काठमान्डौ
देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आईसियू ६, इन्टरमिडियट (आईसियूमा लैजानुपूर्व बिरामी भर्ना गरिने बेड) १० र एक्स्ट्रा ३० गरी ४६ बेड कटौती गरेको हो ।
यसअघि ५२ बेडको केन्द्रीय अैसियूको अवधारणा भए पनि ३७ वटा आईसियू बेड सञ्चालनमा थिए । इन्टरमिडियट बेडको संख्या २० थियो । पुस ०७३ सम्म कान्तिको आईसियूमा १८ बेड थिए । बिरामीको चाप बढेपछि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले २२ पुस ०७३ देखि अैसियूमा ३४ बेड थप गरेका थिए । यद्यपि अस्पतालले ५२ वटा आईसियू बेड सञ्चालन गर्न सकेन । जम्मा ३७ बेड मात्र सञ्चालित थियो ।
अस्पताल निर्देशक गणेश राईले डाक्टर, नर्स र बजेटको अभावले सेवा प्रवाहमा गम्भीर समस्या आएको बताए । ‘मेडिकल अफिसर र अैसियूमा नर्सको चरम अभाव छ । बेडसंख्या थप गर्नुपर्ने समयमा घटाउनुपरेको छ ।
यसै साता ६ वटा आईसियू बेड घटाएर ३१ मा झारिएको छ’ निर्देशक राईले भने, ‘हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटकपटक सहयोगको अपिल गरेका छौं । तर सहयोग मिलेको छैन । यही अवस्था रहे अस्पतालका सबै सेवा चाँडै बन्द हुन्छ ।’
सरकारको सहयोग नपाएपछि निर्देशक राईले आफूलाई पदबाट हटाउन मन्त्रालयलाई अनुरोधसमेत गरेका छन् । तर, निर्देशक बन्न कसैले चासो नदेखाएपछि मन्त्रालयले उनलाई हटाउन नसकेको मन्त्रालयका एक सहसचिवले बताए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भने कान्तीको समस्याबारे आफू जानकार नभएको बताए । उनले बुझेर समाधान खोज्ने जानकारी पनि दिए । कान्तिको यस वर्षको बजेट १९ करोड २० लाख छ । गत वर्ष २१ करोड ८४ लाख विनियोजन गरिएको थियो । अहिले कान्तिमा दैनिक आठ सय बिरामी आउने निर्देशक राईले बताए ।नयापत्रिका दैनिक