरकारले सप्तकोसी नदीमाका बीचमा रहेका ठूला ढुंगा पंन्छाएर बाटो खोलिदिएको खण्डमा एक घन्टामै तुम्लिङटार र दुई घण्टामा दोलालघाटसम्म सहजै पुग्न सकिने स्थानीयको बुझाइ छ ।
व्यावसायिक रुपले सप्तकोसी नदीमा पहिलो पटक सञ्चलनमा ल्याइएको जेट चढ्न उल्लेख्य रुपमा यात्रु आउने गरेको र यसबाट दैनिक १० हजारसम्म आम्दानी हुने गरेको बताइन्छ ।.….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post)
प्रधानमन्त्रीको शरीरमा कुकुरको टाउको : नेविसंघ कार्यकर्ता रिहा
काठमाडौँ : कुकुर तिहारका दिन प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा कुकुरको टाउको जोडेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका कांग्रेसनिकट नेविसंघका एक कार्यकर्ता साधारण तारेखमा रिहा भएका छन् ।
काभ्रेको तपेश्वर माविस्थित नेविसंघ इकाइका अध्यक्ष कृष्ण ढकाललाई पक्राउ गरी महानगरीय प्रहरी अपराध महाशाखामार्फत् साइबर अपराधमा मुद्दा चलाइएको थियो ।
काठमाडौँ जिल्ला अदालतले ढकाललाई शुक्रवार साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । साधारण तारेखमा रिहा भएका ढकाललार्इ स्वागत गर्न नेविसंघ अध्यक्ष नैनसिंह महरसहितका नेता-कार्यकर्ता बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत परिसर पुगेका थिए ।
ढकाल पक्राउ विरोधमा कांग्रेसनिकट नेविसंघले देशभर आन्दोलन गरेको थियो । त्यसक्रममा उनीहरुले प्रम ओलीको पुत्ला पनि जलाएका थिए । पुत्ला दहनका क्रममा भएको झडपमा उदयपुरको गाईघाटमा सशस्त्र प्रहरी र नेविसंघका कार्यकर्ता घाइते समेत भएका थिए । ………………………….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post )
महासङ्द्वारा भत्र्सना
काठमाडौँ, कात्तिक ३० गते । नेपाल पत्रकार महासङ्घले महासङ्घका सभासद् एवं रेडियो थाहा सञ्चारमा कार्यरत् पत्रकार देवीराम देवकोटालाई यातायात व्यवसायी राजु चन्दले आक्रमण गरी घाइते बनाएको घटनाप्रति भत्र्सना गरेको छ ।
महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी कुनै पनि बहानामा पत्रकारमाथि आक्रमण गरिनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताउँदै महासङ्घले प्रेसविरोधी यस्ता घटनाको कडा भत्र्सना गरेको उल्लेख गर्नुभएको छ ।
महासङ्घले आक्रमणमा संलग्नमाथि कानूनी कारवाही गरी प्रेसलाई स्वतन्त्र र निर्धक्करूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।
यही कात्तिक २९ गते साँझ परिवारसहित काठमाडौँ जान कोहलपुर बसपार्क पुगेका पत्रकार देवकोटालाई बस चढ्ने क्रममा टिकटअनुसार सिट नपाएपछि सिट माग्ने क्रममा सिट छैन, मुढामा बसेर जाने भन्दै यातायात व्यवसायी चन्दले आक्रमण गरेका थिए । आक्रमणबाट पत्रकार देवकोटाको टाउको र आँखामा चोट लागेको छ । (रासस) ……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra)
विराटनगरको विकासमा प्रदेश प्रमुखको चासो
विराटनगर, कातिक ३० गते । प्रदेश नं। १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले विराटनगरमा भइरहेका विकास र निर्माणका विषयमा चासो देखाउनुभएको छ । विराटनगर महानगरका प्रमुख भीमप्रसाद पराजुलीलाई बिहीबार उहाँले आफ्नै कार्यालयमा बोलाएर यहाँ भइरहेका गतिविधिका बारेमा जानकारी लिनुभएको हो ।
