काठमाडौँ
२ सय ७४ यात्रु बोकेर मंगलबार राति दुबैइ उड्नुपर्ने नेपाल वायुसेवा निगमको विमान व्यवस्थापकीय लापरबाहीका कारण ११ घण्टापछि बुधबार बिहानमात्रै उड्यो। जहाज बेलैमा नौडाएको आक्रोशमा १ सय ५० बढी यात्रु ८ घण्टासम्म पार्किङवेमा राखिएको विमानभित्रै बस्न बाध्य भए ।
जहाज नौड्ने भएपछि यात्रुलाई निकाल्न निगमका कर्मचारीहरुलाई हम्मे हम्मे परेको थियो। विमानस्थल प्रहरीका अनुसार, यात्रुहरूले निगमविरुद्ध नाराबाजी गरेका थिए। केहिले जहाजमा राखेको मिल (खाना) आफैं निकालेर खाए। ‘केहीले बियरका बोतल खोलेर बसेको पनि देखियो’ विमानस्थलका एक वरिष्ठ प्रहरीले भने।
मंगलबार राति साढे ८ बजेदेखि बोर्डिङ गराइेका यात्रुलाई बुधबार बिहान ५ बजे विमानस्थलमा रहेको प्रहरीको सहायतामा ‘अफ-बोर्ड’ गराइेको थियो। ११ घण्टापछि बिहान पौने नौ बजे मात्रै उक्त विमान दुबैइका लागि काठमाडौंबाट उडेको थियो।
उक्त घटना देखेका अर्का एक प्रहरीले ‘ती यात्रुलाई बल प्रयोग नगरी सम्झाईबुझाई गरे’ निकालेको बताए। उक्त उडानमा अधिकांश नेपाली कामदार थिए।विमान दुबैइका लागि उड्न नसक्ने भएपछि निगमका एयरपोर्ट म्यानेजर कोमल राणा लगायतका कर्मचारी जहाजभित्रै पसेर यात्रुलाई सम्झाउन पुगेका थिए। तर, सबै यात्रुहरुले उनको आग्रह स्वीकारेनन्।
‘यात्रुहरुले जसरी पनि विमान उडाउनु पर्ने नभएमा क्षतिपूर्ति दिनुपर्ने भन्दै हुटिङ र होहल्ला गरे,’ उक्त घटनाका एक अर्का प्रत्यक्षदर्शीले भने।
निगमका कर्मचारीको आग्रह इन्कारीरहेका यात्रुहरूलाई विमानस्थल टर्मिनलका कर्मचारी र प्रहरीले १० बजेपछि विमानस्थल बन्द गर्नुपर्ने कारणबारे सम्झाइबुझाई गरेपछि बिहान ५ बजे मात्रै ओर्लिएका थिए। कान्तिपुर दैनिक