काठमान्डौ
आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट सोमबार बिहानसम्ममामृत्युको शख्या ३४ पुगेको थियो । मर्नेहरुमा महिला १३, पुरुष १०, बालक एक, बालिका दुई, उपचारको क्रममा निधन एक गरी ३४ जनाको निधन भएको थियो र उक्त प्रकोप पछी अहिले त्याहा को अवस्था धेरै जटिल र जनजिबन अस्तब्यस्त भएकोछ।
अहिले देश भरी बाट बारा र पर्सा जिल्लामा राहत का धेरै कार्यक्रम हरु सुरु भएकोछ। हिजो मात्र प्रधानमन्त्री, स्वास्थ मन्त्री र गृहमन्त्री द्वारा उक्त क्षेत्र को भ्रमण गरी सबै घटना को जानकारी ली ईेल्कोछ। सोही प्रकरण मा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बारा र पर्सालगायत जिल्लामा भीषण हावाहुरीका कारण ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दैैै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज वक्तव्यमार्फत सो प्राकृतिक विपत्तिमा परी ठूलो सङ्ख्यामा जनसमुदाय घाइते भएकामा सहानुभूति प्रकट गर्दै घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
हावाहुरी, बाढीपहिरो, डढेलो, आगलागीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षलाई समयमा नै पूर्वसावधानी अपनाउनसमेत राष्ट्रपतिले ध्यानाकर्षण गराउनुभएको छ । उहाँले भौतिक पूर्वाधार विकास गर्दा जोखिम न्यूनीकरणका सबल उपाय अवलम्बन गर्न सरोकार भएका सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपतिले मुलुकका विभिन्न भागमा भएका सडक दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति पनि समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले हावाहुरी र असिनापानीले राष्ट्रलाई नै शोकमा पार्ने गरी मध्य तराईका बारा, पर्सा लगायत जिल्लामा भएको ठूलो मानवीय र भौतिक क्षतिले मर्माहत र दुःखित बनाएको बताउनुभएको छ । उहाँले अकल्पनीय प्रकारको प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनुभएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपतिले प्राकृतिक प्रकोपमा परी घाइते हुनुभएकाको शीघ्र पूर्ण स्वाथ्यलाभको कामना गर्दै प्रभावकारी उपचारका लागि सरकार र सबै पक्षको ध्यानाकर्षण गराउनुभएको छ । घाइतेको उद्धार र उपचार तथा पीडितका लागि राहत, पुनस्र्थापना र घर पुनःनिर्माणमा सरकारले विशेष ध्यान दिनेमा विश्वस्त रहेको बताउँदै उपराष्ट्रपतिले सुरक्षित आवास र भौतिक पूर्वाधार नहुँदा धेरै जनधनको क्षति भएको देखिएकाले त्यसलाई विशेष ध्यानमा राख्न सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई अनुरोधसमेत गर्नुभएको छ ।
एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्ने हामी नेपालीको संस्कार भएको स्पष्ट पार्दै उहाँले हावाहुरीबाट पीडितलाई स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइले सकेको सहयोग गर्ने अपेक्षा गर्नुभएको छ । अकल्पनीय प्राकृतिक प्रकोप पीडितको पीडामा आफू सधैँ साथमा नै रहेको बताउँदै उहाँले विपद्का समयमा खुला हृदयका साथ सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ ।रासस