वीरगञ्ज
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र सङ्कटको यस घडीमा सबै एक भएर हावाहुरीबाट पीडित भएकालाई सहयोग गर्न आग्रह गर्नुभएको छ । असिनापानीसँगै आईतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीबाट घाइते भैइ वीरगञ्ज उपक्षेत्रीय अस्पताल तथा नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेको स्वास्थ्य अवस्था बुझने क्रममा उहाँले अहिलेको यस सङ्कटको घडीमा हावाहुरीबाट प्रभावित भएका पीडितलाई राहत तथा पुर्नवास कार्यक्रममा सक्दो सहयोग गर्न आग्रह गर्नुभएको हो ।
उहाँले हावाहुरीबाट प्रभावितको समस्या सम्बोधन नभएमा काङ्ग्रेसले संसद्लगायतका स्थानबाट आवाज उठाउने बताउनुभयो ।
आजै सभापति देउवाले हावाहुरीबाट प्रभावित बाराको फेटा गाउपालिकाको भलुही, भरवलीयालगायतका क्षति भएका गाउँको स्थलगत निरीक्षण गर्नुभएको थियो ।
यसैगरी आजै फेटा गाउँपालिका–१ भरवलीयाको राजपा अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारी, राजपा अध्यक्ष राजेन्द्र महतो, अनिल झा, प्रदेश नं २ का मन्त्री जीतेन्द्र सोनललगायतले स्थलगत निरीक्षण गरी पीडितका समस्याबारे जानकारी लिनुभएको थियो ।