विराटनगर प्रदेश नं। १ को अस्थायी राजधानी र ऐतिहासिक शहर भएकाले यहाँको गतिविधिबारे जानकारी लिनका साथै विराटनगरलाई नमूना शहर बनाउन उहाँले सुझाव दिनुभएको महानगर प्रमुख पराजुलीले जानकारी दिनुभयो ।
विराटनगर विकासको बाटोमा लम्कीसकेको चर्चा गर्दै उहाँले विराटनगर महानगरभित्र भ्यू टावर, विराट राजाको दरवार, ४०० किमी सडक कालोपत्र, वैकल्पिक मार्ग विस्तार, स्वच्छ खानेपानीका लागि जाइकासंगको सहकार्य, खेलमैदान निर्माणलगायत कार्यक्रम अगाडि बढिरहेको पनि अवगत गराइएको बताउनुभयो । (रासस) …….. ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra )
लमजुङमा स्कुल बसको ठक्करबाट एकको मृत्यु
स्कुल बसको ठक्करबाट लमजुङमा एक जनाको मृत्यु भएको छ । बेसीशहर नगरपालिका-१ डुम्रे बेसीशहर सडकखण्डस्थित उदिपुर खोलामा गोल्डेन फ्युचर एकेडेमी बोर्डिङ स्कुलको बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।
बसले ठक्कर दिँदा पैदलयात्री बेसीशहर नगरपालिका-४ पुरानकोटका वर्ष ७३ का टकबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रहरीका अनुसार गुरुङको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने ना ३ ख ७३९४ नम्बरको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिए ।……… ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika )
तान्त्रिकको भेषमा विदेशी जोडी, हिरासतमै सुत्केरी
पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्दै हिँड्ने तीन विदेशीलाई गृह मन्त्रालयले कारबाही सुरु गरेको छ । जापानी यासुको ओबा र मारी इकुरा तथा अस्ट्रेलियन महिला कटिया ग्राहमलाई जरिवाना गराएर निष्कासन गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।
इसाई धर्म प्रचार गर्दैगर्दा पक्राउ परेका उनीहरू अहिले अध्यागमन विभागको हिरासतमा छन् । यासुको र मारी १८ कात्तिकमा बुटवलबाट पक्राउ परेका थिए भने अस्ट्रेलियन ग्राहम गत सोमबार बर्दियाको गुलरियाबाट पक्राउ परेकी हुन् ।
पर्यटक भिसामा नेपाल आएर अन्य कुनै काम गरे कारबाही हुने प्रावधान अध्यागमन ऐनमा छ । धर्म परिवर्तन गर्ने कार्यलाई त नेपालको कानुनले नै अवैध ठहर गरेकाले उनीहरूलाई कारबाही गर्न लागिएको विभागले जनाएको छ ।
धर्म परिवर्तनविरुद्ध गृहमन्त्रीकै सक्रियता
गृहमन्त्री रामबहादुर थापा बादल धर्म परिवर्तनमा विदेशीहरू सक्रिय हुन थालेकामा असन्तुष्ट छन् । नेपालमा मन्दिरहरू भत्काएर चर्च बनाउन लागिएको सूचना प्राप्त भएको सार्वजनिक कार्यक्रममै बताएका छन् । उनले नेपालमा विभिन्न भिसामा रहेका विदेशीको निगरानी गरी गलत गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् । उनको निर्देशनअनुसार अध्यागमन विभाग तथा जिल्ला प्रशासन कार्यालयहरूले सक्रियता बढाएका छन् । मन्त्रीकै निर्देशनअनुसार सक्रियता बढाइएको अध्यागमन विभागका एक अधिकारीले बताए ।
बिजनेस भिसामा नेपाल आएर धर्म प्रचार
पर्यटक भिसा मात्र होइन बिजनेस भिसामा नेपालमा बस्ने विदेशीसमेत धर्म प्रचारमा संलग्न भएको पाइएको अध्यागमन विभागले जनाएको छ । ललितपुरको पुल्चोकमा सिङ–मा फुड कोर्टका सञ्चालक र कर्मचारीसमेत धर्म प्रचारमा लागेको खुलेको थियो । त्यही रेस्टुरेन्टको नाममा भिसा लिएकी इन्डोनेसियाकी महिला रिता गोंगा र उनका फिलिपिनी श्रीमान् दी भेरा रिचार्ड नेपालमा क्रिस्चियन धर्म प्रचारमा संलग्न रहेको खुलेको थियो ।
उनीहरूले कुमारीपाटीमा ‘एभ्री नेसन चर्च’ चलाउँदै आएका थिए । विभागको अनुसन्धानमा उनीहरू धर्म परिवर्तनकै लागि नेपालमा बसेको खुलेपछि जरिवान गरी गत असारमा निष्कासन गरिएको थियो । नेपालमा बिजनेस भिसामा बस्दै आएका सयभन्दा धेरै व्यक्ति इसाई धर्मको प्रचार तथा धर्म परिवर्तनको ‘धन्दा’मा सक्रिय रहेको विभागको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
रेस्टुरेन्टका साथै भाषा प्रशिक्षण केन्द्रजस्ता साना लगानीका कम्पनी खोलेर विदेशीहरू नेपालको अध्यागमन कानुनविपरीत अवैध गतिविधिमा संलग्न छन् । विदेशी नागरिकमाथि प्रभावकारी अनुगमन हुन नसक्दा यस्ता अवैध गतिविधि बढ्दो छ । नेपालमा दुई हजारभन्दा धेरै विदेशी बिजनेस भिसा लिएर बसेको तथ्यांक अध्यागमन विभागसँग छ । बिजनेस भिसा लिन नेपालमा कम्तीमा ५० लाख रुपैयाँबराबरको लगानी गर्नुपर्छ र त्यसरी लगानी गरेको कम्पनीमा अनुगमन गरेपछि मात्र बिजनेस भिसा दिन सकिने प्रावधान छ । तर, भिसाका लागि सिफारिस गर्ने उद्योग विभाग र भिसा दिने अध्यागमन विभागले विस्तृत अध्ययन र अनुगमन नगर्दा धर्म प्रचारको विकृति बढेको अधिकारीहरू बताउँछन् ।
अनुगमन तीव्र बनाउने तयारी
सरकारले हालै विदेशीहरूको नियमनका लागि निर्देशिका बनाएको छ । गृह मन्त्रालयले ‘विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५’ केही महिनाअघि ल्याएको हो । निर्देशिकाअनुसार विदेशी नागरिकमाथि नियमनमा कडाइ गर्न लागिएको विभागका प्रवक्ता विष्णुहरि उपाध्यायले बताए । विभागले हालै विदेशीले सञ्चालन गरेका केही कारखानामा अनुगमनसमेत गरेको छ । निर्देशिकाले अध्यागमन अधिकारीले छापा हान्न सक्ने र पक्राउ पुर्जीसमेत दिन सक्ने अधिकार दिएको छ ।
तान्त्रिकको भेषमा विदेशी जोडी, हिरासतमै सुत्केरी
नेपालमा तीन वर्षदेखि अवैध रूपमा बस्दै जर्मन नागरिक अर्ने बेन्जामिन र उनकी चिनियाँ श्रीमती साइमेन झाओ अहिले अध्यागमन विभागको हिरासतमा छन् । उनीहरूलाई निष्कासनको तयारी हुँदै गर्दा झाओ एक साताअघि अध्यागमनको हिरासतमै सुत्केरी भएकी छिन् । ३५ दिनदेखि हिरासतमा रहेको यो जोडी विनाभिसा चार वर्षदेखि नेपालमा रहेको खुलेको छ ।
तीन वर्षअघि स्पेनमा भेट भएपछि उनीहरू प्रेममा परेका थिए । त्यसपछि झाओलाई लिएर नेपाल भित्रिएका बेन्जामिन आफूलाई तान्त्रिक बताउँदै विभिन्न ठाउँ घुम्दै आएका थिए । उनीहरू २४ असोजमा काठमाडौंमा पक्राउ परेका हुन् । बेन्जामिनलाई चार लाख ९८ हजार तथा झाओलाई चार लाख ४१ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
जर्मन युवकसँग बिहे गरेकाले आफू जर्मनी नै जाने झाको चाहना भए पनि जर्मन दूतावासले ट्राभल डकुमेन्ट नदिएपछि उनले स्वदेश फर्किन चिनियाँ दूतावासमा निवेदन दिएकी छिन् । दूतावासबाट निर्णय नहुँदा उनको हिरासत बसाइ लम्बिएको हो ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika )