सरकारले जनापेक्षाअनुसार काम गर्नुपर्छ : नेता नेपाल

समाचार
शेयर गर्नु होला

भरतपुर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सरकारले इमान्दारिताका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट सरकारप्रति जनताले ठूलो आशा र भरोसाका साथ दुई तिहाइ बहुमत दिएकाले जनैच्छाबमोजिम काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले जनताबीच लोकप्रियता हासिल गर्न वडादेखि केन्द्रसम्म सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

“वर्तमान अवस्थामा नेपालमा प्रतिपक्ष कमजोर छ”, नेता नेपालले भन्नुभयो, “एक हिसाबले मैदान खाली जस्तै छ तर यसो भनेर विचलित हुने अवस्था छैन ।” सरकारको नेतृत्व गरेर जनताको पक्षमा लोकप्रिय काम गर्न नसके जनताले सजाय दिने उहाँले बताउनुभयो ।

विश्वमा कम्युनिष्ट पार्टीहरु अलोकप्रिय भैरहेका बेला नेपालमा भने कम्युनिष्टहरुको कामका कारण लोकप्रियता बढ्दै गएको उहाँको भनाइ छ । उहाँले पार्टीमा जागृतप्रसाद जस्ता नेताहरुको जगका कारण लोकप्रियता बढेको बताउनुभयो ।

“भेटवाल सरल नेता हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “उहाँको व्यवहार, आचरण र त्याग हाम्रा लागि उदाहरण हुन् ।” भेटवालबाट शिक्षा लिन सबै जनप्रतिनिधिलाई नेता नेपालको सुझाव छ ।

यस्तै स्मृति सभामा नेकपाका सचिवालय सदस्य बामदेव गौतमले एक वर्षदेखि पार्टीले आफूलाई कुनै भूमिका नदिएको गुनासो गर्नुभयो ।

“एक वर्षदेखि म पार्टीको कुनै भूमिकामा छैन”, उहाँले भन्नुभयो, “म पार्टीभित्र बेरोजगार भएको छु।” भेटवालले देखेका सपना र अधुरा काम सम्पन्न गर्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने नेता गौतमको भनाइ छ ।

यस्तै नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वार्थमन्त्री सुरेन्द्र पाण्डेले चितवनमा कम्युनिष्ट पार्टी निर्माणमा भेटवालको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । भेटवालको उदारता र आत्मबल प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उहाँले व्यक्ति र पार्टीभन्दा पनि जनताप्रति उत्तरदायी हुने नेता भएको बताउनुभयो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *