काठमान्डौ
कांग्रेसका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा चलिरहेको छ । बुधबार विहानबाट क्षेत्रपाटीस्थित होटल काठमाडौंमा चलिरहेको भेला विहीबारसम्म चल्नेछ । गत पुसमा सम्पन्न महासमिति बैठकले अनुमोदन गरेको निर्णयलाई उल्टाएपछि जिल्ला सभापतिहरुले त्यसको विरोध गर्दै आएका छन् ।
भेलामा संस्थापन पक्षीय जिल्ला सभापतिहरुलाई पनि बोलाइेको थियो । तर, उनीहरु उपस्थित भएका छैनन् । भेलामा पार्टीभित्र रहेका आन्तरिक समस्याका विषयमा छलफल भैरहेको काठमाडौं सभापति सवुज बानियाले जानकारी दिए ।
भेला कुनै नेताको तेजोवध गर्नका लागि आयोजना नगरी पार्टीलाई सुसंस्कृत बनाउनका लागि भएको उनको भनाई छ । भेला अहिले पनि जारी छ ।
पदाधिकारीसहित केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधानलाई विधानबाट हटाउनु पर्ने र समानुपातिक निर्वाचन प्रणालीका लागि राखिएको आरक्षण व्यवस्थामा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर पाउन नहुने जिल्ला सभापतिहरुले प्रस्ताव गरेका थिए ।
पुस ८ मा सकिएको महासमिति बैठकमा चार दर्जनभन्दा बढी जिल्ला सभापतिहरुले लिखित रुपमै त्यो प्रस्ताव पारित गर्न नेतृत्वलाई दवाव दिएका थिए ।
जिल्ला सभापतिहरुको प्रस्तावलाई अधिकांश महासमिति प्रतिनिधिले समर्थन गरेका थिए । जिल्ला सभापति र अन्य प्रतिनिधिहरुको प्रस्ताव अनुरुप केन्द्रीय समितिले विधान पारित गर्ने पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले महासमिति समापन समारोहमा प्रतिबद्धता जनाएका थिए । तर, सभापति र नेताको प्रतिवद्धतालाई केन्द्रीय समितिमा बहुमतले लत्याउँदै पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको थियो।
त्यसको विरोधमा २१ फागुनमा ५६ जिल्ला सभापतिहरुले हस्ताक्षर गर्दै विज्ञप्ति निकालेर केन्द्रीय कार्यसमितिको बैठकको बहुमतको निर्णयविरुद्ध दवाव सृजना गर्ने उल्लेख गरेका थिए । त्यही दवाव अनुरुप भेला आह्वान गरिएको हो ।