आज का (सोमबार) पत्र-पत्रीका हरु का मुख्य समाचार हरु जस्ता को त्यस्तै (As Published in Todays News Papers)

फोटो फिचर विचार/ब्लग समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ — कांग्रेस सभापति शेरबहादुर देउवाले ‘अधिनायकवादी सरकार’ का गलत क्रियाकलापको विरोध गर्नुपर्नेमा आफ्नै पार्टीका साथीहरू आफूविरूद्ध लागेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर सबैलाई तर्साउन खोजेकाले यसका बिरुद्ध कांग्रेस लड्न तयार रहेको उनले बताए ।‘मविरुद्ध बोल्नुभन्दा सरकारविरुद्ध खनिनु होस्,’ उनले भने, ‘अहिलेको कम्युनिष्ट सरकार अधिनायकवादी बाटोमा लागेर सम्पूर्ण रुपमा देश कब्जा गर्न लागेका छन् ।’ आफ्नो लडाईं नेकपासँग भएको तर पार्टीका नेताहरु आफूविरुद्ध लागिरहेको गुनासो गरे ।

देउवाले आफ्ना पार्टीका नेताहरुले सरकारको विरोध गर्न नसकेर आफ्नो विरुद्धमा लागेको पनि बताए । पार्टी विधानअनुसार आफूले पार्टी सञ्चालन गरेको भन्दै सभापति देउवाले भने, ‘गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको पालामा अरूले चुइक्क पनि बोल्न सक्दैनथे तर अहिले मेरो पालामा बोल्न पाएका छन अनि बिरोध गरिरहेका छन् ।’

कोइराला परिवारका तीन नेताले पार्टीको गुमेको शाख फर्काउने प्रतिबद्धता गरेको भोलीपल्ट विराटनगर आइपुगेका देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले जोसुकै नेता तथा कार्यकर्ताले संगठन गर्न पाउने बताएका छन् ।

उनले सबैले आ–आफ्ना समूह बनाएर अलग अलग बहस चलाउन पाउने भएकैले कांग्रेस प्रजातान्त्रिक पार्टी भएको बताए । ‘पार्टीभित्रका कुरा धेरै भन्न चाहन्न तर अहिले सबैको ध्यान देशमा बढ्दै गरेको कुम्युनिष्ट पार्टीको अधिनायकवादको विरोध गर्न केन्द्रित हुनुपर्छ,’उनले भने,‘अधिनायकवादको खिलाप सबैलाई बोल्नु पर्छ ।’

पार्टी विधान अनुसार चलेकै कारण बिग्रेको उनको टिप्पणी थियो । पार्टी महाधिबेशन समयमा हुने उनले बताए । नेबिसंघले काम गरेर देखाउनु पर्ने भन्दै देउवाले म्याद थपेरै मात्र केही नहुने बताए ।……………( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

 

ब्रेक्जिट सम्झौता मस्यौदाः ईयूले थप छलफल नगर्ने

 

 

लन्डन — जर्मनी र युरोपेली संघका अन्य मुलुकहरूले सोमबार बेलायतलाई ब्रेक्जिट सम्झौताको मस्यौदामाथि थप छलफल हुन नसक्ने जनाउ दिएका छन् ।

जर्मनीका कन्जरभेटिभ पार्टी नेता म्यानफ्रेड वेबरले ‘ब्रेक्जिटबारे अब थप छलफल नहुने’ बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । उनका अनुसार यसबारे बेलायतले अन्तिम निर्णय गर्नुपर्ने अत्यावश्यक छ । वेबरले आगामी वर्ष युरोपेली संघको नेतृत्वका लागि प्रतिस्पर्धा गर्दै छन् ।
बर्लिनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा वेबरले ‘सम्झौताको मस्यौदा टेबलमा छ र यसबारे अब कुनै छलफल नुहुने’ बताएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । त्यसैगरी, जर्मनीका युरोप मामिला मन्त्री माइकल रथले ‘बेलायतको पक्षमा यो भन्दा राम्रो मस्यौदा नहुने’ दाबी गरे ।

लक्जम्बर्गका विदेशमन्त्रीले पनि सम्झौताबारे थप छलफल हुने सम्भावना नरहेको बताए । मन्त्री जिन आसेलबर्नले भने, ‘सम्झौता नहुनुभन्दा जस्तोसुकै भए पनि हुनु राम्रो हो ।’ उनले सम्झौता बेलायत र युरोपेली संघ दुवैको पक्षमा रहेको दाबी गरे । त्यसैगरी बेल्जियम, नेदरल्यान्ड र चेक रिपब्लिकका मन्त्रीहरूले पनि सम्झौता मस्यौदा अन्तिम भएको धारणा राखेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

बेलायती प्रधानमन्त्री टेरेजा मे गत साता भएको मस्यौदा सम्झौताको पक्षमा संसद्मा समर्थन जुटाउन संघर्ष गरिरहेकी छन् । तर, उनकै दलका केही राजनीतिज्ञ र विपक्षी दलका सांसदले समेत प्रस्तावित मस्यौदाको विरोध गरिरहेका छन् । बेलायतका दुई वरिष्ठ ब्रेक्जिट मन्त्री डोमिनिक रब र श्रम तथा पेन्सन मन्त्री एस्टर मक्भेले ब्रेक्जिट सम्झौताप्रति असन्तुष्टि जनाउँदै आफ्नो पदबाट राजीनामा दिएका थिए ।

रोयटर्स समाचार संस्थासँग कुरा गर्दै युरोपेली मामिला हेर्ने जर्मनीका मन्त्री माइकल रथले भने, ‘अहिले टेबलमा रहेको सम्झौताभन्दा राम्रो अर्को सम्झौता हुन सक्दैन ।’ ५८५ पृष्ठ लामो मस्यौदामा ब्रेक्जिटपश्चात् २१ महिना संक्रमणकाल रहने उल्लेख छ । सम्झौतामा बेलायतमा रहेका ईयू देशका नागरिक र ईयू देशमा बसेका ब्रिटिस नागरिकलाई काम र अध्ययन गर्न अधिकार प्रदान गरिएको जनाइएको छ ।

बेलायतले ईयूलाई बक्यौता (३९ बिलियन पाउन्ड डिभोर्स बिल) तिर्ने प्रतिबद्धता समेत सम्झौतामा छ । प्रस्तावित सम्झौतामाथि छलफल गरी पारित गर्न आउँदो आइतबार युरोपेली संघका सदस्य मुलुकहरूको शिखर बैठक बस्दै छ । ब्रेक्जिटमा ईयू कमन मार्केट तथा भन्सार संघ छोड्ने र उत्तरी आयरल्यान्डको सीमा समस्या पेचिलो मुद्दा बनेका छन् । आउँदो मार्च २९ तारिख २०१९ का दिन ब्रिटेन युरोपेली संघबाट बाहिरिने मिति तोकिएको छ ।……( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

 

 

हेटौँडाबाट राजधानी सारिए नाकाबन्दी गर्ने चेतावनी

 

 

हेटौंडा : तीन नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्त सारिए नाकाबन्दी गर्ने चेतावनी मकवानपुरमा क्रियाशील राजनीतिक दलसम्बद्ध युवा संगठनले दिएका छन् ।सोमबार मिडिया नेपाल मकवानपुरले हेटौंडामा गरेको कार्यक्रममा युवा संगठनका प्रमुखहरुले राजधानी हेटौंडाबाट अन्यत्र सारिए देशले ठुलो दुर्घटना खेप्नुपर्ने चेतावनी दिएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईँले स्थायी राजधानीबारे खुल्ला बहस गर्न तयार रहेको बताए ।

‘यदि हेटौंडाको भन्दा राम्रो पूर्वाधार भएको ठाउँ छ भने हामी खुल्ला छलफलका लागि तयार छौं’, उनले भने, ‘तर दुई चार नेताको स्वार्थका लागि राज्यले करोडौं रुपैयाँ खर्च गरिसकेको ठाउँ छाडेर अर्बौ खर्च गराउने कुरा मान्य छैन ।’

हेटौंडालाई चारैतिरबाट राष्ट्रिय राजमार्गले घेरेको र सबैभन्दा टाढा रहेको जिल्ला रसुवासँग पनि सीधा बस सञ्चालनको तयारी प्रदेश सरकारले गरेकाले अपायक परेको गुनासो बहाना मात्र भएको चौँलागार्इँको दाबी छ ।

नेपाली काग्रेसनिकट दरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सारिए नाकाबन्दी गर्ने चेतावनी दिए ।

‘हाम्रो माऊ पार्टी नेपाली कांग्रेस, हाम्रा युवाहरु र मकवानपुरमा क्रियाशील राजनीतिक दलहरु पनि यसका लागि तयार छन्’, उनले भने, ‘यदि हेटौंडाबाट राजधानी चलाइए देशको राजनीतिले अर्कौ मोड लिनसक्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीसम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका हेटौंडा नगर अध्यक्ष भृगु कार्कीले राजधानीको विषयमा बहस आवश्यक नरहेको बताए । ‘राजधानी चलाउनु भनेको देशमा अस्थिरता निम्त्याउनु हो’, उनले भने, ‘यहाँ राजधानी चलायो भने काठमाण्डौंले मात्र होइन, अन्य प्रदेशका जनताले पनि दुःख पाउँछन् ।’

कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी सम्बद्ध युवा संगठनका मकवानपुर अध्यक्ष सुदिप कार्कीले प्रदेश राजधानीसँग जनताका दैनिक काम नजोडिने भएकाले सांसदहरुको स्वार्थमा राजधानी सार्ने कुरा मान्य नहुने बताए । ‘यदि त्यसो भयो भने हामीले काठमाण्डौंलाई चयनले सुत्न दिने छैनौं’, उनले भने ।

राजधानीको टुङ्गो लाग्न नसक्दा डेढ महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । मकवानपुर सहित पाँच जिल्ला राजधानीका लागि उपयुक्त हुने प्रतिवेदन स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिले दिए पनि सत्तारुढ दल नेकपाका नेताबीच एकमत नहुँदा अन्यौल यथावत छ ।

यद्यपि नेकपाबाट निर्वाचित मुख्यमन्त्री डोरमणि पौडेलले दुई साताभित्र राजधानीको विषय टुुङ्गो लाग्ने दाबी गरेका छन् । उनले राजधानी हेटौँडामै रहने धारणा पनि राख्दै आएका छन् ।….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post)

 

 

नेपालीको विरोधपछि भारतीयले गल्ती स्वकारे, जोगवनीबाट इन्धन ढुवानी सुचारु

 

विराटनगर : भारतको बरौनीबाट पेट्रोलियम पदार्थ लिएर आउने क्रमम नेपाली ट्यांकर चालक कुटिएको घटनामा भारतीय पक्षले गल्ती स्वीकारेको छ ।

जोगवनीमा सोमबार दिउँसो नेपाल–भारतका अधिकारीको वार्तामा भारतीय पक्षले गल्ती स्वीकारेको हो । भारतीय पक्षले आगामी दिनमा कुनै किसिमको दुव्र्यवहार नगर्ने प्रतिवद्धता पनि जनाएएको छ ।

भारतीय पक्षले गल्ती स्वीकारेपछि चालकले आफ्नो आन्दोलन फिर्ता लिएर पेट्रोलियम ढुवानीलाई दुई दिनपछि सुचारु गरेका छन् । जोगवनीमा ट्यांकर चालकमाथि त्यहाँका सुरक्षाकर्मीबाट भएको कुटपिट र दुरव्र्यवहारको विरोधमा उत्रिएका नेपाली ट्यांकर चालकले इन्धन ढुवानी नै ठप्प पारेर आन्दोलन सुरु गरेका थिए ।

भारतको बरौनीबाट पेट्रोल लोड गरी नेपाल आउँदै गरेको को १ ख ६००९ नम्बरको ट्यांकरका चालक मोनु कुमारमाथि गत शनिबार बिहान ४ बजे भारतीय सुरक्षाकर्मीले कुटपिट गरेका थिए ।

त्यस घटनापछि आक्रोशित बनेका चालकले कुटिपट गर्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही हुनुपर्ने, नेपाली ट्यांकर चालकमाथिको दुव्र्यवहार रोकिनुपर्ने, चालकको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, जाम भइरहेको सडकको विकल्प खोजिनुपर्ने लगायत माग राखेर इन्धन ढुवानी रोकेका थिए ।

चालकहरुले नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरको डिपोबाट समेत पूर्वका विभिन्न ठाउँमा रहेका पेट्रोल पम्पसम्म पनि लोड–अनलोड नगरिदिँदा इन्धनको अभाव सुरु हुन थालेको थियो । चालकको आन्दोनलका कारण नेपालबाट इन्धन लिनका लागि गएका एक सय ७० वटा ट्यांकर भारतको बथनाहा, मीरगन्ज र जोगवनीमै रोकिएका थिए ।

समस्या समाधानका लागि सोमबार जोगवनीमा नेपाल–भारत अधिकारी दुई पक्षीय वार्ता भएको हो । वार्तामा भारतीय पक्षबाट अररिया जिल्लाका प्रमुख, जोगवनीका मेयर लगायत भारतीय सुरक्षा अधिकारीका प्रमुखहरु थिए ।

नेपालका तर्फबाट विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारी, नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरका प्रमुख दिनेश यादव, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौला, नेपाल पेट्रोलियम ट्यांकर चालक संघ प्रदेश १ का अध्यक्ष केशव आचार्य लगायत थिए । समस्या समाधानका लागि मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पनि भारतीय पक्षसँग पहल गरिरहेका थिए ।

सहमति अनुसार भन्सार पुर्‍याइएका ट्यांकरलाई त्यहाँको आवस्यक प्रक्रिया पूरा गरेर बिहान छ देखि सात बजेसम्म नेपाल प्रवेश गराइसक्नु पर्ने छ । बाँकी रहेका अन्य ट्यांकरलाई प्रत्येक दिन राति आठ देखि १० बजे सम्ममा नेपाल ल्याउने सहमति भएको छ ।………………………….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post )

 

 

अर्को धर्म मान्नेलाई हेला गर्नुहुँदैन– राष्ट्रियसभा अध्यक्ष

 

काठमाडौँ, मङ्सिर ३ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार आ–आफ्ना धर्म मान्न र आस्था प्रकट गर्न राज्यले कसैलाई नरोकेको बताउनुभएको छ ।

राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ११ औँ राष्ट्रिय भेलाको आज यहाँ उदघाटन गर्दै उहाँले भन्नुभयो, “एउटा धर्म मान्नेले अर्को समुदायको धर्म मान्नेमाथि हेला गर्नु हुँदैन । संविधानले धर्म नै नमान्न स्वतन्त्रताको अधिकार पनि दिएको छ ।”

नेपालका अल्पसङ्ख्यक धार्मिक समुदायको सुरक्षाका लागि संविधानमा व्यवस्था भएअनुसार सरकारले मानवाधिकारको प्रत्याभूति गर्नेसम्बन्धी १६ कानून पारित गरिसकेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले नेपालको संविधानले विभेद्रहित तथा न्यायपूर्ण समाजको परिकल्पना गरेको बताउँदै जुनसुकै धर्म मान्ने व्यक्तिले आप्mनो धर्मग्रन्थ पढ्न पाउनुपर्छ र आप्mना बालबच्चालाई पढाउन सक्छ भन्नुभयो ।

आफ्नो प्राथना गृहमा प्रवेश गरेर कोही व्यक्तिले दुव्र्यवहार गरेमा उजुरी राष्ट्रिय मानव अधिकार आयोगमा दिनसक्ने बताउँदै उहाँले राज्यले अल्पसङ्ख्यक धार्मिक समुदायलाई संविधानबमोजिम संरक्षण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालका अध्यक्ष सिबी गहतराजले धर्मप्रति आस्था राख्ने कुनै पनि व्यक्तिले धर्म अवलम्बन गर्न र आस्था प्रकट गर्न पाउने संविधानमा प्रष्ट व्यवस्था रहेको बताउँदै ‘बाइबल’ पढ्ने व्यक्तिलाई धर्म परिवर्तन ग¥यो भनी लाञ्छना लगाउनु गलत भएको बताउनुभयो ।

‘स्वाभिमान र अधिकारसम्पन्न नेपाली ख्रीष्टियन समुदायको सुनिश्चितता’ भन्ने नाराका साथ राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ११ औँ राष्ट्रिय भेला २०७५ आज शुरु भएको छ । नेपालमा हाल ३० लाख ख्र्रीष्टियन रहेको र १२ हजार चर्च रहेको बताइएको छ ।  (रासस) ……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra)

 

 

ठेकेदारको लापरबाहीले धारापानी सिँचाइ योजना अलपत्र

 

भीमदत्तनगर, मङ्सिर ३ गते । निर्माण कम्पनीको बेवास्ताका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना अलपत्र परेको छ ।

सिँचाइ आयोजना सम्पन्न गर्न ठेक्का पाएको आशिष कन्ट्रक्सन धनगढीले दुई पटक समयसीमा थप गर्दा पनि काममा ढिलाइ गरेपछि योजना नै अलपत्र परेको हो । दोस्रो पटक काम गर्न थप गरिएको समय सकिएर आठ महीना बितिसक्दा पनि योजनाको काम निर्माण कम्पनीले अटेर गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरले जनाएको छ ।

‘‘आशिष कन्ट्रक्सनलाई दोस्रो पटक काम सक्ने गरी गत फागुन १० गतेसम्म म्याद दिइएको थियो’’ जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरका सूचना अधिकृत इञ्जिनीयर ग्रीष्मा ठगुन्नाले भन्नुभयो, “कार्यालयबाट पनि मौखिक र लिखित रुपमा ताकेता गर्दा पनि निर्माण व्यवसायी सम्र्पकमा आएनन् ।”

सिँचाइ आयोजनाको नहर, कल्र्भटलगायत अन्य पूर्वाधार निर्माणका लागि उक्त निर्माण कम्पनीसँग २०७२ असार २५गते रु चार करोड १५ लाखका सम्झौता भएको इञ्जिनीयर ठगुन्नाले जानकारी दिनुभयो । ‘‘शुरुवातमा सम्झौता गर्दा २०७३ असोज महीनासम्मको म्याद थियो’’ उहाँले भन्नुभयो, “तोकिएको मितिमा काम नसक्ने भएपछि पुनः २०७४ फागुन २७ गतेसम्मको म्याद दिइएको थियो ।”

दुबै म्याद सकिएको आठ महीना बितिसक्दा निर्माणका चासो नदेखाएपछि कार्यालयबाट लिखितरुपमा ताकेता गरिएको थियो । ‘‘निर्माण कम्पनीले करीब ६० प्रतिशत काम सकेर रकम भुक्तान समेत भइसकेको छ’’ ठगुन्नाले भन्नुभयो,“४० प्रतिशत काम अझै गर्न बाँकी नै छ ।” उहाँका अनुसार हालसम्म गरेको कामबापतको रु दुई करोड ६७ लाख भुक्तानसमेत भइसकेको छ ।

सो क्षेत्रको तीन सय हेक्टर जमीनमा सिँचाइ पुग्ने गरी निर्माण गर्न लागिएको योजना समयमा पूरा नहुँदा स्थानीयवासी भने चिन्तित बनेका छन् । ‘‘ठेकेदारले नहर बनाउन ल्याएका सामान समेत धारापानी क्षेत्रमा अलपत्र छन्’’ दोमिल्लाका स्थानीय भीमदत्त भट्टले भन्नुभयो ।

दुई प्याकेजमा निर्माणको ठेक्का दिइएको उक्त सिँचाइ योजनाको कामको जिम्मा पाएको भीमदत्तनगरस्थित पृथ्वी महरा जेभीले समयमै काम सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ । पृथ्वी महरा जेभीले रु एक करोड २० लाख बढीको काम गत २०७३ असोजमै सम्पन्न गरिसकेको थियो ।

खानेपानीको समस्या समेत रहेको दोमिल्ला क्षेत्रमा स्थानीयवासी दशकौंदेखि आकाशको पानीको भरमा खेती गर्दै आएका छन । उहाँले मुल नहर निर्माणसँगै सिँचाइ पु¥याउन बनाउन पर्ने शाखा नहर निर्माणका लागि सर्वे हुन नसकेको बताउनुभयो ।

पानीको मुहानमै नहर निर्माणको काम हुन नसकेको बताउँदै उहाँले तत्काल नहर निर्माणका लागि सम्बन्धित निकायलाई पहल गरिदिन आग्रह गर्नुभयो । रासस……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra )

बिबिसीको ‘१०० महिला’को सूचिमा नेपालकी उमादेवी वादी

 

बिबिसीले सार्वजनिक गरेको ‘सन् २०१८ का १०० महिला’को सूचिमा नेपालकी उमादेवी वादी पनि परेकी छन् ।

विभिन्न किसिमको भूमिका निर्वाह गरेका विश्वभरिका प्रेरक र प्रभावशाली सय महिलाको सूचि सार्वजनिक गरिएको बिबिसीले उल्लेख गरेको छ ।

५४ वर्षीया उमा सूचीको दशौं नम्बरमा छिन् । उनका बारे बिबिसीले लेखेको छ, ‘उमा वादी समुदायकी हुन्, जुन समुदायलाई नेपालमा ‘अछूत’ मानिन्छ । उनी यो धारणा परिवर्तन गराउन काम गरिरहेकी छन् ।’
उनी प्रदेश नम्बर ७की प्रदेश सांसद हुन् ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika )

 

यस्ता छन् जुकरबर्गले दिएका सफलताका १० सूत्र

 

मार्क जुकरबर्ग फेसबुकका संस्थापक तथा परिकल्पनाकार हुन् । ३४ वर्षीय अमेरिकी युवा जुकरबर्ग पछिल्लो समयमा सबैभन्दा कम उमेरका खर्बपति बनेका छन् । फेसबुकबाट मात्रै उनी वार्षिक ४६ खर्ब ३४ अर्ब रुपैयाँ आम्दानी गर्छन् । उनीसँग अहिले एक सय ५० खर्ब रुपैयाँभन्दा बढी सम्पत्ति रहेको स्रोत बताउँछ । कलिलो उमेरमै सफलता हासिल गरेका उनै फेसबुकका जन्मदाता जुकरबर्गले आफूजस्तै सफल व्यवसायी हुन अरूलाई सुझाब दिएका छन् । उनका १० सुझाब यस्ता छन् :

 

१महत्वाकांक्षी हुनुहोस्
सकेसम्म ठूलै सपना देख्नुहोस् केही कुरा तपाईंकै पालामा निर्माण गर्नुहोस् । ताकि, त्यसले संसारलाई केही सकारात्मक परिवर्तन गर्न सहयोग पु-याओस् । जसबाट आउने पुस्ताले पनि प्रेरणा लिऊन् । केही गर्ने मार्गदर्शक सिद्धान्तहरू तयार पार्नुहोस् । सानै भए पनि काम गर्नुहोस् । तर, सधैँ ठूलो सोच राख्नुहोस् । सपना पनि सधैँ विशाल देख्नुहोस् । आममानिसको जीवन सुधार्ने खालका काम गर्नुहोस् । उनीहरूलाई पनि यसमा जोड्नुहोस् ।

२सुपर भावुक हुनुहोस्
तपाईं केही विशेष काम गर्न सक्ने मानिस हो भन्ने सधैँ मनमा राख्नुहोस् । एकैचोटि ह्वात्तै धेरै पैसा आउने कामतिर मात्र ध्यान नदिनुहोस् । तपाईंले गर्ने काम जस्तोसुकै सानो या ठूलो किन नहोस्, मात्र तपाईं त्यो कामप्रति प्यासोनेट हुन जरुरी छ । त्यसप्रति इमानदार पनि हुनुहोस् । एक दिन तपाईं अवश्य सफल हुनुहुनेछ, खासगरी आइटी संसारमा, जहाँ निरन्तर नयाँ विचारहरू आउँछन् र लामो समयसम्म प्रयोग गरिन्छ ।
३ सीमा आए भत्काउनुहोस्  अघि बढ्नुहोस्
तपाईं बसेको समाज तपाईंलाई राम्रो र विशेष लागिरहेको हुन सक्छ । तर, यदि तपाईंले चाहने हो भने त्योभन्दा पनि राम्रो संसार सिर्जना गर्न सक्नुहुनेछ । तपाईं बसेको समाज मात्र नभएर संसारै बदल्ने साहस राख्नुहोस् । तर, अरूको नक्कल (कपी) नगर्नुहोस् । पूरै विश्वलाई फाइदा पुग्ने काम गर्ने आँट गर्नुहोस् । यसका लागि जोखिम आए मोल्न पछि नपर्नुहोस् । यसैबीच, सीमाहरू आए तोड्नुहोस् । बाधा आए भनेर आफ्नो व्यवसायलाई साँघुरो घेरामा नखुम्च्याउनुहोस् ।

४तपाईंले गरिरहेको सबैभन्दा महत्वपूर्ण काम गर्नुहोस्
‘मैले सबैभन्दा महत्वपूर्ण कुरा (काम) गरिहेको छु । के म सधैँभरि यसरी नै गरिहन सक्छु ?’ हरेक दिन आफैँले आफैँलाई प्रश्न गर्नुहोस् । तपाईंले गरिहेको काम सबैभन्दा समस्याको काम (महत्वपूर्ण) होस् भन्ने फिल गर्नुहोस् । यो काम देश र समाजका लागि नगरी नहुने छ भन्ने सोच राख्नुहोस् ।
५ कडा परिश्रम गर्नुहोस्
तपाईंले देखेको सपना वास्तविकतामा परिणत गर्न सम्भव भएसम्म सबै इफर्ट लगाउनुहोस् । कुनै पनि काम सफल हुनका लागि मिहिनेत चाहिन्छ । त्यसैले कडा परिश्रम गर्नुहोस्, अवश्य सफल हुनुहुनेछ । आफ्नो लक्ष्य पूरा गर्न केही कुरा त्याग गर्नसमेत तयार हुनुहोस् ।
६आफैँलाई विश्वास गर्नुहोस्  काममा एकाग्र हुनुहोस्
तपाईं आफ्नो क्षमतामा केही कमी छैन भन्ने महसुस गर्नुहोस् । अरूलाई आफूप्रति नकारात्मक भावना आउन नदिनुहोस् । आफू सही बाटोमा हिँडेपछि कसैको पनि परवाह नगर्नुहोस् । आफ्नो व्यवसायबारे अपडेट हुँदै व्यवसायको व्यवस्थापनमा ध्यान दिनुहोस् । आफ्ना ग्राहकलाई सधैँ मूल्यवान् सम्झिनुहोस् । आलोचनालाई मनन गर्दै थप सुधारको माध्यम बनाउनुहोस् । यस्ता कुरा डायरीमा दिनहुँ नोट गर्नुहोस् ।
७लचिलो हुनुहोस्
परिवर्तन गर्न इच्छुक हुनुहोस्  व्यवसाय भनेको परिवर्तनशील हुन्छ । हरेक दिन नयाँ उत्पादन ग्राहकले खोज्छन् । यसो भन्दै गर्दा पुराना उत्पादनलाई पनि बोझ नसम्झिनुहोस् । आफ्नो व्यवसायलाई प्रत्येक दिन तपाईं फ्रेस आँखाले हेर्नुहोस् । बिस्तारै सुधार गर्दै जानुहोस् । नयाँ क्रान्तिका लागि अघि बढ्नुहोस् ।
८सधैँ दबाबमा रहनुहोस्
तपाईं एउटा उद्यमी हो । भित्री र बाहिरी दुवै रूपमा तपाईंसँग सधैँ स्पष्ट मार्गचित्र र अदम्य साहस हुनैपर्छ । तपाईंको यही क्षमताले दबाबबीच पनि माथि उठ्न मद्दत गर्छ । जति तपाईं आफूले केही गर्नुपर्छ भन्ने दबाब महसुस गर्नुहुन्छ, त्यति नै अघि बढ्नुहुन्छ ।
९वेलैमा काम सक्नुहोस् पर्फेक्ट नै हुनुपर्दैन
तपाईं केही काम सक्नुहोस् । यो पर्फेक्ट नहोला । तर, तपाईंले समयमै सक्नुभयो भने त्यो नै सर्वोच्च काम हुनेछ । संसारमा अहिलेसम्म कोही र केही पनि पूर्ण छैन । तसर्थ, आफ्नो तर्फबाट बेस्ट काम गर्ने प्रयास गरे पुग्छ । सबैको चित्त बुझाउने पर्फेक्ट काम गर्नैपर्छ भन्ने जरुरी छैन ।
१०सामान्य जीवनशैलीमा रहनुहोस्
यदि तपाईं अर्बपति हुनुभयो भने पनि फर्जी खर्च नगर्नुहोस् । अनावश्यक भड्किला सामग्री, महँगा कार, भव्य महल खरिद या प्रयोग गर्नतिर नलाग्नुहोस् । सधैँ आफ्नो कम्पनीलाई माथिल्लो स्तरमा पु-याउने भन्ने मात्र धाउन्न राख्नुहोस् । यसका लागि तपाईंको निवास पनि सकेसम्म कम्पनीकै परिसरमा होस् ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika )


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *