पाठेघरको मुखको क्यान्सर : लक्षण र बच्ने उपाय

फोटो फिचर स्वास्थ्य
शेयर गर्नु होला

पाठेघरको मुखको क्यान्सर

पाठेघरको मुखको क्यान्सर उक्त अङ्गमा अनियन्त्रित रूपमा कोषिकाको वृद्धि हो । यो ह्युमन प्यापिलोमा नामक कीटाणुको संक्रमणले गर्दा हुन्छ । पाठेघरको मुखमा बारम्बार संक्रमण हुने महिलालाई उक्त कीटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरूमा संक्रमण गर्न सक्छ र त्यसलाई अनियन्त्रित तवरले बढ्न मद्दत पुर्‍याउँछ र बिस्तारै क्यान्सरमा परिणत गर्छ ।

कसलाई हुन्छ ?

– प्रजनन् सक्षम कुनै पनि महिलालाई यो रोग लाग्न सक्छ ।

– साधारणतया ३० देखि ६० वर्ष उमेरका विवाहित तथा शारीरिक सम्पर्क भैसकेका महिलालाई यो क्यान्सर हुनसक्छ ।

– धेरै सन्तान जन्माएका महिला तथा सानो उमेरमा विवाह भएका महिलालाई यो क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

– एकभन्दा बढी यौनसाथी राख्ने महिला तथा यौन व्यवसायमा लागेका महिलालाई पनि यो क्यान्सर हुनसक्छ ।

– श्रीमान्को अर्को यौन पार्टनरलाई यो रोग लागेको छ भने आफूलाई समेत हुने सम्भावना रहन्छ । – खानपिन, जीवनशैली, चुरोट, बिडी, तमाखु आदि खाने महिला तथा कुपोषण भएकाहरूलाई पनि पाठेघरको क्यान्सर हुनसक्छ ।

– धेरै वर्ष (५ वर्षभन्दा बढी) सम्म परिवार नियोजनको चक्की (ओसिपी) खाएका महिलामा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना रहने बताइेको छ ।

लक्षण

सुरुमा कुनै लक्षण नदेखिन सक्छ तर पछि रोग बढेको अवस्थामा भने निम्न लक्षण देखापर्न सक्छन् :

– सुरु–सुरुमा योनिबाट पहिलेको तुलनामा अलि बढी पानी बग्ने, गन्हाउने पानी बग्ने, पटकपटक इन्फेक्सन भैरहनुका साथै पानीमा रगत मिसिएको हुनसक्छ ।

– महिनावारी नभएका बेला पनि रगत देखापर्न सक्छ ।

– यसैगरी मेनापज (महिनावारी सुक्नु) पछि महिलामा पुन: रगत देखा परे यो रोग लाग्ने सम्भावना हुन्छ ।

– क्यान्सर धेरै फैलिएको अवस्थामा भने पेट फुल्ने, खुट्टा सुन्निने, ढाड तथा कम्मर दुख्नुका साथै दिसा–पिसाबमा समस्या देखापर्न सक्छ ।

कसरि जोगिने

– यौनसम्पर्कमा सक्रिय तथा यौनसम्पर्क राखिसकेका ३० वर्ष पुगेका महिलाले नियमित जाँच गराउनुपर्छ ।

– महिनावारी सुकिसकेका महिला तथा क्यान्सर हुने सम्भावना भएर अप्रेसन गराएका महिलाहरूले पनि नियमित जाँच गराउनुपर्छ ।

– प्रत्येक महिलाले ३ देखि ५ वर्षभित्रमा एकपटक तालिम प्राप्त स्वास्थ्यकर्मीसँग जाँच गराउनुपर्छ ।

– महिनावारी सुकिसकेका महिलाले ६० वर्ष नपुग्दासम्म जाँच गराइरहनुपर्छ ।

– एचाऐभी, स्टेरोइड औषधि सेवन गरिरहेका तथा यौन पेसामा संलग्न महिलाले भने चिकित्सकको सल्लाहबमोजिम ६ महिनादेखि १ वर्षको अन्तरमा जाँच गराउनुपर्छ ।

– यसमा एउटा सामान्य प्रकारको औषधि (५ प्रतिशत एसिटिक एसिड) पाठेघरको मुखमा राखी परीक्षण गरिन्छ । यसलाई भिआइए (भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड) भनिन्छ । यसमा सेतो दाग देखियो भने पोजिटिभ र कुनै परिवर्तन नभए नेगेटिभ हुन्छ । यसबाट पाठेघरको मुखमा क्यान्सर भए नभएको पत्ता लाग्छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *